समाचार

रवि लामिछाने अझै ५ दिन प्रहरी हिरासतमा

चितवन । पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका टिभि प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई जिल्ला अदालत चितवनले थप पाँच दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ।

जिल्ला अदालतले मंगलबार थप ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

बयान नसकिएका कारण उनीहरुलाई हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न आदेश दिएको हो।

उनीहरुलाई ३० साउनमा पक्राउ गरिएको थियो । त्यसपछि अदालतले ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

त्यसको म्याद सोमबार सकिएको थियो । त्यसपछि मंगलबार तीनै जनालाई म्याद थपका लागि अदालत लगिएको थियो ।

उनीहरुविरुद्ध आत्महत्यका लागि दुरुत्साहनको अभियोगमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पत्रकार पुडासैनीले चितवन पुगेर आत्महत्या गर्नुअघि बनाएको भिडियोमा यी तीन जनालाई आत्महत्याको मूख्य कारण मानेका छन् ।

त्यसपछि पुडासैनीको परिवारले तीनै जना विरुद्ध किटानी जाहेरी समेत दिइसकेको छ । टीभी प्रस्तोता लामिछाने सिधा कुरा जनतासँग नामक कार्यक्रमका संचालक हुन ।