समाचार

भारतीय विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर विदेशमन्त्रीका रुपमा पहिलो पटक काठमाडौं आउने भएका छन् ।

आगामी बुधबारदेखि काठमाडौंमा शुरु हुने नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

उनी भारतीय विदेश सचिव भएका बेला भने काठमाडौं आइसकेका छन् । खासगरी संविधान निर्माणका बेला भारतीय सरकारको दूतका रुपमा नेपाल आएका उनको त्यसबेला ठूलो आलोचना भएको थियो ।

त्यसपछि भारतले नेपालमाथि नाकाबन्दी शुरु भएको थियो । नेपाल भारत संयुक्त आयोगको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी जयशंकरले गर्ने बताइएको छ ।

बैठकमा नेपाल र भारतको द्वीपक्षीय सम्बन्धसहित आर्थिक, व्यापार तथा पारवहन, उर्जा, जल, शिक्षाजस्ता क्षेत्रको सहकार्यका विषयमा छलफल हुने मन्त्रालयले उल्लेख गरेको छ ।

नेपालमा रहँदा विदेशमन्त्री जयशंकरले उच्च स्तरीय भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतसँग भेटवार्ता गर्ने भएका छन् ।

नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकालमा नेपाल भ्रमण गर्ने जयशंकर सबैभन्दा उच्च तहका भारतीय नेता हुनेछन् ।