रोचक खवर

एक वर्षमा सरकारले तिर्यो ७५ अर्ब ऋण

काठमाडौं । व्यक्तिजस्तै मुलुकले पनि आफ्नो वित्तीय आवश्यकता पुरा गर्न ऋण लिन्छ । निश्चित अवधिमा ऋणको साँवाब्याज भुक्तानी पनि गर्नुपर्छ ।

नेपाल सरकारले एक वर्षको अवधिका करीव ७५ अर्ब रुपैयाँ लिएको ऋणको साँवा ब्याज भुक्तानीमा खर्च गरेको छ ।

अर्थ मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५-७६ मा सरकारले वैदेशिक ऋणमा साँवा-ब्याज तिर्ने प्रयोजनका लागि २४ अर्ब ५४ करोड रुपैयाँ भुक्तानी गरेको छ ।

आन्तरिक ऋणमा भने साँवा ब्याज भुक्तानी ५० अर्ब ५२ करोड रुपैयाँ भएको छ । नेपालको सार्वजनिक ऋण १० खर्ब नाघिसकेको छ ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५-७६ को अन्त्यसम्म सरकारको सार्वजनिक ऋण १० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । यो हरेक नेपालीको टाउकोमा पर्ने ऋण हो ।

सरकारले अन्तर्राष्ट्रिय समुदायबाट ५ खर्ब ८८ अर्ब ४४ करोड रुपैयाँ ऋण लिएको छ । ४ खर्ब ५३ अर्ब २३ करोड रुपैयाँ आन्त्रिक ऋण रहेको अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।

यस वर्ष मात्र सरकारको ऋण १४ प्रतिशतले बढेको छ । उक्त आवमा सरकारले कूल १ खर्ब ७७ अर्ब ८५ करोड ऋण लिएको छ ।

यस वर्ष तिरेको रकम र ल्याएको ऋण अनुपात अनुसार १ खर्ब २५ अर्ब १६ करोड ७५ लाख रुपैयाँ ऋण थपिएको मन्त्रालयको तथ्यांक रहेका छ । आव २०७४र७५ मा सरकारले तिर्नुपर्ने ऋण ९ खर्ब १६ अर्ब ५१ करोड थियो ।

नेपालले बहुपक्षीय दातातर्फ विश्व बैंक र एसियाली विकास बैंकबाट धेरै ऋण लिएको छ ।

यसबाहेक भारत, चीन, जापान, कोरिया, साउदी अरव, फ्रान्स, कुवेत, अष्ट्रिया, बेल्जियमबाट पनि नेपालले ऋण लिएर आफ्ना कार्यक्रम संचालन गरिरहेको छ ।