स्वास्थ्य

बालुवा निकाल्न खनेको खाल्डोले लियो दुई युवाको ज्यान

फाइल तस्वीर : हिउँदमा खोलामा वालुवा निकाल्दै

धादिङ । जथाभावी वालुवा निकाल्ने र खोलानालाको दोहन अत्यधिक भएका क्षेत्रमा दूर्घटनाको जोखिम ह्वात्तै बढेको छ ।

शनिबार मात्र धादिङमा दुई युवाले बालुवा निकाल्न खनेको खाल्डोमा परी ज्यान गुमाउनु परेको छ ।

गजुरी गाउँपालिका-६ ठुलीफाँटस्थित दरिङगाल खोलामा खाल्डोमा डुबेर स्थानीय २१ वर्षीय भीम तामाङ र २३ वर्षीय सुमन स्याङतानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार युवाको मृत्यु भएपछि आक्रोसित स्थानीयले दुई डोजरमा आगजनी गरेका छन् । प्रहरीका अनुसार ती युवा खोलामा बालुवाकै काम गर्ने मजदुर हुन् ।

खोलामा बालुवा कति छ भन्ने बारे परीक्षण गर्दागर्दै यसअघि खनेको खाल्डोमा युवा परेको प्रहरीको भनाई छ ।

खासगरी सुख्खा याममा खनेका खाल्डाहरुले अहिले पानीको बहाव बढेपछि पानीले पुरिएका छन् ।

जसले गर्दा खोलामा जोखिम बढाएको छ । देशका सबैजस्तो नदीमा अहिले बालुवा तथा गिट्टीको अनाधिकृत दोहन भइरहेको छ ।