समाचार

सुसाइट नोटमा अख्तियार प्रमुखलाई सम्बोधन गर्दै आत्महत्या

रौटहट । भ्रष्टाचार आरोपमा मुद्दा खेपिरहेका एक कर्मचारीले इमानदारीसाथ काम गर्दागर्दै फसाएको भन्दै आत्महत्या गरेका छन् ।

मालपोत कार्यालय कलंकीका तत्कालीन नायब सुब्बा हरि आचार्यले आइतबार आत्महत्या गरेका हुन् ।

प्रहरीका अनुसार उदयपुरको त्रियुगा नगरपालिका-९ को रातामाटे जंगलमा उनी झुन्डिएको अवस्थामा फेला परेका थिए ।

सोही स्थानका स्थानीय उनी शनिबार काठमाडौंदेखि उदयपुर गएका थिए। प्रहरीका अनुसार उनको शरीरबाट करीव दुई पृष्ठ लामो सुसाइट नोट भेटिएको छ ।

जसमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेलाई सम्बोधन गर्दै २ सय वर्ष आयुको कामना गरेका छन् ।

गर्दै नगरेको भ्रष्टाचार मुद्दामा आफूलाई फसाएको भन्दै उनले आत्महत्याको बाटो रोजेको उल्लेख गरेका छन् ।

आजसम्म एक पैसा पनि हिनामिना नभएको भन्दै उनले सोझा कर्मचारीलाई अख्तियारले फसाएको गम्भीर सन्दर्भ सुसाइट नोटमा उल्लेख गरेको प्रहरीको भनाई छ ।

त्यसो त अख्तियार पनि पछिल्लो समय साना कर्मचारीमाथि अधिक धरपकड गरिरहेको छ ।

५-१० हजार रुपैयाँ घुस लिएको आरोपमा भन्दै समातिएका कर्मचारीको तस्वीर र नाम ठेगाना संचार माध्यम तथा सामाजिक संजालमा तुरुन्तै पठाएर हल्ला गर्ने होडबाजीमा अख्तियार छ ।

तर, उसले ठूला घोटालाका मुद्दामा भने कुने उपलब्धी हाँसिल गर्न सकेको छैन ।

उनलाई ९२ रोपनी सरकारी जग्गा कीर्ते गरी हाउजिङका नाममा नामसारी गरेको आरोप लागेको छ ।

अख्तियारले उनीसहित कलंकी मालपोतका अधिकृत शिवप्रसाद रिमाल, नक्कली जग्गाधनी मीनाकुमारी थापा, सुयल हाउजिङका सञ्चालक रामकुमार सुयल थापा, मीनाकुमारी थापाका वारेश दीपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम शर्मा र अधिवक्ता योगेन्द्र पोखरेलविरूद्ध गत जेठमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।