बिचार

राष्ट्रपति ट्रम्पको ट्विट नै संसार

तस्बिर श्रोत : सी एन एन

प्रभात भट्टराई
अमेरिका
सन् २०१६ मा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित हुनेमा राजनीतिक पण्डितदेखि आम सर्वसाधारणसम्म कोही पनि आश्वस्त थिएनन् । विश्लेषकहरुले हिलारी क्लिन्टनको जित्ने सम्भावना ८० प्रतिशत माथि देखाउँदा पनि अप्रत्याशित रुपमा ट्रम्प निर्वाचित भए । ठूला एवम् तुलनात्मक रुपमा आप्रवासीको बाहुल्यता रहेको क्यालिफोर्निया लगायत राज्यमा भारी मतान्तरले हारे पनि गोराहरुको ठूलो बसोवास रहेका साना एवम् भित्री राज्यहरु उनले जित हासिल गरे । अन्ततः समग्रमा झण्डै ३० लाख मतान्तरले हिलारीभन्दा पछि रहे पनि ३०४ इलेक्टोरल कलेज उनको पक्षमा प¥यो जबकी हिलारीको भागमा २२७ मात्र उब्रियो । राष्ट्रपति निर्वाचित हुन २७० इलेक्टोरल कलेज चाहिनेमा ट्रम्पले ३४ मत बढी पाए ।
राष्ट्रपति हुनुअघि र भइसकेपछि पनि ट्रम्पको एउटा दिनचर्या भने बदलिएको छैन– ट्विट । उनी ट्विटर बहुत चलाउँछन् । कसैलाई धन्यवाद दिनु परे पनि ट्विट, गाली गर्नु परे पनि ट्विट । उनका कैयन् कार्यकारी निर्णयसमेत ट्विटबाटै सार्वजनिक हुन्छन्, जुन अमेरिकी राष्ट्रपतिहरुको चलन थिएन । उनी ट्विटबाटै ट्विटरलाई समेत गाली गरिरहेका हुन्छन् । कन्जरभेटिभ एवम् आफूमाथि विभेद गरेको, आफ्ना फलोअर घटाइदिएको जस्ता गाली उनले ट्विटरलाई कैयन् पटक दिइसकेका छन् । तर, ट्विटरसँग जति गुनासो भए पनि उनी ट्विट गर्न भने छोड्दैनन् । राष्ट्रपतिको गरिमाका लागि पनि केही कम ट्विट गर्नुपर्ने सुझाव धेरैतिरबाट आएपछि उनले ट्विटरमै भनेका थिए– ‘म किन ट्विट कम गर्छु, जबकी यसकै कारण सन् २०१६ मा मेरो जित सम्भव भयो ।’

चुनाव जिते पनि उनको स्वभाव उस्तै छ, एक विद्रोही जस्तो । उनी अहिले पनि त्यसैगरी प्रश्न गर्छन्, जसरी सत्तामा आउनु अघि गर्थे । जवाफ दिनुभन्दा प्रश्न बल्झाएरै उनी आफ्नो समर्थक धरातल बचाइरहेका छन् र प्रश्न गर्ने थलो छ ट्विटर । आफू दुनियाँको सबैभन्दा शक्तिशाली पदमा बहाल रहे पनि डेमोक्र्याट र आफूइतरका रिपब्लिकनले यो बिगारे भन्ने तर्क उनको हुने गर्छ । जति र जेमा राम्रो परिणाम हासिल हुन्छ त्यसको जस आफूलाई र केही बिग्रेमा दोष अरुलाई थोपर्छन् । जस्तो कि शेयर बजार हरियो हुनेबित्तिकै जति उत्साहित ट्विट सुरु गर्छन् केही घटेमा फेडरल रिजर्भ बैंकमाथि दोष दिएर ट्विट आइहाल्छ ।
दिनमा यति नै ट्विट गर्ने भन्ने उनको कुनै सीमा छैन । ट्विट र रिट्विट गरेर ५० बढीसम्म ट्विट गरेका छन् उनले । कतिलाई ट्विटरबाटै ‘फायर’ गरेका छन् त कतिलाई ट्विटरबाटै ‘हायर’ गरेका छन् । ट्रम्प आफ्नो प्रशंसामा यति सचेत छन् कि कसैले उनलाई राम्रो भनेर लेख्यो या बोल्यो भने तुरुन्तै ट्विटरमा उक्त वाणी दोहो¥याइहाल्छन् । साथै उनीप्रति कसैले नकारात्मक टिप्पणी गरे ट्विटबाटै भित्तैमा पुग्नेगरी गाली दिन्छन् । पूर्व सभामुख एवम् रिपब्लिकन नेता पउल रायनले ट्रम्पको नेतृत्व क्षमताबारे एउटा किताबका लागि अन्तरवार्ता दिएको सार्वजनिक हुनेबित्तिकै रायनले भुत्ते नेताको उपमा पाए । आफू राष्ट्रपति भएपछिको दुईवर्षे कार्यकाल अलावा रायनले कहिल्यै नेतृत्व गर्ने ढंग नजानेको समेत उनले आरोप लगाए ।
टेलिभिजन कार्यक्रमदेखि पत्रपत्रिकामा आएका लेख, सम्पादकीय एवम् समाचारमाथि समेत टिप्पणीसहित उनले ट्विट गर्ने गरेका छन् । सोमबार मात्र उनले १६ वटा ट्विट गरेका छन् । त्यसमा धेरैजसो रिट्विट छन् । फक्स न्यूजबाट प्रकाशित उनको समर्थकहरुको भिडियो क्लिप एवम् अन्य समर्थकको ट्विट रिट्विट गरेका छन् । साथै एउटा पूर्व उपराष्ट्रपति जोए बाइडेनको एक भाषणलाई उडाइएको ट्विट रिट्विट गरेका छन् भने अरु केही ट्विट पनि डेमोक्र्याटहरुप्रति नै लक्षित छन् ।
अमेरिकी चुनावमा रसियन हस्तक्षेप नकार्नेदेखि उत्तर कोरियाली नेता किम जोङ उनसँगको हार्दिक सम्बन्धसम्म उनले ट्विटरबाट नै बहस गरिरहेका छन् । राष्ट्रपति निर्वाचित हुनुअघि पूर्व राष्ट्रपति बाराक ओबामा अमेरिकामा जन्मेका होइनन् भन्ने प्रमाण आफूले पाएका जस्ता तथ्यहीन विवादित ट्विट गरेर उनी ट्विटरमा चर्चित भएका थिए । जुन, स्वभाव उनले अहिलेसम्म बदलेका छैनन् । उनलाई ट्विटरमा ६ करोड ३० लाखले फलो गरेका छन् भने उनले ४७ जनालाई फलो गरेका छन् । उनको फलो सूचीमा केही क्याबिनेटका पदाधिकारी एवम् रिपब्लिकन सांसद, केही उनका समर्थक पत्रकार, परिवारका सदस्य र उनकै कम्पनीहरु छन् । अमेरिकी राष्ट्रपतिलाई सर्वाधिक व्यस्त पदको रुपमा बुझ्ने र व्याख्या गर्नेहरुले ट्रम्पको ट्विटर सक्रियताप्रति उदेकसमेत मान्ने गरेका छन् ।