समाचार

एकता बलियो बनाउन चित्त नबुझेपनि निर्णय लिनु परेको छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चित्त नबुझ्दा नबुझदै पनि पार्टी एकता बलियो बनाउन निर्णयहरु लिनु परेको बताएका छन् ।

शनिबार नेपाल प्रगतिशिल चिकित्सक संघ र राष्ट्रिय चिकित्सक संघद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले कतिपय विषय चित्त नबुझेर पनि निर्णय लिनुपर्ने बाध्यता रहेको बताएका हुन् ।

कतै एकता नै नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभूति समेत हुन थालेको गुनासो समेत प्रचण्डले गरेका छन् ।

शुक्रबार मात्र नेकपाको सचिवायलय बैठकले विभिन्न केन्द्रिय विभागको नेतृत्व चयन गरेको थियो ।

पूर्वमाओवादी खेमाले नेकपाभित्र पार्टी स्कूल विभाग दावि गरिरहेको थियो । यसमा नारायणकाजी श्रेष्ठलाई पठाउने प्रचण्डको योजना थियो ।

तर , इश्वर पोखरेल स्कूल विभाग प्रमुख बनाइएका छन् । यस निर्णयमा नेकपा भित्र प्रचण्ड निकट नेताहरु असन्तुष्ट रहेका छन् ।

लामो समय छलफल गरेपछि मात्र शुक्रबार सचिवालय बैठकले महत्वपूर्ण निर्णय लिएको प्रचण्डको भनाई छ ।

पार्टी एकता र पार्टी बलियो बनाउन कतिपय विषयमा निर्णय दिन नेतृत्व बाध्य हुने उनको भनाई थियो ।

इतिहासले अहिले गरेका कामको मूल्यांकन गर्ने भन्दै उनले नेतृत्वले महत्वपूर्ण निर्णय लिइरहेको उल्लेख समेत गरे । उनले चिकित्सकहरुलाई पनि पेशागत मर्यादाभित्र रहेर काम गर्न निर्देशन दिए ।