कला / साहित्य

कथा : बीच बाटोमा हराएकी सखी

प्रेमकृष्ण श्रेष्ठ

[email protected]

रात चकमन्न थियो । वीर अस्पतालको एउटा सर्जिकल वार्डबाट एउटा लास बाहिरियो । मलाई भयले छोयो । मैले पुलुक्क आमाको मुहार नियालेँ । आमा मस्त निद्रामा हुनुहुन्थ्यो । पत्रिका हेर्दाहेर्दै थकित भएर एकचोटि झ्यालतिर गएर बाहिर हेरेँ । त्यत्रो ठूलो शहरको चौडा सडकमा पनि गाडीहरुको नामोनिशान नदेखेर म छक्क परेँ । नाडीको घडी हेरेँ । एघार बजिसकेको रहेछ । फेरी कुर्सिमा आई बसेँ । कोठाभित्र असाध्यै गर्मी फैलिएको थियो । आमाले निद्रामै गर्मीको महसूस भएको देखाउनु भयो । आमाको शरीरबाट सिरेटोलाई हटाएर हातैको पत्रिकाले हम्काइदिएँ । नजाने आमालाई शीतलता प्राप्त भयो होला र लामो लामो सुस्केरामा विलीन हुनु भयो । मेरो चिनजान भएकी एउटी आइमाई पर छेउको एउटा कुनामा कुरुवा बसिरहेकी थिइन् । संयोगले हाम्रो आँखा जुधेर पुनः एकचोटि चार भए । उनले फेरी नचिनेझैँ मुण्टो बटारिन् । उनी मेरो उपस्थितिलाई कोही अपरिचितलाई झैँ गरी बेवास्ता गर्दै थिइन् । मैले यता अस्पतालमा पाइला हालेको पनि दुई साता भन्दा बेशी भइसकेको थियो । त्यतिखेरै देखि मैले उनलाई त्यहीँ देख्दै आइरहेको छु, कसैकी कुरुवा भएर बसिरहेकी । न मैले उनको नाउँ लिएर बोलाउन सकेँ, न उनी नै मसित केही शब्द बोल्न तत्पर रहिन् । उनीसित दुईचार शब्द कुरा गर्ने अभिलाषा पूरा हुन बाँकी नै थियो । त्यसैले यी आँखालाई उनको वर्षोदेखिको प्रतीक्षा थियो । त्यसैले होला, नहेरी बसुँ भन्दा पनि नसक्ने यी अप्जसी आँखा घरिघरि उडेर उनैतर्फ भाग्न खोज्छन् । तर, उनले न मेरा आँखाको भाषा बुझ्ने कोशिस नै गरिन्, न उत्सुकता नै देखाइन् । ती पराइ आँखा त्यही बेडको बिरामीको सेवामा तल्लीन रहेको देखिन्थ्यो । उनको एक हातमा छातीमा, अर्को हात बाया कुममा राख्न पाई बेडमा सुतिरहेको त्यो भाग्यमानी पक्कै उनको पतिदेव हुनुपर्छ भन्ने मनले पहिल्यै अडकल लगाइसकेको थियो ।

—‘डाक्टर साहेब अहिले कस्तो छ ?’

‘धेरै प्रोग्रेस भइसकेको छ । चाहे भोलि नै डिस्चार्ज गरेर घर लान सक्नु हुन्छ ।’

‘सुन्नु भो, डाक्टर साहेबको कुरा । तपाई त बाँच्दिन भनेर हरेस खानु हुन्थ्यो नि ।’

‘तिमी जस्ती सेविका पाइए त जो कोही पनि लामो आयु बाँच्दछन् ।’ 

‘भो, भो, उचाल्नु पर्दैन ।’ हाँस्छिन् ।

श्रीमानचाँहिले हातले बिछयौना देखाउँदै बसको इशारा दिँदै औँला मुखमा जोड्दै प्रेमको याचना राख्दछ ।

‘के ?’

‘खोई, हात देऊ त ।’

‘अँ ।’ मिठो हाँसो हाँसेर तर्किन खोज्छिन् ।  

त्यसपछाडि तिनीहरुमा मसिनो स्वरमा के के कुराहरु भए खै, दुबै पेट मिचिमिचि हाँस्न थाले । उनीहरुको हाँसोबाट मीठो सुगन्ध बहेर टाढा टाढा शहरका गल्लीहरु प्नि सुगन्धित झैँ लाग्दथ्यो ।

‘डाक्टर, डाक्टर ।’मेरो हडबडाएको स्वर सुनेर सँगैका नर्स र डाक्टरहरु पनि दौडेर आइपुगे । आमाको बिग्रन लागेको अवस्था देखेर तत्काल एउटा सुई दिन्छ । एउटा भलादमी डाक्टरले मेरो सामु आई आमालाई छिट्टै अप्रेसन गराउनु परेको कुरा बताए ।

—मृगौला दिने तिम्रो नजरमा कोही छ ? डाक्टरको प्रश्नलगतै मैले ‘म छु” भनी जवाफ दिएँ ।

—‘तिम्रो रिपोर्टअनुसार तिमीलाई मैले पहिले नै भनेको थिएँ । तिमीबाट यो हुन असम्भव छ । एक त तिम्रो एउटा मृगौला पहिले नै जीर्ण भइसकेको छ । बाँकी, दोस्रो मृगौला पनि लिएर तिम्रो ज्यान जोखिममा पार्न हामी चाहँदैनौँ । एक त तिम्रो बाँच्ने आशा धेरै कम हुन्छ । दोश्रो क्यै गरी बाँचिएछ भने पनि तिमीबाट सन्तानको अपेक्षा नराखे पनि हुन्छ ।’

—‘डाक्टर,  मबाट हुन सक्ने भए म जे गर्दा पनि तत्पर छु । मलाई जस्तो सुकै कष्ट भए पनि म सहन सक्छु तर, आमाको पीडा हेरिरहन म सक्दिनँ । मात्र मलाई मेरी आमा दिनोस् ।’

—‘तिम्रो त्यस्तै मर्जि छ भने कस्को के लाग्छ । तिमी एकचोटि मसित आउनु ।’

​जब म छ कक्षामा अध्ययन गर्दथेँ । एक नविन अनुहारलाई मैले आफ्नो पछिल्तिरको सीटमा बसिरहेकी देखेँ । उनी नयाँ भर्ना थिइन् । उनको त्यो पहिलो झलक पाएदेखि नै मैले हृदयको खाली स्थानमा उनलाई राखिसकेको थिएँ । उनको बारेमा धेरैथोरै जान्ने जिज्ञासु भएर पनि मुखले बोलेर कुरा गर्ने सामथ्र्य ममा नभएर नै होला, मैले उनलाई मौनप्रेम गर्न थालेँ । उनी मलाई चाहिन्छिन्, चाहन्दिनन् म बेखबर थिएँ । म मौनब्रती थिएँ, उनको प्रेममा । यता मेरो आफ्नो कक्षाका सबै सहपाठीहरुसित सामान्य बोलचाल थियो । तर, हामी बीच भने बोलचाल कहिले भएन । न हामी बीच कहिले कतै झैं–झगडा भएको थियो, न त्यस्तो कुनै उतारचढाव नै, बिनाकारण हामी निरपेक्ष भई बोल्न सकिरहेका थिएनौँ । त्यतिका वर्ष सँगसँगै पढेर पनि स्कुले जीवनको परिधिभित्र न मैले उनीसित एकवचन बोल्ने साहस नै गर्न सकेँ न उनले नै मसित बोल्ने साहस गर्न सकिन् । उनीप्रतिको गहिरो झुकाबले मैले उनलाई कहिल्यै शीर ठाडो पारेर हेर्न सकेको थिइनँ । मेरो निहुरेको मुण्टोलाई अदेख गर्दै उनी हिँडथिन् । जुन तामासाले हामीबीच कुनै कलह–कलङ्कबिना नै बोलचाल रोकिएको थियो ।

समय बितेर एसएलसी परीक्षा उत्तीर्ण भएर पनि अरु तीन वर्ष हुर्किसकेको थियो । एक साथीको सल्लाहअनुसार सहमति जनाई हामी पुराना साथीहरुको स्मरणमा कक्षा दशका सम्पूर्ण साथीहरु पिकनिक गएका थियौँ । संयोगले भनुँ कि दैवको कृपाले, चिठ्ठाको गोलाप्रथा हुँदा मलाई मदनको, उनलाई मुनाको एउटा स्यानो भुमिका पर्न आए । हाम्रो पाइला अघि सरेन । उनी सर्माइरहिन् । साथीहरुको करले हामी बाध्य भयौँ । उनले नअन्कनी मेरो खुट्टामा छोइन् । मैले पनि अलिक झुकेर उनका काँधमा आफ्ना हात राखेर विस्तारै उचाल्दै आँखा जुधाएँ । उनले तृषित नजर ममा बिछयाइरहिन् । मैले पनि उनको मायालु अनुहार नियालिरहेँ । उनले केही अवरोध जनाइनन् । बरु स्त्रीशुलभ लाजका बिन्दुहरु मोतीझैँ गालामा टल्किँदा उनले शीर नट गरिरहेको त्यो क्षण सम्झिँदा लाग्छ, म यस धर्तीको नभई स्वर्गको कुनै पुष्पवाटिकाको घटना सम्झिरहेको छु । त्यही बेलादेखि बडो आकस्मिक ढङ्गले उनको र मेरो बोलचाल रहन गयो । नजानी हामीबीच स्वतः मायाको बिरुवा अकुंरण हुन थाल्यो । कसैले कसैलाई रिझाउन परेन । उनी त्यो बिरुवामा जलशेचन गर्थिन्, गोडमेल गर्थिन्, म बिरुवाको खनजोत गर्थे । बिरुवामा नयाँ उमङ्ग र जोशका पालुवाहरु पलाउँदै थियो । हामीले एक अर्कोलाई निकै समीप पाइसकेका थियौँ । लुकिछिपी गरेका ती प्रितालु भेटहरुमा चेवाचर्चा गर्नेहरुले देखे देखेनन्, हामी छहारीको मुनि शीतलता खोजिरहेका हुन्थ्यौँ । झरणाको चिसो पानीमा जिस्किरहेका हुन्थ्यौँ । गङ्गाजलको निर्मल पानीसँगै पातमा लेपटिएर बगिरहेका हुन्थ्यौँ । पडाडको कन्दरामा दुनियालाई भुलेर एक अर्कोको बाहुमा निदाइरहेका हुन्थ्यौँ । रातको सामना गर्न अँधेरतालाई कुल्चेर जूनलाई हेरी जागा रहन्थ्यौ, समयको पर्खाइमा ।

​एकदिनको कुरा हो । म उनलाई लिएर मोटरसाइकलमा दक्षिणकाली गइरहेको थिएँ । मोडमा देखिएको एउटा ट्रकलाई छलाउँदा हामी मोटरसाइकलबाट नराम्रोसँग पछारियौँ । दुबैमा त्यति ठूला घाउहरु नदेखिएता पनि मेरो पेटको तल्लो भागमा नराम्रोसँग गहिरै चोट लागेको मैले महसूस गरेँ । त्यो दिन हामी मन्दिर नै नगई घर फर्क्यौ । घर पुगिसकेपछि पीडा पनि कम भइसकेको थियो । त्यस्को त्यति वास्ता नै गरिएन । दिन त्यतिकै बित्दै थिए । पछि गएर फेरि पेटको दुखाइ शुरु हुन थाल्यो । मैले कसैलाई पनि थाहाँ नदिई डाक्टरलाई जचाएँ । डाक्टरले मलाई अस्पताल भर्ना हुन सल्लाह दिनुभयो । म घरबाट मामाघर जान्छु भनी हस्पितलमा भर्ना हुन गएँ । डाक्टरको रायअनुसार मेरो मृर्गोलाको शल्यक्रिया हुन जरुरी थियो । तर, मलाई डर लाग्यो । यत्रो ठूलो शल्यक्रिया, फेरि घरका कसैलाई थाहै नदिई कसरी गराउने, फेरि त्यत्रो खर्च लाग्ने । बरु डाक्टरले दिएको ओखती खाँदै गरुँला, एउटा मृर्गोला भए पनि बाँच्न त सकिहाल्ला नि भन्ने विचारले म हस्पितलबाट भागेर आएँ । ओखती सेवनले दुखाइ त कम हुँदै गए तर पछिको समस्यालाई विचार गरिनँ ।

​एकदिन मलाई आमाले मन्दिरमा लिएर जानुभयो । खासै अचम्मै लागे पनि आमाले जिद्दी गरी लानाले मलाई राम्रो लागिरहेको थिएन । मन्दिरमा पुगे पछि थाहा पनि पाएँ, विवश पनि भएँ, देवतालाई साक्षी राखी उनीसित कहिले नबोल्नलाई । आमा जातपातको कट्टर पक्षपाती हुनुहुन्थ्यो । त्यसमाथि मेरो र उनको त्यो अन्तरले आमा सहिनसक्नु बन्नु भएको थियो । यदि मैले त्यसो नगरेमा आमाले आफै मर्ने धम्की दिनुभयो । आमा भने नि, बाबु भने नि, मात्र मेरी आमा एक हुनुहुन्थ्यो, जस्ले घामपानी नभनी अनेक कष्ट गरी मलाई हुर्काउनु भयो । प्रेमले छुँदा दुध बग्ने हातमा ठेला बोेकेर, बसन्त छँदा फूल फुल्ने छातीमा ढुङ्गा बोकेर, कठोर यातना गरी आफू खाई नखाई मलाई हुर्की बढाएकी मेरी आमा मेरो प्राण भन्दा प्यारो थियो । त्यसैले पनि आमाको कुनै वचन नाइनास्ती गर्न मैले सकिरहेको थिइनँ । म आमाले दिनु भएको हरवचन, चाहे त्यो मेरो लागि कटु नै किन नहोस्, अमृत सम्झेर हाँसेर पिउँदै आइरहेको थिएँ । आमाको शरीरलाई चितामा सजाइएर आफू प्रेम–मार्गमा फूल टिप्दै हिँड्न मलाई आमाको ममताले दिएन । बरु आफू एकान्तमा रुँदै हिँड्नु परेता पनि आमाको खुसी र हाँसोमा नै बाँचिदिने अठोत गरेँ । त्यसपछाडिका दिनहरु म उनको अदेखमा टाढै रहेर लुकिछिपी हिँड्न थालेँ । उनी मेरो खोजीमा हिँड्न थालिन् । संसारमा खोजी गरे नभेटिने वस्तु के नै छ । एकदिन मलाई समाएर उनले टाढिनुको कारण जान्न खोजिन् । मैले ढाँटेर उनको प्रेममा सन्तुष्ट नभएको कुरा बताएँ ।

‘तिमीले मेरो वास्तविक प्रेमलाई लत्याइ दियौ । तिमी मेरो प्रेमको हत्यारा हौ । तिमीलाई यस्को सजाय प्रेम देवटाले जरुर दिनेछ ।’ त्यति भन्दै उनी रुँदै गइन् । ममा पनि थाम्न सक्ने धैर्यको बाँध टुटयो र पानीको फोहडा तुरुन्त ताल बनी आँखामा भरिआए तर उनले फर्केर हेरिनन् । त्यो दिनदेखि उनले मैले हिँड्ने गोरेटोमा पाइला टेकेको पनि देखिनँ । लगत्तै एक महिनपश्चात् आमाले मलाई उतै पढने सब बन्दोवस्त मिलाएर मामा– माइजूका साथ विराटनगर पठाउनु भयो । बिराटनगरमा दुई वर्ष बसिसकेपछि आमा बिरामी भएको खबर पाएर पुनः म काठमाडौँ फर्केको थिएँ ।

‘सुत्नोस् । रात धेरै छिपी सक्यो । भोलि त घर फर्कनु छ ।’ उनको ओठमा विषादको कुनै चिह्र थिएन । ईश्वरका हाँसो पाएका फूलझैँ मोहिनी गाला खुसीले ढकमक्क फुलेका थिए । किन हो कुन्नि, उनको खुसीमा मलाई निकै आनन्द मिलिरहेको थियो । आमा होसमा आएको बेला निधारमा हात राख्दै बोलेँ, ‘आमालाई अहिले कस्तो छ ?’

‘विषेकै छु । यता आऊ । अरु नजिक आऊ । मेरो निकट भएर बस । हठ्ठी स्वभावको छौ । न कसैले भनेको टेर्छौ । हेर कति दुब्लाइसक्यौ । खाजा खाइसक्यौ त ?’

‘खाइसकेँ ।’

‘अब के विचार छ त ? बिवाह नगर्ने पक्षमा नै छौ के ? बिहे गर भन्दा मान्दैनौ । तिमी यति हठ्ठी र अकड भएर निस्कौला भनेर मैले सपनामा पनि चिताएकी थिइनँ । जस्तो सोचिएन, त्यस्तै भइयो । अव बितिसकेको कुरालाई मात्र सम्झेर केही फाइदा हुँदैन । बरु आफूलाई मन पर्ने कोही छ भने भन, म राजी हुँला । कति दिन तेरै मुख हेरेर बाँच्ने, नातिलाई खेलाउने त मन थियो नै, तर भाग्यले कतिञ्जेलसम्म साथ दिने हो, खोई ?’

‘तर, आमा… !

‘तर… सर… होइन, अब मलाई जातको मतलब छैन । खालि नेपाली भए पुग्छ । तिमीलाई खुसी राख्ने, माया गर्ने, काखमा सुताउने, त्यति भए पुग्छ ।’

​ढिला भए पनि आमाले दिनु भएको जवाफ मलाई अति प्यारो लाग्यो । मेरो जीवनमा एक समय बहार बनी आएकी मेरी सखी आफ्नो पतिदेवको गोडा समाइ एकटक्कले मतिर हेरिरहेकी थिइन्, जस्लाई मैले बीच बाटैमा हराएको थिएँ । अघिसम्म खुसीले ढकमक्क फुलेका उनका ओठबाट हाँसो चटक्कै बिलाइसकेको थियो । सायद हाँस्ने मेरो पालो थियो । म आमाले भन्नु भएको वचन सम्झी झ्यालबाट आकासतिर हेरी मुसुक्क हाँसे ।