समाचार

एसिया प्रशान्त हवाई नियामक निकायका प्रमुख नेपालमा भेला

काठमाडौं । एसिया प्रशान्त क्षेत्रका हवाई नियामक निकायका प्रमुखहरुको भेला सोमबारबाट काठमाडौंमा शुरु हुँदैछ ।

सम्मेलनको तयारी पुरा भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

यो महानिर्देशकहरुको ५६ औं सम्मेलन हो । यस सम्मेलनमा भाग लिन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) प्रमुख डा. ओलुमोयीवा बनार्ड अल्यू समेत नेपाल आएका छन् ।

यस भेलामा ४ सय भन्दा बढी उच्च पदस्थ विदेशी पाहुना सहभागी हुने प्राधिकरणले जानकारी गराएको छ । सम्मेलनको प्रधानमन्त्री केपि शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

यस्तो सम्मेलन नेपालले तेस्रो पटक आयोजना गर्न लागेको हो । यसअघि सने १९७८ र १९९८ मा समेत नेपालले यो सम्मेलन आयोजनाको मौका पाएको थियो ।

करीव ६ करोड रुपैयाँ खर्च हुने सम्मेलनको आयोजक भने आइकाओ हुने गर्छ । सम्मेलन ५ दिनसम्म चल्ने भएको छ ।

सम्मेलनमा हवाई उद्योगमा एसिया प्रशान्त क्षेत्रका साझा समस्याका विषयमा छलफल हुने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका हवाई नियामक निकायका महानिर्देशक, युरोपियन युनियनको नियामक निकायका प्रमुख, अमेरिका, ब्रिटेन, फ्रान्सका नियामक निकायका प्रतिनिधि, जहाज निर्माता कम्पनी बोइङका प्रतिनिधिसमेत सम्मेलनमा सहभागी हुने प्राधिकरणले जानकारी दिएको छ ।

सम्मेलनमा ४३ देशमा प्रतिनिधि सहभागी हुने प्राधिकरणले जानकारी दिएको छ ।