डायस्पोरा

नेपाली मूलका वीरमान बने बेल्जियममा सांसदको उम्मेदवार

बेल्जियम
बेल्जियममा नेपाली मूलका वीरमान घर्ती मगर प्रदेश सांसदको उम्मेदवार बनेका छन् । यूरोपेली संसद्मा प्रतिनिधित्व गर्ने यूरोपियन सांसद, संघीय संसद् र प्रदेश संसद्को निर्वाचन मे २६ मा हुँदै छ । प्रदेश सांसदको निर्वाचनमा नेपाली मूलका घर्तीमगर उम्मेदवार बनेका हुन् । सबै प्रकारका चुनावमा नेपाली मूलको उम्मेदवार उनी एक्ला हुन् । पछिल्लो समय बेल्जियमको राजनीतिमा नेपाली मूलका नागरिक सक्रिय बन्ने क्रम बढिरहेको छ । यो क्रम संसारका विभिन्न देशमा जारी छ । अमेरिका, बेलायत र यूरोपियन देशमा नेपाली समुदाय राजनीतिमा प्रवेश गर्ने क्रम बढिरहेको छ ।
बेल्जियममा पछिल्लो समय नेपाली मूलका नागरिक त्यहाँको राष्ट्रिय दलमा आबद्ध हुने र उम्मेदवार बन्ने क्रम बढ्न थालेको छ । अहिलेसम्म स्थानीय तहको उम्मेदवार बने पनि घर्ती मात्र यसअघि पनि सांसदको उम्मेदवार बन्ने एक्लो नेपाली हुन् । उनी सन् २०१० र सन् २०१४ मा भएको निर्वाचनका क्रममा पनि प्रदेश सांसदको निर्वाचनमा उम्मेदवार भएर पराजित भएका थिए । पहिल्यैदेखि राजनीतिमा चासो राख्ने घर्ती मजदुर श्रमिक पार्टी पिभिडिएको सदस्य हुँदै उम्मेदवार बनेका बेल्जियमबाट पत्रकार केजिन राईले जनाएका छन् । पिभिडिए पार्टीले घर्तीलाई सन् २०१०, सन् २०१४ र अहिले सन् २०१९ मा समेत प्रदेशसभा सदस्यको निर्वाचनका लागि लुभेन क्षेत्रबाट उम्मेदवार बनाएको हो ।
बेल्जियमको लुभेन क्षेत्र नेपाली मूलका नागरिक बस्ने प्रमुख स्थान हो । यसअघि भएका स्थानीय निर्वाचनमा भने नेपाली मूलका धेरै उम्मेदवार भएकाले नेपाली मूलका उम्मेदवार सबै पराजित भएका थिए । तर, अहिले सांसदका लागि वीरमान मात्र उम्मेदवार छन् । १ सय २४ सदस्यीय भ्लाम्स संसद्मा उनी एक्ला उम्मेदवार भएकाले नेपाली समुदाय प्रचारप्रसारमा जुटेको छ । पूर्ण समानुपातिक निर्वाचन प्रणाली भएका कारण नेपाली समुदायको मत एकै ठाउँमा गएमा घर्तीले चुनाव जित्न सक्नेछन् । पार्टीले पाएको मतमा व्यक्तिको पपुलर मत जोडिने भएकाले सबै नेपालीले आफूलाई मत दिएमा प्रदेश सांसद बन्ने सम्भावना बलियो भएको घर्तीले विश्वसन्देशलाई बताए ।
नेपालमा भन्दा बढी राजनीतिक दलको प्रचारप्रसार गर्ने नेपाली समुदायको रोग त्यहाँ पनि रहेको छ । त्यसैले सबै नेपालीको मत एक ठाउँमा जानेमा आशंका व्यक्त गरिएको छ । गैरआवासीय नेपाली संघ लगायत बेल्जियमका संघसंस्थाले सबै नेपाली नागरिकलाई एक ठाउँमा ल्याउन सकेमा घर्तीले जित्ने सम्भावना रहेको नेपालीभाषीले बताएका छन् । घर्ती विभिन्न संघ–संगठनको नेतृत्व गरिसकेका व्यक्तिसमेत हुन् । नेपाली समुदायभित्र उनको उपस्थिति र पहिचान राम्रो छ । त्यसैले आउने निर्वाचनमा आफूले अत्यधिक पपुलर मत पाउने उनको अपेक्षा रहेको छ । बेल्जियममा हरेक पाँच–पाँच वर्षमा निर्वाचन हुने गर्छ । यसअघि सन् २०१४ मा यस्तै निर्वाचन भएको थियो । सन् २०१८, अक्टोबर १४ मा सम्पन्न नगरपालिका, क्षेत्र र जिल्ला तहको निर्वाचनमा भने धेरै नेपाली प्रतिस्पर्धामा उत्रिएका थिए ।
वीरमान सन् २००१ मा बेल्जियम पुगेका हुन् । ४८ वर्ष पहिले नेपालको रोल्पा जिल्लाको घुसबाङमा जन्मिएका घर्ती सार्कको स्वर्ण पदक विजेता खेलाडीसमेत हुन् । नेपालमा हुँदा कराँतेको अन्तर्राष्ट्रिय खेलाडी घर्ती नेपाली चलचित्रमा समेत अभिनय गरेर आबद्ध भएका कलाकारसमेत हुन् । रोजगारीको सिलसिलामा बेल्जियममा पुगेका घर्तीले त्यहाँ पनि विभिन्न संघसंस्थामा आफ्नो आबद्धता देखाएका छन् । उनले नेपाली जनप्रगतिशिल मञ्च, विश्व मगर समाज बेल्जियम, मगर मुक्ति मोर्चा, गैरआवासीय नेपाली संघ (एनआरएन)को समेत नेतृत्व गरिसकेका छन् । नेपाली समुदायले आयोजना गर्ने जुनसुकै कार्यक्रममा सक्रिय भएकाले पनि उनी आफ्नो समुदायमा लोकप्रिय छन् । राजनीतिक आस्थामा विभाजन भएको बेल्जियमको नेपाली समुदाय प्रदेश चुनावमा एकीकृत भएर लागेमा आफूले सजिलै जित्ने उनको विश्वास छ ।
बेल्जियममा नेपालमा जस्तै स्थानीय तह, प्रदेश र संघीय संरचना छ । संघ र स्थानीय तहको विभाजन भाषिक र क्षेत्रीय रुपमा गरिएको छ । स्थानीय भाषा फ्रेन्च, नेदरल्याण्ड र जर्मन भएकाले त्यसैका आधारमा स्थानीय तह र प्रदेशको विभाजन गरिएको छ । जातीय ३ र राजधानी ब्रसेल्सलाई एक प्रदेश मानेर त्यहाँको राज्य पुनर्संरचना गरिएको छ । ब्रसेल्समा राज्य पुनर्संंरचनाको विवाद लामो समयदेखि जारी छ । सन् २०१० मा आम निर्वाचन भएपछि पनि केन्द्र सरकार गठनमा ५ सय ४१ दिन कुर्नुपरेको थियो । बेल्जियममा भाषिक राज्य पुनर्संरचनाले विवाद बढाएको हो ।