समाचार

जम्मू कश्मीर मुद्दामा प्रधानमन्त्री मोदीको सम्बोधन

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै अनुच्छेद ३७० को खारेजीसँग जम्मू कश्मीरबाट आतंकवाद र परिवारवादबाट पनि खारेज भएको बताएका छन् ।

उनले बिहीबार साँझ देशवासीका नाममा सम्बोधन गरेका हुन् । भारत केन्द्र सरकारले संविधानको अनुच्छेद ३७० खारेज गर्दै जम्मू कश्मीरलाई केन्द्र शासित प्रदेश बनाउने ऐतिहासिक घोषणा गरेको छ ।

यस घोषणाको विभिन्न दृष्टिकोणबाट समर्थन तथा आलोचना भइरहेका बेला प्रधानमन्त्री मोदीको सम्बोधन आएको हो ।

प्रधानमन्त्री मोदीले जम्मू काश्मिर र लद्दाखमा नयाँ युगको सुरुवात भएको बताए । अब युवाका लागि नयाँ नयाँ अवसर सिर्जना हुने भन्दै उनले देशले ऐतिहासिक फैसला लिएको उल्लेख गरे ।

जम्मू कश्मीरका नागरिक लामो समयसम्म आफ्नो मौलिक अधिकारबाट बन्चित रहेको भन्दै उनले अधिकारहरू फिर्ता आएको समेत उल्लेख गरेका छन् ।

पर्यटन र चलचित्र क्षेत्रको केन्द्रका रुपमा जम्मु कश्मीरले छुट्टै पहिचान बनाउन सक्ने भन्दै उनले आन्दोलन भन्दा सरकारलाई समर्थन गर्न उक्त क्षेत्रका जनतासँग आह्वान गरेका छन् ।

यहाँ खाली रहेका पद छिट्टै पूर्ति गरिने भन्दै प्रधानमन्त्रीले पूर्ण पारदर्शिताका साथ स्वतन्त्र निर्वाचनको भरोसा समेत दिएका छन् ।

यसैबीच जम्मु कश्मीरको विषयलाई लिएर भारत र पाकिस्तानबीच भने सम्बन्ध चिसिएको छ ।

पाकिस्तानले रेल्वे सम्पर्क टुटाउने घोषणा गरेको छ । व्यापारिक सम्बन्ध समेत तोडेको छ । भारतका लागि आकासमा एयरस्पेस बन्द गरिदिएको छ ।

एजेन्सी