समाचार

रक्षा बन्धन र जनैपूर्णीमा मनाइदै

काठमाडौं । हिन्दु धर्मावलम्बी नेपालीहरुका लागि चाडबाड शुरु भएको संकेत दिने गरी आज देशभर रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइदैछ ।

श्रावण शुक्ल पूर्णिमाका अवसरमा हरेक वर्ष यो पर्व मनाउने प्रचालन हरेको छ । यस दिनलाई ऋषि तर्पणीका नामबाट पनि पुज्ने गरिन्छ ।

आज जनै एवं रक्षाबन्धन धारण गरी पर्व मनाइन्छ । कतिपय स्थानमा दिदिबहिनीले दाजु भाईको हातमा राखी बाँधेर दीर्घायुको कामना समेत गर्ने प्रचलन रहिआएको छ ।

खासगरी तराई भेगमा राखीको बढी प्रचलन रहेको छ । अन्य स्थानमा भने वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरी गुरु पुरोहितबाट पुजेको डोरो बाँध्ने गर्छन् ।

यस दिन ब्राहृमण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने प्रचलन रहिआएको छ । आज काठमाडौंको पशुपति क्षेत्रमा ठूलो भीड लाग्छ ।

यसबाहेक देशभरका शिवमन्दीर र विष्णुका मन्दिरमा भक्तजनको भीड लाग्छ । गोसाइकुण्ड र बडिमालिकामा ठूलो कष्ट रहेर पनि भक्तजन पुग्ने गरेका छन् ।

नदी किनारमा पनि भक्तजनको भीड लाग्ने गरेको छ । यस दिन एघार थरि गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने प्रचलन रहेको छ ।