कला / साहित्य

बीस वर्ष अघि र पछिको बिन्दुको डायरीबाट

प्रेमकृष्ण श्रेष्ठ
कीर्तिपुर

आकाशसँग मेरो दुई वर्ष प्रेम चल्यो । त्यो अन्तरालमा हामीबीच शारीरिक समागम पनि भयो । शारीरिक समागमकै परिणामस्वरुप म गर्भवती भएँ । आफ्नो अवस्थाका बारेमा आकाशलाई भन्दा आकाशले भन्यो— ‘यो पेटको शिशु मेरो बच्चा हो । म स्वीकार गर्छु यसलाई ।’ आकाशले यसो भन्दा मैले ठूलो सान्त्वना पाएकी थिएँ । शुरुमा त मलाई आकाशले आफ्नो पेटको शिशुलाई स्वीकार्छ कि स्वीकार्दैन भन्ने कुरामा ठूलो आशंका थियो ।
आकाशले मलाई सम्झाउने खातिर यसो पनि भन्यो— ‘यो पेटको शिशु जन्मियो भने यसको नाम ‘किरण’ राख्छु किनभने मलाई किरण नाम निकै मन पर्छ ।’ आफ्नो प्रेमी आकाशबाट यस्तो कुरा सुन्दा मैले आफ्नो पेटमा स्नेहालु हात सल्बलाएँ । आफ्नो सृजनामा मलाई गर्व भयो र दुनियाँले पाप भने पनि आकासको एक चिम्टी सिन्दुरले त्यो पाप छोपिने कुरामा म विश्वस्त थिएँ ।
समय बित्दै गयो । यता शिशु पेटभित्र दिनदिनै हुर्कंदै थियो । उता दुनियाँले शिशुको पिताको चिनारी खोज्दै थियो । नवजात शिशुमाथि प्रश्नचिन्ह मडारिँदै गएको थियो । बिस्तारै शिशुको वारेमा थाहा पाएपछि आकासको परिवारले आफ्नो सन्तानको रुपमा स्वीकृति दिन तयार भएन । जातीय असमानताका कारण त्यो पेटको शिशुलाई आकाशको परिवारबाट स्वीकार नगर्ने अडान आएपछि एक मात्र अन्तिम निर्णयको मालिक आकाश हुन गएको थियो ।
निर्णायक घडीमा आएर आकाशले भन्यो– ‘सरी बिन्दु, मलाई माफ गर । म आफ्नो परिवारको खिलाफ जान सक्दिनँ । त्यो पेटको शिशु अब तिम्रो मात्र हो, मेरो होइन ।’
जीवनको अन्तिम सहारा आकाशबाट पनि यस्तो निर्णय सुन्दा म स्तब्ध बनें । सहनै नसकेपछि मैले आक्रोश ओकलें– ‘उसो भए यो बच्चा कसको हो ? के म बेश्या हुँ । जो प्रत्येक रात पुरुषको शरीर फेर्दै हिँड्छ । म त केवल तिम्रो मात्र प्रेमिका ।’
‘के प्रमाण छ तिमीसँग ? यो शहरमा हजारौं लोग्नेमान्छेहरु छन् । सबैलाई यसको पिता हो भन्यो भने यसका पिता हुन्छन् ?’ आकासले मलाई धम्कीको भाषामा बोल्यो ।
मेरो मुखबाट एउटा बाक्य फुत्त निस्क्यो– ‘त्यो रात के ?’ हामीबीच नराम्ररी विवाद चर्कियो ।
आकाश कुर्लिन थाल्यो– ‘मैले तिमीसँग दुई वर्ष प्रेम गरें । त्यो अवधिमा सात सय उन्नतीस रात त अन्तै बिताएकी छौ ।’ आकाशको बोली सुन्नै नसकेपछि म भुइँमा थचक्क बसेँ । दुःख लाग्यो, सात सय उन्नतीस रात देखाएर आकाशले एक महत्वपूर्ण रातलाई महत्वहीन पार्न खोज्दै छन् । आकासको लागि मैले सबै सपनाहरु त्यागेकी थिएँ । आकासले यसो भन्दा मैले रिसको झोँकमा भनें— ‘यदि यो बच्चा तिमीलाई तिम्रो जस्तो लाग्दैन र कुनै शंका छ भने यो कोपिलामा लात हानिदेऊ । यदि माली नै छैन भने त्यो फूलले फक्रेर के पाउँछ ?’ आकासले म जस्तो एक कमजोर नारीकोे चुनौतिलाई सहर्ष स्वीकार गर्यो र मेरो पेटमा बेस्सरी लात हान्यो । आकासको आघात पाएर म अचेत बनें । होस खुल्दा हस्पितलमा मेरो पेट हलुंगो बनिसकेको थियो । त्यहाँ फूलको सपना देख्ने कोपिला, कोपिलामै ओइलाई सकेको थियो ।
समय बित्दै गयो । मेरो जीवनमा एउटा परपुरुष घाउ बनेर दुखिनै रहयो । त्यही बदनामीको कारण मेरो सिउँदो रंगिन चाहेर पनि । कहिल्यै रंगिएन । म आजिवन कुमारी नै बनें । आकासले त्यो घटनाको केही समय पछि घरपरिवारले रोजेकै एक युवतीसँग बिहे गर्यो । बिहे गरेपछि सपरिवार पोखरा सरे । त्यसपछि पोखरा र काठमाडौँको भौगोलिक दुरीले हाम्रो भेट कहिल्यै भएन । मलाई अब आकासको बारेमा केही जानकारी छैन ।

बीस वर्षपछि बिन्दुको डायरीबाट…
गएको शनिबार म पशुपतिको मन्दिरमा पूजापाठका लागि जाँदै गर्दा आकाशसित मेरो जम्काभेट भयो । आकाश आफ्नी श्रीमती र छोरासँग आएको रहेछ । उसले मेरो बाटो छेकेर बेइज्जत गर्ने भाषामा बोल्यो— ‘पोते, सोते र सिन्दूर पनि देखिँदैन । अझै बिहे भएको छैन र तिम्रो ? कि बुढीकन्या नै बस्छौ अब ?’ एकक्षण हाँसे पछि पुनः आफ्नो छोरातिर इशारा गर्दै बोल्यो– ‘यो हो मेरो छोरा । हेर न छोरा त म जत्रो नै अग्लिसके !’ आफ्नो छोराको अग्लाईमा गर्व गर्दै बोल्यो । एकक्षण त चुप लागेँ तर ममाथि अन्याय नै भएको हो भन्ने बोध भएपछि आफूभित्रको कमजोर नारीलाई कतै फ्याँकेर बोले— ‘यदी किरण, यो धर्तीमा भएको भए, त्यो झन् कति अग्लिसक्थ्यो होला, कल्पना गर्नुस् ।’ एउटी नारीको सानु स्वरको प्रश्न मेरो कर्णपर्दामा विस्तारै ठोकिन आयो– ‘को हो किरण ?’ मैले पुरुषको प्रत्युतर सुन्न चाहिनँ । म पूजा गर्न आएको, मन्दिरतिर बिस्तारै पाइला बढाएँ ।