कला / साहित्य

तिमीबिना बाँच्न गाह्रो भो

समा श्री, काठमाडौं

अहिले म छु
मेरो छायाँ छ
तिमी नभएपछि
टाढा टाढासम्म शून्यता छ
फुटेर छरिएका सपना छन्
धिपधिपाएर निभ्न लागेको दियो छ
मैलो मैलो रोशनीमा
अहिले म छु
मेरो छायाँ छ
तिमी नभएपछि
बाहिर भीडभाड भए पनि
भित्र कतै खोक्रोपना जन्मिन्छ
सपनाहरू पनि आएर घोच्छन्
सिधा हृदयमा आएर
यति बेला तिम्रो सम्झना मात्र पनि
मलम समान लाग्छन्
आशाको धमिलो रोशनीमा
अहिले म छु
मेरो छायाँ छ

तिमी नभएपछि
आफ्नै पिछलग्गु छायाँ छ
छायाँ
श्वेतभोगी छ, लालची छ उज्यालोको
छोड्छ अँध्यारोमा
जन्माउँछ खोक्रोपना
जन्माउँछ ज्वालामुखी
आगो ओकल्छ
डढाउँछ सप्पै सप्पै
लावाको रोशनीमा
अहिले म छु
मेरो छायाँ छ

तिमी नभएपछि
झर्छन् आँसु
जल्दै जलाउँदै
जहाँ जहाँबाट बग्छन्
पग्लिदैँ आफै भित्र म सोच्छु
कति आवश्यक छौ तिमी !
मेरो जिन्दगीको लागि
मेरो सासको लागि
मेरो धड्कनको लागि
यो एकलासमा एक्लोपनमा
कतै कुनै आकर्षण छैन
कतै कुनै बहलाउने कुरा छैन
हाँसो छैन तोष छैन
मरुभूमि भएर मन भन्छ
अब तिमी बिना बाँच्न गाह्रो भो