डायस्पोरा

स्याङ्जा समाज अमेरिकाको साधारण सभा सम्पन्न

न्यूयोर्क

गत शनिबार १० तारिखका दिन स्याङ्जा समाज अमेरिकाले आफ्नो प्रथम साधारण सभा सम्पन्न गरेको छ । न्यूयोर्कको क्विन्सस्थित कोरोना पार्कमा आयोजित साधारणभेलाले निर्वाचन लगायतका सम्पूर्ण प्रकृया पुरा गरी सर्वसम्मत बिरेन्द्र जंग केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
निर्वाचन प्रकृया सम्पन्न गर्नका लागि संस्थापक श्यामकाजी गुरुङ्को संयोजकत्वमा ज्ञानबहादुर क्षेत्री र बिनिता अधिकारी सहित तीन सदस्यीय निर्वाचन कमिटीले नयाँ कार्यसमितिको प्रकृया पुरा गरेको हो । नयाँ कार्यसमिति चयन भएपछि बिगतमा काम चलाउँदै आएको तात्कालिन तदर्थ समिति स्वत: बिघटन भएको छ । २१ सदस्यीय नयाँ कार्यसमितिमा अध्यक्ष बिरेन्द्र जंग केसी, बरिष्ट उपाध्यक्ष यमुना श्रेष्ठ, उपाध्यक्ष ज्ञानबहादुर केसी, महासचिव अरुण क्षेत्री, सचिव भक्त केसी, कोषाध्यक्ष लिलबहादुर मल्ल, युवा तथा खेलकुद संयोजक शोभाकान्त पाण्डे, कला संयोजक मधुर गिरी, सदस्यहरु; बिमला गुरुङ्, अमर अधिकारी, ध्रुब अर्याल, सोनम गुरुङ्, धर्मराज खड्का, प्रदिप खड्का, दिनेश भण्डारी, केदार सुबेदी, खडक् जंग गुरुङ् र गोबिन्द केसी रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिका महासचिव अरुण क्षेत्रीले सञ्चालन गरेको कार्यक्रमको प्रमुख अतिथ्यता डा. प्रकाश अर्याल र बिशेष अतिथ्यता जेदु पोखरेलको रहेको थियो ।
कार्यक्रमया नव निर्वाचित अध्यक्ष केसीले यस संस्थालाई अझ संगठित, व्यवस्थित र मर्यादित बनाउँदै बिगतमा देश र बिदेशमा रहेका स्याङ्जालीहरुको हितमा कामगर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
न्यूयोर्कका स्याङ्जाली नेपालीहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रममा टग अफ वार (डोरी तान्ने), शट पुट थ्रो (डल्ला फ्याक्ने) जस्ता खेलकुद प्रतियोगिता एवम् लोकगायक बिमल डाँगी, बरिष्ठ लोकगायक भगवान भण्डारी, लोकगायक मधुर गिरी र लोकगायिका संगिता थापामगरको सांगितिक प्रस्तुति तथा गुरुङ् चलचित्रका नायिका एनसर्ज गुरुङ्को नृत्य रहेको थियो ।