समाचार

बढ्दैछ दूधको भाउ

काठमाडौं । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । मूल्य बढाउने या नबढाउने भन्ने सम्बन्धमा सिफारिस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक कार्यदल गठन गरेको थियो ।

कार्यदलले आफ्नो प्रतिवेदन कृषि मन्त्री चक्रपाणी खनाललाई बुझाएको छ । कार्यदलले सोमबार मन्त्रीलाई प्रतिवेदन बुझाएको हो ।

मन्त्रालय स्रोतका अनुसार कार्यदलले दूघको मूल्य वृद्धि गर्न सिफारिस गरेको छ । यस कार्यदलको संयोजक दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तलाई तोकिएको थियो ।

कार्यदलले गरेको सिफारिस अनुसार वृद्धि हुने मूल्यको ६९ प्रतिशत दूघ उत्पादन गर्ने कृषक र ३१ प्रतिशत प्रशोधन गर्ने व्यवसायीले पाउने भएका छन् ।

सोहीकारण पनि उपभोक्ताबाट त्यति धेरै आलोचना भइरहेको छैन । आगामी दिनमा धेरै दूध उत्पादन हुने समयमा कम मूल्य र धेरै उत्पादन हुने समयमा बढी मूल्य कायम हुने गरी मूल्य निर्धारणको सिफारिस गरिएको छ ।

दूग्ध विकास संस्थानले मूल्य बढाउने सम्बन्धमा औपचारिक निर्णय लिनुपर्छ ।

तर, त्यसका लागि नियामक निकायका रुपमा कृषि मन्त्रालयको सिफारिस अनिवार्य हुन्छ ।

सोहीकारण मन्त्रालयले कार्यदल गठन गरी मूल्य समायोजनबारे अध्ययन गरेको हो ।