समाचार

नेकपाले टुंग्यायो केन्द्रिय विभागको जिम्मेवारी, कुन नेतालाई कुन विभाग ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रिय विभागको जिम्मेवारी बाँडफाँट टुंग्याएको छ । नेकपाको सचिवालय बैठकले केन्द्रिय कार्यालयका विभागका प्रमुख र उपप्रमुखको जिम्मेवारी तय गरेको हो ।

बैठकले सात प्रदेशका लागि सहइन्चार्जसमेत तोकेको छ । सचिवालय बैठक शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको थियो ।

बैठकले केन्द्रीय कार्यालयको सचिवमा श्रीराम ढकाल र ईश्वरी रिजाल विश्वकर्मालाई चयन गरेको हो । नेकपाले बहालवाला मन्त्रीहरुलाई आफ्नो मन्त्रालय मातहतकै विभागमा प्रमुख तोकेको छ ।

प्रदेशहरुमा तीन तीन जना सहइन्चार्ज तोकिएका छन् । नेकपाको अर्थ तथा योजना विभाग प्रमुख सुरेन्द्र पाण्डे चयन भएका छन् । उपप्रमुख डोरप्रसाद उपाध्याय चयन भएका छन् ।

उद्योग तथा वाणिज्य विभागमा राधा ज्ञवाली प्रमुख बनेकी छिन् । बामदेव क्षेत्रीलाई उपप्रमुख बनाइएको छ ।

उपभोक्ता हित तथा आपूर्ति विभागको प्रमुखमा मातृका यादवलाई नेतृत्व दिइएको छ भने बलराम सापकोटा उपप्रमुख बनेका छन् ।

कृषि तथा भूमि सुधार विभागमा चक्रपाणी खनाल र उपप्रमुख हरी पराजुली चयन भएका छन् । कोष तथा आर्थिक व्यवस्थापन विभागको प्रमुख हरिबोल गजुरेल बनेका छन् । यस विभागको उपप्रमुख कृष्णगोपाल श्रेष्ठ रहेका छन् ।

खानेपानी तथा सरसफाई विभाग प्रमुख बीना मगर चयन भएकी छिन् । यस विभागको उपप्रमुख ममता गिरि छानिएकी छिन् ।

जलस्रोत, सिंचाई तथा उर्जा विभागको नेतृत्व वर्षमान पुनलाई दिइएको छ । उप्रमुख भने परसु मेघी बनेका छन् ।

निर्वाचन विभाग प्रमुख प्रदीप ज्ञवाली र उपप्रमुख खिमलाल देवकोटा छानिएका छन् । न्याय कानून तथा मानवाधिकार विभाग प्रमुखमा रघुजी पन्त तथा उपप्रमुखमा मुक्तिनारायण प्रधानलाई छनोट गरिएको छ ।

पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभाग प्रमुख योगेश भट्टराई छनोट भएका छन् ।

प्रचार तथा प्रकाशन विभागको नेतृत्व नारायणकाजी श्रेष्ठलाई दिइएको छ । यसको उपप्रमुख सूर्य थापा बनेका छन् ।

पार्टी स्कूल विभागको नेतृत्व इश्वर पोखरेललाई दिइएको छ । यस विभागलाइ लिएर नेकपा भित्र लामो विवाद भएको थियो । प्रादेशिक मामला विभाग प्रमुख घनश्याम भुसाल बनका छन् ।

युवा तथा खेलकुद विभाग टोपबहादुर रायमाझीको काँधमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात विभाग रघुविर महासेठलाई दिइएको छ ।

राजकीय मामिला तथा सुशासन विभाग रामबहादुर थापाको काँधमा आएको छ । वन तथा वातावरण शक्ति बस्नेतले सम्हाल्नेछन् ।

विदेश विभाग प्रमुख भने माधव कुमार नेपालको जिम्मेवारीमा रहेको छ ।

श्रम तथा रोजगार गोकर्ण विष्ट तथा संगठन विभागको प्रमुखमा बामदेव गौतम तोकिएको छ । यस विभागको उपपमुख भने जनार्दन शर्मालाई तोकिएको छ ।

शिक्षा गिरिराजमणी पोखरेल र संसदीय मामला सुवास नेम्वाङ प्रमुख र देव गुरुङ उपप्रमुख बनेका छन् ।

शहरी विकास विभागमा लेखराज भट्ट तथा सामान्य प्रशासन विभागको प्रमुखमा लालबाबु पण्डित छानिएका छन् ।

नीति अनुसन्धान प्रतिष्ठानको नेतृत्व झलनाथ खनालले गर्नेछन् ।