फिचर

विदेशमा भिजिट नेपालको उद्घाटन सम्बन्धित राष्ट्रप्रमुखबाट गराउने योजना

काठमाडौं । सरकारले विदेशमा भिजिट नेपाल २०२० को उद्घाटन सम्बन्धित देशका राष्ट्रप्रमुखबाट गराउने योजना सार्वजनिक गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हरेक देशमा भिजिट नेपाल २०२० को दियो सम्बन्धित मुलुकका राष्ट्रप्रमुखबाट गराउने योजना रहेको बताएका हुन् ।

शुक्रबार राजधानीमा भिजिट नेपालको तयारीका सम्बन्धमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले त्यसका लागि विदेशस्थित कूटनीतिक नियोगका प्रतिनिधिलाई परिचालनको तयारी भइरहेको उनले जानकारी दिए ।

“नेपालमा बुढेशकाल लागेका कारण उहाँहरुलाई राजदूत बनाएर घुम्न पठाइएको होइन,” उनले भने, “देशलाई आवश्यक पर्दा उहाँहरुले योगदान गर्नुपर्छ ।”

अमेरिकामा डोनाल्ड ट्रम्प, चीनमा सिजिङ पीङ, भारतका नरेन्द्र मोदीजस्ता व्यक्तिबाट यस अभियानको उद्घाटन गराउने सोच रहेको भन्दै उनले त्यसमा सक्दो प्रयास थाल्न राजदूतहरुलाई परिचालन गरिने उनले उल्लेख गरे ।

मन्त्री भट्टराईले विदेशमा बसेका नेपालीले राम्रो काम गर्दागर्दै पनि नेपालबारे गर्ने नकारात्मक टिप्पणी गलत रहेको उल्लेख गरे ।

गाली होइन, पर्यटक पठाउनुस भन्ने अभिव्यक्ति पुनः दोहोर्याउँदै उनले कम्तिमा नेपालमा नबसेपनि राम्रो प्रचार गरेर सहयोग गर्न गैरआवासीय नेपालीसँग आग्रह गरे ।

भ्रमण वर्षका संयोजक सुरज बैद्यले अहिले निकै तिब्र गतिमा तयारीका काम भइरहेको जानकारी दिए ।