बिचार

नेता पनि रिटायर्ड हुने व्यवस्था

प्रेमकृष्ण  श्रेष्ठ

किर्तिपुर नगरसभा सदस्य

प्रचण्डले हालै एक भाषणमा भनें —युवालाई जिम्मेवारी दिऔँ, देश बन्छ । २००७ सालदेखि नै नेताहरुले ‘युवालाई जिम्मेवारी दिऔं देश बन्छ’ नै बोल्दै आएका छन् । प्रश्न उठछ, जिम्मेवारी कहिले दियो त युवालाई ? यो सत्तरी बर्षमा कुनचाँहि युवाले देश चलायो र ? भाषणको सार जे भए पनि, आखिर अवसरको उत्सव मनाउँदा उही पात्रहरु नै दोहोरिने न हुन् ।

सन १९७७ मा भारतीय संगीतकर्मी रुक्मिणी अरुन्डेललाई तत्कालिन प्रधानमन्त्री मोराइजी देसाइले राष्ट्रपति बन्न आग्रह गरेका थिए । प्रधानमन्त्रीको त्यस संवेदनशील आग्रहले एउटा कलाकारलाई कयौ दिनसम्म चिन्तित बनायो । प्रस्तावको केही दिनपछि रुक्मिणी अरुन्डेलले यसो भनी राष्ट्रपति पद अस्वीकार गरे —‘जीवनभरि जुन क्षेत्रमा मैले आफ्नो समय लगानी गरेँ, त्यो क्षेत्र छोडेर राष्ट्रपतिको पद सम्हाल्न असमर्थ छु ।’  कलाकारले कलालाई कति माया गर्छ भन्ने कुराको यो गहकिलो दृष्टान्त हो । तर, नेपालमा ठीक यस्को उल्टो पद पाएको खण्डमा कलालाई बली दिएर होम्मिनेहरु छन् । कारण, यहाँ बडेमान राजनैतिक पद पाउनु भनेको कुवेरको ढुकुटीको साँचो हातपर्नु जस्तै भएको छ । सम्पन्नताको अभिप्साले, योसम्म हिसाव राख्दैन कि उस्को उमेर कति हो र त्यो पद सम्हाल्न शारीरिकरुपमा उस्ले सक्छ कि सक्दैन ?

हिन्दी चलचित्र ‘नायक’ मा नायक अनिल कपुरले एक दिनमा देश विकासका थुप्रै काम गरेको देखाइएको छ । अनिल कपुरलाई युवा नेताको प्रतिनिधि र अमरिश पुरीलाई बृद्ध नेताको प्रतिनिधि गरी प्रदर्शन भएको उक्त चलचित्रको सारले यो भन्छ कि, बृद्धको तुलनामा युवामा जोश, जाँगर र शक्ति हुन्छ । यो त कपोलकल्पित काँचको पर्दाको कुरा भयो, तर वास्तविकतामा पनि युवाहरुमा देशविकासको सपना र जाँगर बृद्धहरुको तुलनामा बढी नै हुन्छ ।

पाँच वर्षअघि एक ठूलै नेताले साठी बर्ष पुगेको भन्दै राजनैतिक सन्यास लिने घोषणाले नेपाली राजनीतिमा यौटा तरंग पैदा गरेको थियो । सक्रिय राजनीतिक जीवनवाट टाढा भएर, साहित्यको कलमसँग मितेरी लाउने भनाइवाट नेपाली साहित्यको इज्जतमात्र भएको थिएन, सत्तालिप्सामा लिप्त नेपाली बयोबृद्ध नेताहरुमाथि यो भनाइले व्यङ्ग पनि प्रक्षेपण गरेको थियो । खेद, गराइ र भनाइमा अन्तर हुने हाम्रो जस्तो देशमा त्यो लागू भएन । जव सत्ताको कुरा आयो, साहित्य कतै थचारिए । विस्मृत भए आफैलाई पछयाएका उमेरहरु । फुटे ऐना फेरि एकपटक गर्ल्यामम्म । उहाँको बोलीको आशय जस्तो देश विकासको जिम्मेवारी युवाको काँधमा आएन, किनकी अवसर पाउँदा युवाको फूलमालामा उनी आफै गुटमुटिए ।

देश विकासका कर्णधार युवा नै हुन् । विश्वको प्रायजसो विकशित देशका राष्ट्रप्रमुखलाई हेरौँ, तिनीहरु युवा नै छन् । अहिले नेपोलियन बोनापार्टको ‘विम्ब’को रुपमा लिने फ्रान्सेली राष्ट्रपति इमैनुअल मैक्रोंले ३९ वर्षमा कार्यभार सम्हालेका छन् । उतर कोरियामा शासक किम जोंग उन २८ मा, कतारका शासन प्रमुख तमीम अल हमद अलपानी ३३ वर्षमा, मैसोडोनियाका राष्ट्रपति एमिड डिमिट्रेन ३६ बर्ष, एस्तोनियाको प्रधानमन्त्री जुरी रातों ३८ वर्ष, बेल्जियमका प्रधानमन्त्री चाल्र्स मिशेल ३८ वर्ष, युक्रेनको् प्रधानमन्त्री बलोडिमिर गाँइस्मानले प्रधानमन्त्री पद सम्हाल्दा उनी ३८ वर्षको मात्र देखिन्छ । सर्सति हेर्दा, देश जति विकसित छ, त्यति युवाले नेतृत्वको अवसर पाएको देखिन्छ ।

‘कुनै पनि कार्यालयमा मेरो फोटो नझुन्डयाउनु । बरु त्यहाँ आफ्नो सन्ताको फोटो राख्नुस् र हरेक निर्णय लिनुअघि तिनलाई हेर्नुस् ।’ युक्रेनका नवनिर्वाचित राष्ट्रपति भोलोडिमिर जेलेन्सकीले मुलुकको लागि सम्बोधन गर्दै गर्दा उनी उमेरले भर्खर ४१ पुगेका थिए ।

५५ वर्षिय डेनमार्कमा युवा प्रधानमन्त्री लार्स लोकी आफ्नो चार वर्षिय कार्यकाल सिध्याएर एउटा झोला मात्र लिएर हालै गुमनाम बाहिरिए । न नामको भोक, न धनको अभिलाषा । बस देश बनाउन आएका थिए, देश बनाएर गए । एक क्यामरामेनले देख्यो र फोटो खिचे, जस्को पत्तो पनि उनले पाएनन् ।

युवा देशको शक्ति हो र जसले युवाको कदर गरेको छ, उस्को सर्वत्र कदर हुने गरेको छ । युवावर्गप्रति राज्यको  वेवास्ता र चर्को बेरोजगारीको कारण के कतिसम्म भयो भन्ने विगतको विभिन्न देशहरुका भएको क्रान्तिको नजिर आलै छ । ट्युनिसियाको क्रान्ति फुटपाथको केही किलो तरकारीवाट शुरु भएको थियो । जुन तरकारी फयाँकिदा एउटा युवा बेरोजगार भएर आत्महत्याको प्रयास गरेको थियो । एउटा युवाको रोजगारी खोस्दा राष्ट्रपतिले आफ्नो सता भुक्तान गनुपर्यो । टयुनिसिया मात्र होइन, उतर अफ्रिका, इजिप्ट, अल्जेरिया, यमन र अरु देशको राजनैतिक संकट युवा बेरोजगारीको उपज थियो ।

बिडम्बना ! नेपाली राजनैतिक परिदृश्यमा सल्बलाइरहेका अहिलेका  पात्रहरुलाई नियाल्ने हो भने युवा भन्दा बयोबृद्ध नेताहरुको बाक्लो उपस्थिति छ । कुनै पनि राज्यको संयन्त्रमा युवाहरुलाई पछाडि पारिएको छ । फलस्वरुप युवाहरुका गुनासा, माग र चाहनालाई देश चलाउने बयोबृद्ध नेताहरुले अनुभूत गर्न सकेका छैनन् । युवाको उमेर समूहवारे विश्वभरि फरक फरक मान्यता र वर्गीकरण पाइन्छ । साधारणतया ४० बर्ष उमेर समूहभित्रका व्यक्तिहरु युवामा पर्ने गरेको पाइएको छ । सन २०१० को जनगणनामा दुई करोड अस्सी लाख जनसख्यामा १५ देखि ४० उमेरसमूहको युवा ४०.३ प्रतिशत देखाइएको थियो । तर विडम्वना नै मान्नुपर्छ, देशको संसदमा भने युवाको उपस्थिति निकै कम नै रहेको छ ।

निजामती कर्मचारीहरुलाई सेवाको एक निश्चित उमेरपछि बिदा गर्ने चलन छ । कुनै पनि कर्मचारी मानसिक र शारीरिकरुपमा गल्न सक्छ भने देश चलाउने नेताहरु किन गल्न सक्दैनन् ? कि नेताहरु अर्के छाला र हाडले बनेका हुन् ? प्रशासनमा लागू हुने यो नियम राजनीतिमा पनि लागू हुनु नितान्त आवश्यक छ । राजनीतिमा पनि उमेरको हदबन्दि तोकेर नेताहरुलाई बिदा दिन आवश्यक छ । अव वहसको विषय हुन आवश्यक भयसक्यो, नेतालाई पनि रिटायर हुने व्यवस्था गर्ने कि नगर्ने ? एउटै नेताले उहीँ लाभको पदमा दशपटक बसेर जुनी काटन पाउने कि अथवा एउटा कर्मचारीलाई जस्तो रिटायर बनाउने ? परिपाटी यस्तै रहिरहने हो भने, यो मुलुकमा ८० वर्षमा पञ्चम सता स्वाद लिने नेताको सय किलो फूलमालालाई कर्मचारीको भिजेको दोसल्लाले सदैव गिज्याउनेछ । बृद्धावस्थामा मानिसले त्यति काम गर्न सक्दैनन्, जुन उस्ले युवा जोश छउन्जेल गरेको हुन्छ । अमेरिकामा राष्ट्रपतिका लागि  दुईपटक मात्र उम्मेदवारी दिन पाउनु व्यवस्था पनि उमेरलाई नै मध्यनजर राखेर गरिएको हुनुपर्छ । हेलिकप्टरले नियाल्दैमा मुस्ताङ्ग बुझिँदैन, यस्को लागि पाइलाहरुले त्यहाँको ढुंगा टेक्नुपर्छ जुन चाउरिएका पैतालाले सक्दैन । यसकारण बयोबृद्ध  नेताहरुले कुनै उमेरको सीमामा राजनैतिक सन्यास लिने घोषणा गरी रचनात्मक भूमिका खेल्नुपर्छ । देश विकासको जिम्मेवारी युवालाई दिएमा मात्र युवाको मर्म समाधान हुनसक्छ । आज उर्लिएको बेरोजगारी समस्या राज्यको जुनसुकै तहमा युवाको कम प्रतिनिधित्वले गर्दा नै भएको हो । यदि राज्यसंयन्त्रमा युवाको उपस्थिति बाक्लिएको भए, आज बेरोजगारी समस्या यति निबिड हुने थिएन; देशका युवा खाडी जाने उडनखटौलाका लागि विमानस्थलमा कमिलाजस्तो ताँतिने, मेसिनमा औँला हार्ने र रितो काठको वाकसमा फर्किने थिएनन् ।

विकशित देशमा बेरोजगारीको त्यति समस्या छैन किनभने त्यहाँ युवाहरुको हरेक तह र तप्कामा पहुँच छ । विकशित देशमा युवावर्गमाथि राज्यले गर्ने यो सम्मान र आदर हाम्रो देशका नेताहरुले पनि सिक्नु पर्छ । युवावस्था भनेको जोश र जाँगरको मौसम हो । युवावस्थामा जस्तो बुढ्यौलीमा कसैले पाखुरी खियाउन सक्दैन । धोनीको क्रिकेट —कलालाई दुनियाँले जति पूजा गरुन्, तर आज उनको बेटबाट हिजो उनले युवाअवस्थामा हिर्काइएका ‘छक्का’हरुको आष गर्न सकिन्न । गल्दै गएका पाखुरामा यी कुरा सम्भव छैन । यसो हुनुको प्रमु्ख कारण  रहेको छ, उमेर ढल्किँदै जाँदा जोश र जाँगर पनि गल्दै जान्छन् । यस्तो कमजोर अवस्थामा देश चलाउनु देशको विकासमा अवरोध हाल्नु मात्र हो ।

त्यो कलिलो इतिहासको मञ्जरी अझै चुँडिएको छैन —देशका बरिष्ठ नेता गिरजाप्रसाद कोइरालाले सम्हालेको अन्तिम बागडोरमा उनी सिद्धान्त र बिचारमा कति सम्पन्न थिए,  तर उनको शारीरिक शक्तिको अभावले केहीे सुन्दर सिद्धान्त हस्पितलको बेडमा मात्र सुसायो । उनले ओकलेका बिचारको  कदर त गरिए, तर कैयन विचार व्यवहृत भएन किनकि उनी स्वयम अग्रसर भएर त्यो सम्पन्न गर्न सकेनन् । जव उमेरको एउटा सीमामा शारिरिक र भौीतक शक्तिको अवसान हुन्छ, बिचार र सिद्धान्त जति सुन्दर भए पनि त्यसलाई मूर्तिमा ढाल्न सकिन्न । देश भनेको आफ्नो पैतालाले समातेको एक मुठी माटो होइन । आफ्नो पाइलामुनिको माटोमा एक फूल रोप्न सकिएला, परन्तु देश भनेको त माटोदेखि माटोसम्मको यात्रा हो । त्यो माटोदेखि माटोसम्म पुग्न युवा पाइला आवश्यक छ । हाम्रो जस्तो मुलुक, जुन सतालिप्सेरियाले आक्रान्त छ त्यस्तोमा युवाले तव मात्र अवसर पाउँछ, जव देशको राजनीतिक पदमा पनि नेताहरु निश्चित उमेरमा रिटायर हुने व्यवस्था हुन्छ ।