समाचार

सुदूरपश्चिमको दशैं गौरा शुरु

काठमाडौं । सुदूरपश्चिमेलीका लागि दशैं जत्तिकै महत्वपूर्ण पर्व गौरा मंगलवारबाट सुरु भएको छ।

माता पार्वतीको सम्झानामा यो पर्व मनाउने प्रचलन रहेको छ । पौराणिक कालमा भगवान शिव महेश्वरलाई पाउन गौरी देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरेको किंवदन्ती रहेको छ ।

उनको तपश्याबाट शिवसँग विवाह भएको मान्यता अनुसार सोही समयदेखि शिव पार्वर्तीको पूजा आरधना गर्ने प्रचलन रहको छ ।

यो पर्व सुदूरपश्चिम भर पुरै र भारतका केही क्षेत्रमा समेत मनाउने गरिन्छ । उत्तराखण्डको, कुमाउँ प्रदेशमा गौरा विशेष महत्वका साथ मनाउने प्रचलन रहेको छ ।

भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म विभिन्न गतिविधिका साथ यो पर्व मनाउने प्रचलन रहेको छ ।

पहिलो दिन महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर घरघरमा पर्व थालनी हुने गरेको छ । महिला निराहार बस्छन् ।

गहुँ, केराउ, गहत, मास र गुरुसलाई बिरुडा भन्ने मान्यता रहेको छ । दोस्रो दिन सामूहिक रुपमा बिरुडालाई धुने गरिन्छ ।

त्यसका लागि नजिकको पानीको स्रोतमा पुग्ने गरिन्छ । सप्तमीमा भने गौरा देवी स्थापना गरि पुजा–अर्चना गरिन्छ ।

अष्टमीका दिन व्रतालु महिलाले खास विधिविधानपूर्व पूजा गर्छन् ।

बिरुडालाई यसै दिन प्रसादका रुपमा ग्रहण गरिन्छ र घर परिवारका सदस्यको टाउकोमा पुजने प्रचलन रहेको छ । यस पर्वका लागि देश विदेशमा रहेका आफन्त घर फर्कने प्रचलन हुन्छ ।