खेलकुद

राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप चितवनमा हुने

 

काठमाण्डौं ।
अमेरिकाको पोर्टल्याण्डमा केन्द्रीय कार्यालय रहेको इन्टरनेशनल ओपन फ्रेन्डसिप च्याम्पियन सिपको सहयोगमा चितवनमा तेस्रो राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
रत्ननगर तेक्वान्दो डोजाङ, सरित सौराहा, न्यू स्टार र सौराह डोजाङ्गको संयुक्त आयोजनामा आगामी कार्तिक १ र २ गते रत्ननगर नगरपालिकामा प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएका छन् । प्रतियोगितामा पुरुषको २४ र महिलाको २२ गरी ४६ तौल समुहमा प्रतिस्पर्धा हुने छ । साथै पुम्सेतर्फ पुरुषको ५ र महिलाको ४ गरि ९ विधामा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा ६५ स्वर्ण, ६५ रजत र १३० काश्य पदक गरी २६० पदकका लागि प्रतिष्पर्धा हुनेछ ।

तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिपमा सिनियर पुरुष र महिलाको ६/६ तौल समुहको प्रतिस्पर्धामा प्रथम हुने खेलाडीहरुलाई भने पुन: छनोट गरी त्यस मध्येवाट सर्वोत्कृष्ट हुने ३ जना पुरुष र २ जना महिला तेक्वान्दो खेलाडीलाई जनही नगद १ लाख पुरस्कार प्रदान गरिने छ । ती पाँच जना खेलाडी अमेरिकाको इस्टन मिसिगन युनिभर्षिटीमा सन् २०२० को मे १ र २ मा हुने १३ औं अन्तर्रा्ष्टि्रय खुला मैत्री तेक्वान्दो प्रतियोगिताका लागि समेत छनोट हुने आयोजकले जनाएका छन् ।