रोचक खवर

बेत्रावतीको घण्टाघर कसरी बन्यो ?

योगेश डंगोल ‘आदी’

“बाबु बरबाद भयो” ! बिध्वंशकारी भुकम्पको लगतै नेपालबाट आएको फोनका ती बिष्मयबोधक वाक्यले मलाई आश्चार्य पारेन । फेसबुकका ताजा भिडियोले सबै बिष्मयबोध मत्थर पारिसकेको थियो । वास्तवमा बुबाको रुन्चे स्वरले कुनै नौलो समाचार ल्याएन । केवल औपचारिकता निभायो । गाउँका अधिकांश घरहरू भग्नावशेष बनेको सुनेपछि आफ्नो पनि घर भत्केको सुन्न गाह्रो परेन । घरपरिवार सकुशल रहेको सुनेपछि मान्छे न हुँ, अरूको दु:ख लामो समय रहेन । दुखी त त्यतिबेला भएँ जतिबेला शशी डंगोलले भट्टाभट शिर काटेका घरका तस्बिर फेसबुकभरी टाँस्न थाल्यो । सबैको सहयोगमा बेत्रावती बिकास अभियान अन्तर्गत बनेको झोलंगे पुलले जग छाड्यो । देवीमन्दिर र राममन्दिरको संरचना चर्कियो । भुकम्पले खासगरी उत्तरी नेपाललाई बिक्षत पारिराख्दा बेत्रावती बजार किन नचर्कियोस् ? मौन रहें । नसकी पाना पल्टदैन, माथिल्लो कक्षा उक्लेको बिद्यार्थीको अठोट जस्तै; बेत्रावती अझ राम्रो बन्नुपर्छ भन्ने संकल्प गरें । भत्किएको बेत्रावतीको फोटोले अठोट जन्मायो । शशीले बेत्रावतीको कुरुपतालाई लिएर  असाध्यै खल्लो कुरा उठाउने गर्यो । हुन पनि बेत्रावती असाध्यै नराम्रोसँग ढलेको थियो । मैले शशीलाई भनें “भुकम्पको त्रासले अब तत्कालै कसैले घर बनाउने आँट नगर्ला तर म तुरून्तै बनाउँछु र पहिचान दिने खालको बनाउँछु” । मलाई नविनतम् शुरूवात गर्नु थियो । नौलो गर्नु थियो । बजार ब्युटिफिकेशनको अवधारणा मनमा सधै थियो नै । अब बनाउने नयाँ घरमा समयको सुचक घडी राख्ने निधो गरें । आमाबुवाले सहजै सहमती जनाउनु भो । ईन्जिनियर भाई बिशाल थापालाई ‘घण्टा घर’ भएको घरको नक्सा बनाउन लगाएँ । सबै राम्रो बनायो तर घडी अगाडी एउटा मात्र बस्ने खालको बनायो । आधा घर बिशालको नक्सा अनुसार बाँकी आफ्नै तजबीजले डिजाईन गर्ने योजना तय गरें । घडी राख्ने डिजाईनको लागि अमेरिकाका थुप्रै ईमारतहरू हेरें । अन्त्यमा एउटा युनिभर्सिटीको डिजाईनको आंसिक नक्कल गरें । ठेकेदार राजु डंगोलले १६ फिट भन्दा फराकिलो बीम बलियो नहुने बतायो । ४ तलाको घर माथि १६X१६ फिटको बेस बनाईयो । त्यो माथि ८X८ फिट मोहडा र १२ फिट अग्लो टावर खडा गरियो । टावरमा चारैतिर ४८ ईन्च गोलाईको चार ओटा घडी बस्ने फ्रेम बन्यो । मेरो ईच्छाले मागे अनुसारको घर तयार भयो । तर ६ महिना लगातार भारत, युरोप, अमेरिकामा बुझ्दापनि घडी बनाउने र फीट गर्ने कम्पनी पत्ता लगाउन सकिन । बेत्रावती आसपासका साथीभाईले घडी कहिले आउँछ ? भनेर हत्तु पार्न थाल्यो । बर्ष दिन नाघ्यो । हार खाएर घडि नै नराख्ने मनस्थिती बन्दै थियो । एकदिन महेश्वर घिमिरे दाई नेपालबाट फर्केपछि मेरो अपार्टमेण्टमा आउनुभो र गफैगफमा भन्नुभो; “बाबुको घर पुगेको थिएँ । तिम्रो ईच्छा अनुसारको घर बनेको रहेछ तर घरले घडी मागेको छ बाबु । घडी बिना त अधुरो भो” । म झस्किएँ । फगत एक शब्द: “घरले घडी मागेको छ” । सुने पश्चात मेरो निन्द्रा बिथोलियो । अब त नराखी नहुने चुनौती बनेर तेर्सियो । बुझ्दैजाँदा नेपालमा लेटेष्ट घडी धरानमा राखेको छ भन्ने बुझें । धरानमा सेवा गरिसकेको डिएसपी प्रबिन धिताल भन्ने साथीलाई फोन गरें । प्रबिनले “त्यो घडी राख्ने मान्छे मैले चिनेको छु, बुझ्छु भन्यो” । आकांक्षा जुर्मुरायो । मन सिन्चित भयो । व्यक्तिगत लगानीमा आफ्नै घरको छतमा घडी राख्ने नेपालको ईतिहासमै पहिलो ब्यक्ति बन्नेछु भन्ने लोभ पलायो । मेरो घडी नेपालको पाँचौ घडी हुनेछ भनेर गर्व पनि लाग्यो । प्रहरीले खोजेपछि को नभेट्ला ? धरान र ईलामको घण्टाघरमा घडी राख्ने व्यक्तिलाई  प्रबिनले सम्पर्क नम्बर सहित पत्ता लगायो । नाम प्रमोद आचार्य । फोन गरें । मलाई टेरे जस्तो लागेन । “रिजर्भ खालको मान्छे रहेछ प्रबिन तिमी नै कुरा गर” भनेर लगाएँ । बिस्तारै मसँग जम्न थाल्यो तर लामो समय मलाई झुलाएको जस्तै महसुस भयो । अर्को ६ महिना बित्यो । कहिले दिल्ली कहिले काठमाडौं । मलाई दिक्क लाग्यो । हाप्दिन्छु भने जस्तो पनि भयो । आखिर उस्लाई पनि दिल्लीवाला कम्पनीले झुलाउँदो रहेछ । घडी राख्ने उस्को व्यवसाय होईन रहेछ । आफ्नै कारोबारमा व्यस्त रहेछ । प्रबिनको बचन काट्न नसकेर मलाई सहयोग गरेको मात्र रहेछ । पछि मसँग जम्यो । अब सितिमिती तापले नपग्लिएला सायद ।

दिल्लीमा घडी बन्न शुरू भयो । बेलायतको पेटेण्ट राईट भएको छुट्टाछुट्टै जिपिएसवाला ४ ओटा ४८ ईन्चको वेदर प्रुफ ब्रासको घडी बन्दै गरेको फोटोहरू मेसेन्जरमा पाउन थालें । मनमनै गदगद हुन्थें । अलार्म र एलईडी लाईट सिस्टमको कुराले रोमाञ्चक बन्थें । कस्तो हुन्छ होला भन्ने कौतुहलता छँदै थियो । सम्पूर्ण घडी तयार भयो । ल्याउने चुनौती थियो । साथी प्रमोद एक्सपोर्ट ईम्पोर्टमा एक्सपर्ट रहेछ । जोगबनी भन्सारसम्म ल्याईयो । कानून बमोजिम भारत र नेपालको कस्टम क्लियर भयो । नेपाल भित्रको ट्रान्पोर्ट पनि उसैले मिलाई दियो । मेरो काम गोजीबाट पैसाको खोला बगाउनु मात्र थियो । धन्न मेरो पैसा पठाउने कामहरु काठमाडौंबाट ईन्द्रमाया सानीआमा र भाई अनुप लामाले तुरुन्त सल्टाउँथ्यो । यति आईपुग्दा साथी प्रमोद नै मेरो विश्वास पात्र बनिसकेको थियो । भगवानके घरमै देर है, अन्धेर नही । भनेजस्तै सपना साकार भयो । म घडी बुझ्न अमेरिकाबाट नेपाल पुगें । सामान ढुङ्गाअड्डा काठमाडौं आईपुग्यो । दाई शशी अधिकारीले “तँ पिर नगर, मेरो डिब्बामा बेत्रावती लैजान्छु” भनेर ट्रक पठायो । घडी बेत्रावती पुग्यो । तर फीट गर्ने मेकानिक्स सुनसरी मै थियो । यता घडीको डायमिटर भन्दा पूर्वनिर्धारित ठाउँ २ ईन्च सानो भयो । ३ दिन लगाएर पुन: सिमेण्टको गोलाई काटियो । मेकानिक्स श्रवण पनि बेत्रावती झर्यो । केटो कमनसेन्स भएको तकनिकवाला रहेछ २ दिनमा काम तुर्यो । अलार्मको स्पिकरको आवाज पुगेन । भिनाजू सुरेन्द्र आचार्यले “केही दिन यो बजाऊ” भनेर दिनुभो । माघ २ गते २०७५ सालमा बेत्रावती बजारमा बजारै थर्किने गरी घण्टी बजाईदिएँ । अहिले घडीमा साँझ ५ बजे आफै भित्रबाट बत्ती बल्छ, बिहान ६ बजे आफै निभ्छ । बिहानको ५ बजेदेखि हरेक घण्टा बजे अनुसार अलार्म बज्छ र राती ९ बजे ९ पटक बजेपछि बिहानसम्म सुनसान चलिरहन्छ । पछि वातानुकुलित माईक र एम्प्लिफायर काठमाडौंबाट ल्याएर जडान गरियो । शशीले सधैंझैं निशुल्क रंग पोत्दियो । पटकपटक गरेर सानाठुला खर्च धेरै भएको छ । घडीको बेस ढलानदेखि टावरसम्मको संरचना र घडीसँग सम्वन्धित खर्च गरेर करिव ३५ लाख नेपाली रूपैंया लागेको छ । बेलाबेलामा भिडियो कल गरेर घण्टी बजेको सुनाउने काम गर्छिन् भान्जी – सियाना आचार्यले । अनि देखवाल सानीआमा – रञ्जना थापाले गर्दिनुहुन्छ । छरछिमेक गाउँघरमा सबै आफन्त छन् । “घडी राखेकोमा खुशी छौं” भन्नुहुन्छ ।