बिचार

मर्न चाँहि भुरा माछाले मात्र पर्ने ?

पुरुषोत्तम लम्साल/भर्जिनिया

केही महिनाअघि पेरुका पूर्व राष्ट्रपति एलन गार्सियाले आत्महत्या गरेको समाचारले अन्तर्राष्ट्रिय सञ्चार माध्यम तात्यो । नेपालको अनुसन्धान विभाग जस्तै पेरुको विधि विभागले पक्राउ गर्न लागेको खबर पाएलगत्तै अनेक भ्रष्टाचारको आरोप लागेका गार्सियाले आफ्नै कञ्चटमा गोली हानेर आत्महत्या गरे । ६९ वर्षीय गार्सियाको आत्महत्यापछि मलाई भ्रष्टाचारले मान्छेलाई सजिलोसँग बाँच्न पनि दिंदैन, चैनको मृत्यु पनि दिंदैन भन्ने लाग्यो । ग्रिसका समाजवादी नेता लियोनिदासको पदचाप पछ्याएका गार्सियाको मृत्युलाई अकूत सम्पत्तिले टार्न सकेन ।

साउनको महिना भ्रष्टाचारको आरोप लागेका केही बहालवाला र पूर्व कर्मचारीहरुमा ताण्डवमय भयो । आत्महत्याको ताण्डव । घुसहित रंगेहात समातिएकाहरुको ताण्डव । यो पवित्र महिनालाई भ्रष्टाचारीहरुले अपवित्र बनाए यो वर्ष । वर्षमा बाह्रै महिना यस्तै साउन लाग्ने हो भने देशमा विद्यालय बन्द गरेर भ्रष्टचारीलाई राख्नपर्ने तस्वीर देखिन्छ । भ्रष्टाचारको आरोप लागेकाहरुले क्रमशः आत्महत्या (?) गर्दै जाने हो भने बाँकि विधि र विधानको पनि मुचुल्का उठाइदिए हुने देखिन्छ ।

आत्महत्याको लहर

त्रिभुवन विश्वविद्यालयको कर्मचारी भर्नामा अनियमितता गरेको आरोप लागेका पूर्वकर्मचारी (पूर्व सहसचिव) रामबहादुर पाण्डे क्षेत्रीले त्रिपुरेश्वरस्थित राधा भवनमा रहेको कानुन व्यवसायीको कार्यालयबाटै हामफालेर आत्महत्या गरे । केही अघि सिलसिलेबार रुपमा आएको विश्वविद्यालयको अनियमितता, उत्तरपुस्तिकामा नम्बर हेरफेर गर्दै स्वर्णपदक प्राप्त गर्ने होड कति भयावह रहेछ भन्ने देखाउन पाण्डेको आत्महत्या एउटा दर्दनाक तस्वीर बनेर गयो ।

ललिता निवासको जग्गा प्रकरण अब केवल जग्गा नामसारी वा किनबेचमा मात्र सीमित रहेन । गैरकानुनी उपाय अपनाएर जग्गा कारोबार गर्ने माफियागिरीले राजनीतिको लहरोलाई पनि सँगै तान्दै लगिरह्यो । तर उक्त प्रकरणमा मुछिएका मालपोतका कर्मचारी पूर्व नायब सुब्बा युक्तप्रसाद श्रेष्ठले पनि अग्लो भवनबाट हामफालेर प्राण बिसाउने उपाय अपनाए । जग्गा कसले कतिमा खरिद गर्यो भन्ने सवाल गौण भयो, कसरी र कुन प्रक्रिया आफूअनुकूल बनाउँदै देशको राजनीतिको मियोमा दारिएकाहरुले दाइबरादो गर्नेरहेछन् भन्ने सन्देश उक्त प्रकरणले दियो ।

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएको घटनाका एक आरोपी मालपोत कार्यालय कलंकीका पूर्व नायब सुब्बा हरिप्रसाद आचार्यले केही दिनअघि मात्र उदयपुर पुगेर आत्महत्याको बाटो रोजे ।  प्रहरीले घटनास्थलबाट बरामद गरेको भनिएको सुसाइड नोटमा अख्तियार प्रमुख नवीनकुमार घिमिरेको लामो आयुको कामना गरिएको बताइएको छ ।

यी तीनै आत्महत्याका श्रृंखला केवल दुर्घटना मानेर बिर्सने ? यसले हाम्रो कर्मचारीतन्त्रमा फैलिएको विषाक्त ऐंजेरुको प्रतिबिम्ब दिन्छ । यसले हाम्रो राज्यव्यवस्था र त्यसको चरित्रको चिन्न सकिने आकृति (स्केच) बनाउँछ । यसले हाम्रो हाम्रो शासनतन्त्रमा विद्यमान कुलीनतन्त्रले कज्याएको कर्मचारीको अनुहार पनि देखाउँछ । र, यसले शासन र पारदर्शिताका फोस्रा नारा र कार्यक्रमहरुलाई प्रतिबिम्बन गर्छ । र, यसले राजनीतिको आडमा हुने भ्रष्टाचारको जरालाई मात्र देखाउँदैन, बोक्रा, हाँगाबिंगा, पातसमेतलाई चिन्न सहज बनाउँछ ।

भुरा माछाको बिगबिगी

त्रिभुवन विमानस्थलबाट अवैध निर्यात भएको भनिएको तीन हजार आठ सय केजी सुनको प्रकरणमा अहिले चिसो पसेको छ । अबैध कारोबारीका मतियार ठानिएका गोरे नामधारी पात्र हिरासतमा पुगेपछि त्यो च्याप्टर बन्द गर्न राजनीतिकर्मी र प्रहरी प्रशासन दुबैलाई सञ्चोको गोली मिले बराबर भएको पुष्टी भएको छ । उक्त प्रकरणमा अदालतबाट प्रहरी र संलग्न कर्मचारीलाई धरौटीमा छाड्न आदेश दिने उच्च अदालत बिराटनगरका न्यायाधीश उमेशकुमार सिंह बर्खास्त त भए तर उनले छाडेकाहरु छाडेका साँढे झैं भए ।

कुनैबेला वर्तमान सभामुख कृष्णबहादुर महराले आफू सानो माछा मात्र भएको भनेर गरेको टिप्पणी सापटी मागेर भन्ने हो भने देशमा भुरा माछाहरु निशानामा पर्ने क्रम जति बढेको छ ठूला माछाहरुको राइदालो पनि उत्तिकै बढ्दो छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग नामको एउटा संवैधानिक संस्था छ । यो संस्था अहिले छद्यभेष धारण गरेर कर्मचारीको चोठाकोठा सौदाबाजी गर्ने लतमा छ । यो लतले घुसखोरीका केही दुव्र्यसनीहरु रंगेहात समातिने प्रहसन तामझामका साथ चलिरहेको छ । यो त्यही संस्था हो जहाँ हाम्रै राजनीतिका मठाधीशहरुले लोकमानसिंह कार्की र राजनारायण पाठकहरु जस्ता कर्मचारीलाई हुर्काउने र भ्रष्टाचारको साम्राज्यमा जगजगी गराउने अवसर दिए । यो अवसर व्यक्तिलाई व्यक्तिले दिएको होइन, राज्यले दिएको हो, सरकारले दिएको हो, राजनीतिका मठाधीषहरुले दिएका हुन् ।  यो त्यही आयोग हो जहाँका प्रमुख आयुक्त दीपकुमार बस्न्यातसमेत बालुवाटार जग्गा प्रकरणमा संलग्न रहे । बस्न्यातको आठ घन्टाको बयानले न माधवकुमार नेपाललाई तान्यो, न विजयकुमार गच्छदारलाई तान्यो न खरिदकर्ता बिष्णु पौडेललाई । युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरे । यसलाई भनिन्छ भुरा माछाको अधोगति र ठूला माछाको उँभोगति । लौ त कसले छुँदो रहेछ लोकमानसिंह कार्की र दीप बस्न्यातलाई ? ललित लिम्बु र वेदप्रसाद सिवाकोटीलाई ? कुन चाँहि ओली र कुनचाँहि दाहालले बेल्ने रैछन् दाल ! को छन् माइका लाल ?

पछिल्ला दिनमा भ्रष्टाचारको बाढीमा बगेर आइपुगेका केही दृष्टान्त छन् । ती दृष्टान्त हेरेपछि कसैलाई कहीं खिन्न हुन मन लाग्दैन । आखिर चलेकै रहेछ भन्ने निश्कर्ष प्राप्त गर्न र मन बुझाउन सहज हुन्छ । र, जो जहाँ जति घुससहित समातिए ती फगत झिनामसिना कर्मचारी छन् । कार्यालय चाहारेर रमाउन पाइन्छ तर राजनीतिक डिलमा हुने भ्रष्टाचारमा पुग्ने ल्याकत कुनचाँहि अख्तियारको छ ? छैन ।

यत्र, तत्र सर्वत्र

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति बलभद्रप्रसाद दाससहित आठजना करोडौं करोड भ्रष्टाचारको आरोपमा मुदा खेप्नेमा परे । यहींनेर जोडिएर आउने डाक्टर राजकुमार रौनियारको १ करोड २८ लाखको भ्रष्टाचारको मुद्दाको अर्कै कहानी छ ।

पूर्वाञ्चल विश्वविद्यालयका प्रशासकीय अधिकृत गिरिराज कोइराला ६ लाख ७५ हजार रकमको घुसको बिठोसहित समातिए ।

डडेल्धुराबाट डिभिजन वन कार्यालयका अधिकृत सुरेशचन्द्र डिसी ३ लाख २६ हजार घुससहित बहुरुपियाको फन्दामा परे ।

डिभिजन सडक कार्यलय पोखराका प्रमुख इञ्जीनियर हरिकुमार पोखरेललगायत ठेकेदार ऋषी गौतम र कर्मचारी पवित्र गौतम ९ लाख रुपैंया घुसमा बेरिए ।

श्रम स्वीकृति नै नभएका व्यक्तिलाई खाडी मुलुक र खाडीको बाटो हुँदै अन्यत्र जान अध्यागमनबाटै अनुमति दिने गिरोहका मतियार कमलप्रसाद पराजुली पनि समातिए । अध्यागमनबाट प्रस्थान गर्ने अनुमति दिएर सो को अभिलेखै पचाउन सक्ने गिरोहबाट अध्यागमन अधिकृत पराजुली त समातिए बाँकिको चाइचुई छैन । हुनसक्छ अख्तियारको आडमा प्रहरीले यसलाई पनि वार्षिक उपलब्धी पुस्तिकाको महत्वपूर्ण बुँदा बनाएर लाज ढाक्ने इमान्दार प्रयास गर्नेछ ।

उपकूलपति, सहसचिव, हाकिम, सुब्बा, खरदार मात्र होइन सडक डिभिजन कार्यालय दमौलीबाट कम्प्युटर अपरेटर प्रकाश पौड्यालसहितका व्यक्ति १ लाख ७५ हजार घुससहित रंगेहात समातिए । कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियाका ३ इञ्जीनियर कमल सिटौला, विश्वेश्वरप्रसाद शाह र हरिप्रसाद चौधरी १५ लाख घुससहित समातिए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जीनियर वासी अख्तर मोहम्मद हुन् कि शिक्षा विकास समन्वय ईकाई धुलिखेलका इञ्जीनियर धनवीर भगवत दुबै घुसको बिटोसहित समातिएका हुन् ।

तपाईलाई लाग्दो हो देशमा गृह प्रशासन छ र तैबिसेक भ्रष्टाचार कम छ । होइन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग भन्छ घुस लिंदालिंदै पक्राउ परेका कर्मचारीको तथ्यांकको आधारमा देशमा सबैभन्दा करप्ट निकाय नै गृह मन्त्रालय मातहतका कार्यालय छन् । सबैभन्दा घुस्याहा गृह प्रशासन । सबैभन्दा अनैतिक । नपत्याए आयोगले गरेको पत्रकार सम्मेलनको अंश हेर्नुहोस् (साउन ३) ।

संघीयता साना ठूला सबै कालोबजारीका लागि दुहुनो गाई भएको छ । त्यसैले घुस्साहा संस्थामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय छ । मन्त्री को छ भनेर नसोध्नुस् । इमानको बखान छाड्ने, साइकल चढ्ने तर इन्धनको रकम कुम्ल्याउन शरम नमान्ने छन् ।

अख्तियार भन्छ हरेक दिन बिराएर एक जना घुस्याहा कर्मचारी समातिन्छन् । १४२ ठाउँमा पुग्दा २०० कर्मचारी घुसको रकमसहित रंगेहात समातिने ब्यूरोक्रेसी हो हाम्रो । विशिष्ट श्रेणीका सचिवदेखि सबैभन्दा तल्लो तहको कार्यालय सहयोगीसमेत घुसको रकमसहित समातिने राज्य संयन्त्र हो हाम्रो । यो तस्वीर हेरेर सुशासनको प्रवचन कसरी सुन्नु कसरी पचाउनु ? यो तस्वीर हेरेर पारदर्शिताका भाषण कसरी सुन्नु, कसरी पचाउनु । यी तस्वीर हेरेर समृद्दीको जात्रा कसरी मनाउनु ? ठूला माछाहरु अजंगका भुँडी पल्टाएर आर्थिक अनुशासनका पाठ पढाइरहने, भुरा माछा बार्दली र बुईगलबाट हाम्फालीरहने ? कहिलेसम्म पो हो ।