रोचक खवर

हवाई सुरक्षासम्बन्धी कार्यक्रममा प्रधानमन्त्री भन्छन् : गैडालाई किन राइनो भनेको ?

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले नेपाली गैँडालाई अंग्रेजीमा राइनो भनिएकोतर्फ पुनः आपत्ति जनाएका छन् ।

एसिया प्यासिफिक क्षेत्रका हवाई क्षेत्रका नियामक निकायका प्रमुखहरुको सम्मेलनलाई सोमबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्रीले गैँडालाई गैँडा नै उच्चरण गर्न आग्रह गरे ।

“गैडाज आर गैडाज, नट राइनोज”, त्यसो त सगरमाथालाई माउण्ट एभरेष्ट भन्ने गरेकोतर्फ पनि प्रधानमन्त्रीको असन्तुष्टी थियो ।

नेपालमा सगरमाथा नै लोकप्रिय रहेको भन्दै सोही उच्चारण गरिदिन आग्रह गरे ।

हवाई सुरक्षा अभिवृद्धि गर्न सामूहिक प्रयासका सम्बन्धमा छलफल गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्रीले गैडा र सगरमाथाको चर्चा गर्दा भने अलि अशोभनिय देखिन्थ्यो ।

किनकी प्रधानमन्त्रीले हवाई सम्बन्धी कार्यक्रममा दोस्रो अन्तर्राष्टिय विमानस्थलको लगानी, बन्दै गरेका विमानस्थलमा उडानका लागि आह्वान गर्न भने चुके ।

सम्मेलनमा हवाई विज्ञ, नियामक निकायका उच्च अधिकारी तथा प्रतिनिधि सहभागी थिए । ४३ देशका ४ सय प्रतिनिधि नेपालमा रहेका छन् ।

उनीहरुबीच करीव ५ दर्जन कार्यपत्रमाथि छलफल हुनेछ । २३ अगस्ट सम्म चल्ने सम्मेलनबाट उठेका विषयलाई अन्तर्राष्टिय नागरिक उड्डयन संगठन (आइकाओ)को वार्षिक सम्मेलनमा एजेण्डका रुपमा लैजाने योजना रहेको छ ।

कार्यक्रममा भाग लिन आइकाओका काउन्सिल प्रेसिडेण्ट नै नेपाल आइपुगेका छन् । उनी सम्मेलनमा सहभागी सबैभन्दा उच्च तहका पाहुना हुन् ।