स्वास्थ्य

उपचारमा प्रधानमन्त्री पुनः सिंगापुर जाने, आज सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका सिलसिलामा पुनः सिंगापुर जाने भएका छन् ।

उनी आगामी बिहीबार सिंगापुरतर्फ जाने तय भएको हो । त्यसअगाडी प्रधानमन्त्रीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलिय बैठक आह्वान गरेका छन् ।

बालुवाटार स्रोतका अनुसार उनले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा आह्वान गरेका छन् ।

पछिल्लो समय प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर चासो बढिरहको छ । उनले पनि सार्वजनिक कार्यक्रमहरुमा आफ्नो स्वास्थ्य अवस्थाको बारेमा खुलेर बोलिरहेका छैनन् ।

संसदमा हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी र राजपा गरी ४ दलको प्रतिनिधित्व रहेको छ ।

प्रधानमन्त्री दुई साता अगाडी मात्र करीव ९ दिन सिंगापुर मै बसेर उपचार गरी घर फर्किएका थिए ।

तर, स्वास्थ्यमा लगातार समस्या देखिएपछि उनी पुनः विदेश जाने तयारीमा छने ।

नजिकिएको उपनिर्वाचन, सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगमा पदाधिकारीको नियुक्तिजस्ता विषय पनि सर्वदलिय बैठकको एजेन्ण्डा बन्न सक्ने बताइएको छ ।

यसबाहेक प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्था बारे दलहरुलाई जानकाररी समेत गराउन सक्छन् ।