Epapers :

21-Sep-2019 | ४ आश्विन २०७६, शनिबार

चाडकाे मर्मानुसार प्रेम दिवसका रुपमा मनाआैं हरितालिका तीज

४ भाद्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


सुपेन्द्र बस्नेत/ बोष्टन

हरेक बर्ष झै यस बर्ष पनि हिन्दु महिलाहरुकाे महान चाडका रुपमा चिर परिचित “हरितालिका तीज” नजिकिदै आएका कारण  यति बेला गाँऊदेखि शहरसम्म, देशदेखि बिदेशसम्मका नेपाली समुदायमा उल्लास तथा उमंग छाइरहेकाे छ । महिलादेखि पुरुषसम्म भुरादेखि बुढासम्म सबैलाई  तीजले प्रत्यक्ष अप्रत्क्ष रुपमा छाेई सकेकाे छ । उसाे त मुख्य गरी धार्मिक क्रियाकलापमा केन्द्रित भएर धार्मिक परमपरा अनुसार मनाइने याे पर्वकाे दायरा दिन प्रति दिन फराकिलाे बन्दै गईरहेकाे छ । यस बर्षकाे तीज पनि नजिकिदै गर्दा महिलाहरु आफ्नाे महान चाड भब्यताका साथ मनाउन आवश्यक तयारीका लागि कम्मर कसेर जुटी सकेका छन् । केही समाजिक तथा राजनीतिक संघसंस्था तथा समुहहरुले एक महिना अघिदेखि नै सांगितिक कार्यक्रम सहितकाे सामुहिक दर खाने कार्यक्रम गरी तीज मनाउन  सुरु गरिसकेका छन् । हिन्दु धार्मिक ग्रन्थ अनुसार पार्वतीले निराहार ब्रत बसी पूजा अर्चना सहित तपस्या गरेर भगवान शिव जस्ताे हाेनाहार याेग्य बर पाएकाे बिश्बास गरिन्छ ।  यसै धार्मिक मान्यतालाई बिश्वास गर्दै हिन्दु धर्मावलम्बी महिलाहरुले बिबाहित भए पतिकाे सुस्वास्थ्य, दिर्घायु र उत्तराेत्तर प्रगतिकाे कामना सहित सुखद् दाम्पत्य जीवनकाे र अबिबाहित भए भगवान शिव जस्तै याेग्य बर पाँऊ भनी  भगवानकाे पूजा, अर्चना, स्तुती र प्रार्थना गरी याे चाड मनाउने गरिन्छ ।  प्रार्थनाबाट भगवान खुसी भई आशिर्बाद दिने र मनाेकामना पुरा भई जीवन सुखमय हुने धार्मिक विश्वासका आधारमा मनाउन सुरु गरिएकाे याे चाड, समयसगै समाज परिवर्तनमा प्रभाव पार्ने बिभिन्न कारक तत्वहरुका कारण  समाजमा शैक्षिक, आर्थिक, राजनितिक लगायत क्षेत्रमा भएकाे परिवर्तले प्रभावित हुदै गइरहेकाे छ । जसले गर्दा याे चाडमा गरिने क्रियाकलापहरु र यसकाे महत्वमा पनि विविधता आएकाे छ । पहिला धार्मिक क्रियाकलापहरुमा मात्र सिमित याे चाडलाई  बिस्तारै बिबाहित महिलाकाे जन्म र कर्म घरकाे महत्व दर्शाउने सेतुकाे रुपमा उपयाेग हुदै सामाजिक परिवर्तनका लागि महिलाकाे दु:ख पिडा, अधिकार र राजनैतिक परिवर्तकाे वकालत गर्ने  एक महायज्ञ कै  रुपमा पनि उपयाेग गरियाे। जसले अझै पनि धेर थाेर निरन्तरता पाइनै रहेकाे छ । केही बर्ष अघी देखि    यस चाडकाे दायरा झनै फराकिलाे हुदै गएकाे  छ । महिनाै अघिबाट चाडकाे नाममा मनाेरञ्जनका लागि साँगितिक कार्यक्रम र जाेर जुलुम गरेर हैसियत प्रदर्शन गर्ने तिर बढी केन्द्रिकृत हुदै जादा चाडकाे धार्मिक मर्म र महत्व छायाँमा पर्दै गइरहेकाे जग जाहेर नै छ । यस चाडलाई समय,काल र परिस्थिति अनुसार सामाजिक परिवर्तनका लागि उत्सव र अवसरका रुपमा सदुपयाेग गरिनु पक्कै पनि सकारात्मक कुरा हाे तर परिवर्तन कै नाममा चाडकाे मर्म नै मर्ने गरी सामाजिक तथा धार्मिक आस्था, बिश्वास, रितिरिवाज, परम्परा आदिमा रहेकाे महत्वपूर्ण  सकारात्कम र अमुल्य पक्ष नै छाँयामा पारिनु वा मारिदै जानु  पक्कै पनि दुखद् र चिन्ताकाे बिषय हाे । हिजाे आज हरितालिका तीज मनाउने तवर तरिका र हुने क्रियाकलापहरुकाे कारण  चाडकाे मर्म नै मर्दै गएकाे यथार्थलाई नकार्न सकिन्न । सामाजिक परिवर्तनका नाममा परिमार्जित र परिस्कृत तरिकाले चाड मनाएर चाडकाे मर्मलाई ब्यवास्था गरिदा सामाजिक बिकृति पनि प्रसस्तै उब्जिरहेका छन् । हरितालिका तीजकाे महत्व आज जे जति छ त्याे धार्मिक आस्था र विश्वासकै कारण भएकाे हाे भन्नेमा दुईमत छैन। तर त्यही धार्मिक आस्था र विश्वासलाई नै आेझेलमा पारेर समृद्ध समाजकाे सृजना हुन्छ भन्ने विश्वास गर्नु बुद्धिमानी कदाचित हाेइन। नेपालकाे सबल पक्ष र नेपाललाई समृद्ध बनाउने मुख्य आधार भनेकाे  नै देशमा रहेकाे बिभिन्न चाड पर्व, भाषा, जात जाति ,धर्म संस्कृति, धार्मिक सहिष्णुता, परम्परा, रितिरिवाज, भेषभुषा नै हुन् । त्यसैले यसलाई जाेगाई राखेर यसकाे प्रवर्द्धन गरी विश्वका पर्यटकहरुलाई आकर्षित गर्न सक्नु पर्दछ नेपालले । तर बिडम्बना सामाजिक परिवर्तन र आधुनिकताकाे नाममा यस्ता माैलिक र अमुल्य नेपाली चाड पर्वहरुकाे मुल मर्म नै मर्दै जादै छन् भन्ने कुराकाे ज्वलन्त उदाहरण बन्दै छ हरितालिका तीज । महिला अधिकार, महिला हिंसा बिरुद्धकाे अभियान, महिला शसक्तिकरणका नाममा गरिने कार्यक्रमहरुले याे चाडकाे मर्म आेझेलमा पर्दै गईरहेकाे छ । तर तीजकाे महत्व  जीवन्त राख्ने नाममा  गरिने धार्मिक क्रियाकलापहरु भने कर्मकाण्डी र आैपचारिकतामा मात्र सिमित हुदै गईरहेकाे छ । लाेकारकृतिका लागि मन्दिर धाएर शिवकाे पूजा, अर्चना र स्तुति गाऊँदैमा धर्म हुदैन र चाडकाे मर्म बच्दैन । सच्चा धर्म त सच्चा कर्मले मात्र प्राप्त गर्न सकिन्छ । श्रीमान् श्रीमती, प्रेमीप्रेमिका बिचकाे सुमधुर सम्बन्ध, सत्य  प्रेम, भुमिका, दायित्व, समर्पण, त्याग तथा प्राप्तिकाे प्रतीक हाे हरीतालिका तीज । यही हाे यस चाडकाे मुल मर्म पनि । यसैमा केन्द्रिकृत गरिनु पर्दछ यस चाडलाई । तर त्यसाे हुन सकिरहेकाे देखिदैन।जसकाे मनग्य उदाहरणहरु देख्न र सुन्न पाईन्छ हिजाे आज तीजलाई लक्षित गरि आयाेजना गरिएका कार्यक्रमहरुमा । तीजलाई लक्षित गरी तयार भएका केही गितहरु बाहेक अधिकांसले मनाेरञ्जनका नाममा गाईजात्रा नै प्रस्तुत गरिरहेका देखिन्छ । यसले महिला र पुरुष बिचकाे  खाडललाई दिगाे रुपमा पुर्न कदाचित सक्दैन । पुरुषकाे सक्रिय सहभागिता र अग्रणी भुमिका बिना महिलाकाे यथाेचित उत्थान हुन सक्दैन र समृद्धि प्राप्त गर्न सकिन्न । त्यसका लागि महिलाप्रति पुरुष र पुरुषप्रति महिला सकारात्मक हुनै पर्दछ र समृद्ध समाजकाे सृजनाकाे निम्ति संयुक्त अभियानकाे खाँचाे छ । सकारात्मक साेच, सकारात्मक काम र सकारात्मक परिणाम् । त्यसैले याे अवसरमा चाडकाे सकारात्मक पक्षकाे वकालतलाई प्राथमिकता दिइनु पर्दछ । हिजाे आजकाे परिवर्तित अवस्थामा हुँदा खानेकाे नभई  हुने खानेकाे चाडकाे रुपमा आफ्नाे परिचय बनाउदै गइरहेकाे छ – याे चाडले ।

तीजकाे अवसरमा जे जस्ताे गरेर भए पनि आफ्नाे आर्थिक र सामाजिक हैसियत अरुकाे भन्दा उच्च रहेकाे प्रमाणित गर्न प्रयाेग गरिने महंगाे कपडा र आभुषणकाे प्रयाेगमा आएकाे प्रतिस्पर्दाले धनी र गरिब महिलाहरु बीचकाे खाडल झन झन बढ्दै गईरहेकाे छ । महिनाै अघिदेखि चाडका नाममा हाेटल, रेष्टुरेन्ट, पिकनिक स्थल लगायत स्थानहरुमा विभिन्न खाले कार्यक्रमहरु सहित सामुहिक दर खाने चलनले तीज निकै खर्चिलाे र भडकिलाे बन्दै गईरहेकाे छ ।जसले गर्दा धार्मिक, साँस्कृतिक तथा परम्परागत् “दर” काे शाब्दिक अर्थ र मुल मर्म नै मर्दै गइरहेकाे छ ।  यसकाे असर सहरमा मात्र हैन गाँऊमा पनि परिरहेकाे छ । देशमा मात्र हैन परदेशमा रहेका नेपालीहरुमा पनि परिरहेकाे छ ।   सामुहिक रुपमा चाड मनाउनु एकताकाे गतिलाे उदाहरण त हाे तर याे एकता हुने सुमधुर अवसरलाई बुद्धिमता पुर्वक उपयाेग नगरे हुने खानेका आडब्बरी क्रियाकलापहरुले गर्दा हुँदा खानेहरुलाई झन हिनता बाेध  गराउन सक्छ र हुँदा खाने र हुने खानेका बीच ध्रुबिकरण हुन सक्छ ।यी र यस्ता देखिएका अनेक आधारहरुलाई बिश्लेषण गर्दा  यस्तै परिस्थतिले प्राथमिकता पाउदै जाने हाे भने केही बर्ष भित्रै हुने खाने र हुँदा खाने महिलाहरुकाे युद्ध केन्द्रित चाड बन्छ याे “तीज” भन्ने अनुमान गर्न गाह्राे छैन । यस्ता गतिविधिहरुले धार्मिक क्षेत्रमा मात्र हैन समाजका हरेक क्षेत्रमा असर पार्दछ । महिला अधिकारका पक्षमा वकालत गर्न, मनाेरञ्जन गर्न, आफ्नाे उच्च हैसियत प्रदर्शन गर्न महत्वपूर्ण  धार्मिक तथा  पुजनीय प्रेमकाे संदेश बाेकेकाे यही चाडलाई नै पर्खिरहनु पर्दैन । अरु दिनहरुमा पनि गर्न सकिन्छ । 

त्यसैले याे पर्व मनाउदा सबैकाे समान हैसियत,समान इज्जत ,समान अधिकार र समान दायित्वकाे सुनिश्चितता हुने गरी मनाउनु अपरिहार्य छ । सारमा भन्नु पर्दा मुख्य गरी चाडकाे मुख्य मर्मकाे संरक्षण र संबर्द्धन गर्दै चाडकाे सकारात्मक पक्षलाई समय, काल, परिस्थति अनुसार  सामाजिक परिवर्तनका लागि उपयाेग गरिनु पर्दछ । संसार प्रेममय छ । प्रेम बिनाकाे जीवन अर्थहीन  छ । प्रेम नै साँचाे अर्थमा मानव कर्म र धर्म हाे । साँचाे प्रेममा सत्यता, धैर्यता, लगनशिलता, निरन्तरता, एकाग्रता, विश्वश्नियता, इमानदारिता, जिम्मेवारी, अधिकार, समर्परण, प्राप्ति, त्याग आदि महत्वपूर्ण कारक तत्वहरु अपरिहार्य हुन्छन् । यही नै हाे याे चाडकाे सुन्दर पक्ष, मुल मर्म र  मुल संदेश पनि ।  यसैमा केन्द्रिकृत भएर मनाउनु पर्दछ याे चाड । चाड मनाउदा सबै सचेत, एकबद्ध र प्रतिबद्ध हुनु जरुरी छ । अन्तमा, यस चाडलाई चाडकाे मर्म अनुसार नै  “प्रेम दिवस”काे रुपमा मनाआैं। सच्चा प्रेमकाे संदेश दिन सकाेस् याे चाडले । यस बर्षकाे तीज सुखद् र उल्लासमय बनाेस् ॥

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार