समाचार

मेलम्चीको नयाँ ठेक्का लाग्यो, कहिले आउँछ काठमाडौंमा पानी ?

काठमाडौं । इटालियन ठेकदार सीएमसी पुरै काम सम्पन्न नगरी भागेपछि बन्द रहको गौरवको आयोजना मेलम्ची खानेपानीको सम्पन्न हुन बाँकि कामका लागि ठेक्काको टुंगो लागेको छ ।

आयोजनाका अनुसार अब यो काम चिनियाँ कम्पनी सिनो हाइड्रोले गर्ने भएको छ । माथिल्लो तामाकोशीको काम फटाफट गरेर नाम कमाएको यो कम्पनीले अन्य धेरै जलविद्युत आयोजनाको पनि ठेक्का पाएको छ ।

मेलम्ची खानेपानी आयोजनाले दुई वटा प्याकेज विभाजन गरी ठेक्का लगाएकोमा तर, दुबै ठेक्का सिनोकै पोल्टामा परेको हो ।

त्यसो त मेलम्चीको शुरुमै ठेक्का लगाउँदा सीएमसीभन्दा पछाडी सिनो थियो । सबैभन्दा कम मूल्य कबोल गरेका कम्पनीमध्ये सिनो छनोट भएको हो ।
आयोजनाको मूख्य काममा सीनो आएपनि अन्य ससाना काम भने स्थानीय पुरानै ठेकेदारबाट काम भएरहेको छ ।

ठूलो काम अन्तर्गत पानी थुन्ने इन्टेक संरचना, पहुँच मार्ग, कफर ड्याम डिजाइन र निर्माण, पहुँचमार्गमा स्टिल ब्रीज निर्माणजस्ता काम गर्नुपर्छ ।

सुरुङमार्गमा भने सुरुङको अन्तिमको काम र संरचना, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङको काम सकाउन बाँकि छ ।

सबै तयारीको काम सक्न पनि अझै डेढ वर्ष कम्तिमा लाग्ने देखिएको छ । किनकी आयोजनाले बोलपत्र माग्दा नै हेडवर्कको काम १५ महिना र सुरुङको काम १२ महिनामा सक्ने गरी मागेको थियो ।

सरकारले चालु आवमा ७ अर्ब ३९ करोड बजेट मेलम्चीका लागि छुट्याएको छ । त्यसकारण पनि काठमाडौंमा अझै डेढ वर्ष मेलम्चीको पानी पिउन पाउने सम्भवना देखिदैन ।