फिचर

सगरमाथा सुरक्षित छ, दूर्घटना घटाउँछौं : सरकार

काठमाडौं । सरकारले सगरमाथा लगायत हिमाल सुरक्षित रहेको भन्दै यहाँ हुने दूर्घटनाबाट नआत्तिन संसारभरका पर्यटकलाई आग्रह गरेको छ ।

वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणमा १५ जनाको निधन भएको र त्यसबारे अफवाह फैलिएपछि सरकारले छानविन समिति बनाएको थियो ।

त्यसमध्ये सगरमाथामा मात्र ८ जनाको निधन भएको थिया ।

प्रतिकूल मौसमका कारण बेलैमा आरोहण गर्न नसकेका पर्यटक शारीरिक कमजोरी र हाइ अल्टिच्यूड सिक्नेसका कारण मृत्युवरण गर्न बाध्य भएको भन्दै समितिले सगरमाथामा जाम भएका कारण पर्वतारोही नमरेको स्पष्ट पारेको छ ।

समितिका संयोजक घनश्याम उपाध्यायले यो वर्ष मौसमले आरोहणमा साथ नदिएको तथ्य फेला परेको उल्लेख गरे ।

उनका अनुसार ९ मेदेखि २५ मेसम्मको अवधिमा केवल ६ दिन मात्र मौसम अनुकूल बनेको थियो । यसै अवधिका डोरी टाँग्नेदेखि करीव ९ सय आरोही सगरमाथा चुचुरोमा पुग्नु परेका कारण भिडभाड देखिएको उनको भनाई छ ।

लगातारको हिमपातका कारण यस वर्ष हिमाललमा समस्या आएको हो । २२ मेमा सबैभन्दा धेरै आरोही चुचुरोमा पुगेका थिए । यस दिन एक जनाको मात्र निधन भएको थियो । उक्त दिन २ सय २३ जना आरोहीले चुचुरो टेकेका थिए ।

आरोही चुचुरोतर्फ लम्कदै गर्दा मौसम प्रतिकूल बनेपछि लामो समय आरोहीले अत्यन्तै चिसो मौसममा दिन कटाउनु परेको प्रतिवेदनमा उल्लेख छ ।

उचाईमा अक्सिजनको कमिले पनि धेरै आरोही प्रभावित बनेका थिए । समितिकाअनुसार आरोहीको मृत्युको कारण शारीरिक कमजोरी, आकस्मिक मूर्छा र हाइअल्टिच्यूड सिकनेस मूख्य हो । तर जाम भने होइन ।

समितिले बुधबार आफ्नो प्रतिवेदन पर्यटन मन्त्री योगेश भट्टराईलाई बुझाएको छ । मन्त्री भट्टराईले सगरमाथा सुरक्षित भएको भन्दै दूर्घटना न्यूनिकरणका उपाय कडाईका साथ लागु हुने उल्लेख गरे ।

समितिले हिमालमा प्रभावकारी मौसमी प्रणालीको विकास र त्यसमा उचित समन्वय, स्पष्ट आरोहण योजना बनाएरमात्र आरोहणको व्यवस्था मिलाउन सरकारका नाममा सुझाव दिएको छ ।

अब स्वास्थ्य परिक्षण गरेर मात्र आरोहणमा पठाउन र आफू चढ्न सक्ने या नसक्ने निर्णय स्वयमः आफै गरेर मात्र अनुमतिको व्यवस्था गर्न समेत सुझाव दिइएको छ ।