कला / साहित्य

कवि

आनन्द श्रेष्ठ
न्यूयोर्क

कविता लेख्न थालेको बाह्र वर्षपछि कवि ‘धतुरे’लाई आज सम्मान गरियो । एक लाख नगद र सम्मानपत्र बोकेर कवि रत्नपार्कको माइक्रो चढेर गोंगबुतर्फ लाग्दै थियो । बाटोभरि उसले सोच्दै गयो– ‘आखिर सम्मान त हुने रहेछ समाजमा । सफलताका लागि लगातार लगनशील हुनुपर्ने रहेछ । अब यो एक लाख लगेर श्रीमतीको हातमा थमाइदिन्छु । एक जोर साडी किन्नु भन्छु । आधा तोला जतिको सिक्री किन्नु भन्नुपर्ला । कविको श्रीमती भनेर निकै सम्मान छ उनको समाजमा । अब मैले मनमनै गरेको उनीप्रतिको सम्मान भौतिकरूपले गर्न पाउने भएँ । उनको झुम्का बेचेर कविता संग्रह निकालेको पनि एक वर्ष भएछ ।’
‘रेडन झर्ने आउनुस् त ।’
माइक्रोको सहयोगी भाइको चर्को आवाजले झल्याँस्स भएर कवि आफ्नो गन्तव्यमा आइपुगेको महसुस गर्छ र माइक्रोबाट ओर्लिन्छ ।
बाटोभरि आफ्नो श्रीमतीलाई यो खुशीको खबर कसरी सुनाउने भनेर सोच्दै जान्छ । जसै कवि आफ्नो घरको नजिक नजिक पुग्छ, छिमेकीहरूको आँखा कविप्रति तेर्सिन थाल्छ । कविलाई लाग्छ– समाचार सुनाइसकेछ कि क्या हो ! सबैले थाहा पाए जस्तो छ ।
जब कवि घर पुग्छ– मूल ढोकामा ताल्चा लागेको देख्छ । कवि आएको देखेर छिमेकीले उनको हातमा एउटा चिट्ठी र साँचो थमाउँछ । चिट्ठी खोलेर हेर्दा देख्छ– ‘पतिदेव ! मैले हजुरको कवितामा रमाएर भोको पेट अघाउन सकिन, न म विवाहित स्वास्नीमान्छेको दर्जामा रहन सकें । हजुरले कवितासँग सम्भोग गर्नुभयो र कविताहरू नै जन्माउनु भयो । म बाँझी रहें । मैले आफ्नो व्यवस्था आफैँले गरेकी छु । हजुरले अझै नाति–पनाति कविताहरू जन्माउनु होला– शुभकामना छ ।’