बिचार

किन सुन्दैनन् प्रचण्डले कान्छाबहादुर ?

पुरुषोत्तम लम्साल / हाल अमेरिका

एउटा परिचय पत्र छ । परिचय पत्रको दायाँ किनारामा अध्यक्ष तथा सर्वोच्च कमाण्डर लेखिएको अक्षरमाथि बर्दीधारी प्रचण्डको तस्वीर छ । परिचय जनमुक्ति सेना नेपाल तेस्रो डिभिजनको कार्यालयले बनाएको छ । परिचय पत्रवाहकको नाम हो शक्ति गुरुङ । जनमुक्ति सेनाको सेक्सन कमाण्डरको हैसियतमा रहेका उनलाई पार्टीले दिएको टेक नाम हो क. बिद्रोह । पूर्णतः खारेज भइसकेको प्रचण्डपथसँग माक्र्सवाद लेनिनवाद र माओवाद टिपोट गरिएको उक्त कार्डका बाहक व्यक्ति अहिले कारागारमा छन् । अभियोग चाँहि सेनाबाट भागेर माओवादी भएको । उनीविरुद्ध १० वर्षको कारावास सजाय सुनाइएको छ । र, शक्ति गुरुङलाई आधार बनाएर अब धेरै जेल जाने हौवा पिटाउने खेलमा धेरैले रमाइलो लिन थालेका छन् ।

संसद्मा कसले कति हल्ला गर्छन् अलग कुरा तर मसिनो स्वरमा गम्भीर कुरा चाँहि कमैले गर्छन् । यसमध्ये एक जना छन् माओवादी पृष्ठभूमिका नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका प्रमुख सचेतक समेत रहेका देव गुरुंग । उनले दुई महिनाअघि (असार १ गते) ‘नेपालको शान्ति प्रक्रिया र संक्रमणकाल निश्कर्षमा पुग्न नदिन देशी प्रतिक्रियावादी र बिदेशी शक्तिकेन्द्र लागिपरेको’ ‘तथ्यमा आधारित’ दावी गरे । उनको भनाई थियो, ‘द्न्द्वकालीन मुद्दा देखाएर नेपालमा बिदेशी सेना (हस्तक्षेप ?) भित्र्याउने खेल हुँदैछ ।’ उनले थपेका थिए, ‘बिदेशी शक्तिले नेपालको शान्तिप्रक्रियाका मुद्दाहरु अड्काइरहेका छन् ।’

गुरुङको दावी कूटनीतिक नियोगको आवरणमा राजनीति गरिरहेका राजदूतहरु ( ९देशका राजदूत), तिनकै लगानी (फण्डिङ)बाट गैरसरकारी धन्दा चलाइरहेका नेपाली सभ्रान्त बर्ग र तिनैको लिखत प्रतिवेदन आधार बनाएर नेपालको संक्रमणकालीन न्याय उछाल्न लागिपरेको राष्ट्रसंघीय निकाय (विज्ञप्ती) समेतको सन्दर्भमा थियो । नाम तोक्न गुरुङले जति जिब्रो चबाए पनि समय र सन्दर्भले त्यसैलाई स्पष्ट पारिरहेकै थियो ।

उनै सचेतक देव गुरुङले दुई महिनापछि (भदौ १) सुन्नेलाई हलुका तर बुझ्नेलाई पेचिलो मुद्दा संसद्मा पुनः उठान गरे । मुद्दा थियो ‘संविधानसँग बाझिएको सैनिक ऐनका केही दफा खारेज’बारे । सन्दर्भ चाँहि तात्कालीन शाही नेपाली सेनाबाट बिद्रोह गरी विद्रोही माओवादीले गठन गरेको जनमुक्ति सेनामा प्रवेश गरेकाहरुविरुद्ध भइरहेको अदालती फैसलाको क्रमिकता थियो । नभने पनि गुरुङको अनुमान सेना र सर्वोच्च अदालतबीचको ‘शंकास्पद साँठगाँठ’तिर थियो । सैनिक अदालतले गरेको फैसला सर्वोच्च अदालतबाट भटाभट सदर हुन थालेपछि गुरुङ ‘झल्याँस्स ब्यूझिएको’ भान हुन्थ्यो ।

बालकृष्ण ढुंगेल प्रकरणमा उछालकुद गर्ने एउटा बर्गले काभ्रेका अर्जुन लामाको प्रकरणमा प्रचण्डका अति नजिकका ठानिएका अग्नी सापकोटालाई मुछेर शुरु गरेको चलखेलले सचेतक देव गुरुङको मनमा चिसो पसेको बुझ्न गाह्रो पर्दैन ।

देव गुरुङ उर्फ कान्छाबहादुर । माओवादीतर्फको टेक नाम कान्छाबहादुर अर्थात् देव गुरुङ । उनी झल्याँस्स हुनुको पनि कारण छ । कुनैबेला माओवादीले राज्यसत्ताविरुद्ध ‘रणनीतिक प्रत्याक्रमण’को घोषणा गरेको थियो । र, नीति थियो ‘ढाडमा टेकेर टाउकोमा हान्ने ।’ यो समयमा गण्डक ब्यूरो इञ्चार्ज थिए उनी । र, उनै कान्छाबहादुरले चितवनको कान्दास्थित दुर्गम चेपांग बस्तीमा पुगेको माओवादी लडाकूको आक्रमणकारी दस्तालाई अन्तिम राजनीतिक तथा बैचारिक प्रशिक्षण दिएको चार दिनपछि बहूचर्चित कृष्णभीर भीडन्त भयो । त्यही भीडन्त जुन पहिलोपटक नेपाली भाषाको टेलिभिजनमा लाइभ कास्ट बराबर भएको थियो । त्यही भीडन्त जसमा तात्कालीन शाही नेपाली सेना दिनदहाडै हारेको थियो ।

यहाँ कृष्णभीर आक्रमण जोड्नुको मुख्य तीन कारण छन् । पहिलो, कृष्णभीर आक्रमणको मोर्चाको राजनीतिक जिम्मेवारी देव गुरुङ उर्फ कान्छाबहादुरको थियो । उनी नै प्रमुख अतिथि बसेर क्रियान्वयनमा पुगेको यो मोर्चालाई आक्रमणको बाटो खोल्न सजिलो बनाउने काम गरेका थिए माओवादीका तात्कालीन जिल्ला ईञ्चार्ज पुष्पविक्रम मल्ल उर्फ सिंह जो पछि संविधानसभा सदस्य पनि भए । दिनदहाडै, त्यो पनि शत्रु सेनालाई मैदानमा बोलाएर भएको यो आक्रमणको चरित्र र प्रकृति एकाएक अन्तर्राष्ट्रियकरण भएको थियो ।

दोस्रो कारण, फौजी कारबाहीका कमाण्डर यमबहादुर अधिकारी उर्फ प्रतीक्षा । त्यो बेला उनी थिए बासु स्मृति चौथो ब्रिगेडको कमाण्डर । यी उनै प्रतीक्षा हुन् जो अहिले नेपाली सेनाको फूल कर्णेल छन् । तारे कर्णेल अर्थात् महासेनानी । सेनाको गजुरी क्याम्प (ब्यारेक)बाट घेरा तोडेर हत्कडीसहित भागेका माओवादी लडाकू प्रतीक्षाले त्यहींको सेनालाई गुरिल्ला युद्धबाट पछारेर कीर्तिमान बनाए र रणनीतिक प्रत्यकक्रमणको चरणलाई उर्जा भर्ने काम गरे । अर्थात् कृष्णभीर आक्रमणका कमाण्डर यमबहादुर अधिकारी उर्फ प्रतीक्षा ।

झण्डै एक दर्जन सेनाको हताहती र ७ जना सेनासहित दर्जनौं आधुनिक हतियार कब्जामा लिएर सकुशल आधार शिविर पुग्ने यिनै प्रतीक्षा पुनः त्यही शाही नेपाली सेना (पछि मात्र नेपाली सेना भएकाले) महासेनानी (कर्णेल) भए । शान्ति प्रक्रियापछि नेपाली सेना र माओवादी जनमुक्ति सेनाबीच भएको समायोजनमा प्रतीक्षा नै सबैभन्दा उपल्लो दर्जाका लडाकू हुन् जो पाँच वर्षअघि नै तारे कर्णेल भए । हो, यिनै लडाकू कमाण्डर प्रतीक्षालाई खरिपाटीमा नेपाली सेनाका तात्कालीन प्रधानसेनापति गौरवशमसेर जबराले अन्तर्राष्ट्रिय रोहबरमा अधिकृतको फुली लगाइदिएर स्यालुट फर्काएका थिए ।

तेस्रो कारण चाँहि सिंहबहादुर शाहीको नियति । सिंहबहादुर शाही अहिले जेलमा छन् । काठमाण्डौस्थित केन्द्रीय कारागारमा । आजीवन कारावासको सजाय भोगिरहेका छन् । सर्वस्वसहित आजीवन कारावासको सजाय घटाएर आजीवन कारावास मात्र हुँदा पनि सिंहबहादुरले चित्त बुझाउन परेको छ । कालिकोट सुकारियाका सिंहबहादुर तिनै निमुखा सैनिक हुन् जसको घरै पहिले माओवादी लुटको निशानामा पर्यो । परिवारै कालिकोट सदरमुकाम मान्म विस्थापित भयो ।

तर नियति … । तर प्रारब्ध… ।

सेना भन्छ उनी हतियारसहित भागेर माओवादीको जनमुक्ति सेनामा भर्ना भए । माओवादी भन्छ कब्जामा लिएका सिंहबहादुरले जनमुक्ति सेनामै बस्ने बताएपछि कमरेड ‘सफल’ नाम लिएर उनी जनमुक्ति सेना भए ।

सिंहबहादुर माओवादी कब्जामा परेको ६ महिनापछि युद्धविराम भयो । यही मौका छोपेर उनी कामको खोजीमा भारत पलायन भए र शान्ति प्रक्रियापछि गाउँ फर्किए । दश वर्षपछि अर्थात् २०७४ फागुन ७ गते उनी कालिकोटको घरबाटै गिरफ्तारीमा परे । र, खतरनाक आतंककारी पक्राउ परेझैं उनलाई हातपाखुरा डोरीले बाँधेर काठमाण्डु झारियो ।

शसस्त्र द्न्द्वको समयमा हतियारसहित भागेको सेनाको मुद्दा उनीमाथि थोपरियो । सैनिक विशेष अदालतले उनलाई सर्वस्वसहित आजीवन कारावास सजाय सुनायो । उनको परिवारले सर्वोच्चमा अपील गर्यो । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले यही वर्षको असार २६ गते ‘सामरिक जनरल सैनिक अदालत र सैनिक विशेष अदालतको आदेशलाई गैरकानुनी भन्न नमिल्ने’ ठहर गर्दै सिंहबहादुरलाई झ्यालखानामै कोचेर राख्न मिल्ने बताइदियो ।

खासमा त्यहाँ सिंहबहादुर मात्र झ्यालखानामा परेका थिएनन् त्यहाँ नेपालको शान्तिप्रक्रियाको एउटा तस्वीर झ्यालखाना परेको थियो । फलामे बारहरुभित्र सिंहबहादुर मात्र कैद थिएनन् प्रचण्डका हुँकारहरु बन्धक थिए, पासाङका गर्जनहरु थुनिएका थिए, कान्छाबहादुरहरुका प्रशिक्षण कैद भइरहेका थिए र उत्तमहरुका कमिसारीहरु बन्धक थिए ।

सेनाबाट विद्रोह गरेको भनेर फूलमाला र अबीर दल्ने माओवादी जनमुक्ति सेनाका प्राधिकार, कमाण्डरहरु राज्शक्तिको हर्ताकर्ता भएको बेलामा कालिकोटे सिंहबहादुर शाही आजीवन कारावास स्वीकार गर्न अभिषप्त भए । ६ जना लालाबाला सन्तानसहितको सिंहबहादुरको परिवारमाथिको बज्रपात न जनमुक्ति सेनाका प्राधिकार प्रचण्डको कानमा पर्यो, न छापामार दस्ताका कमाण्डर हुँदै उपराष्ट्रपति बनेका नन्दकिशोर पुन उर्फ पासाङ, जनार्दन शर्मा उर्फ प्रभाकर, अनन्त र बलदेवले नै सुने ।

हो, कान्छाबहादुरले भनेको द्न्द्वकालीन मुद्दा र संक्रमणकालीन न्यायको सन्दर्भ सिंहबहादुरसम्म ठोक्किन्छ । किनकि, सत्यनिरुपण तथा मेलमिलाप आयोगमा अझै पनि उनको अपील पेण्डुलम दस्तावेज बनेर कुहिने क्रममा छ । यो त्यही आयोग हो जसलाई लिएर अन्तर्राष्ट्रिय समुदाय निरन्तर नेपाल सरकारसँग असन्तुष्टी जनाइरहेको छ । हो, यही संक्रमणकालीन न्यायको मुद्दालाई लिएर कोही प्रचण्डलाई हेग लैजाने सपना देखिरहेका छन् र प्रचण्ड हेगमा अपराभधीको कठघरामा उभिएर विश्वले चिन्ने हिरो हुने रहर पालिरहेका छन् । कठै …! सिंहबहादुरहरु, झुलकुमारहरुलाई आजीवन कारावासमा कोचेर विश्वको हिरो हुने सपना पाल्ने प्रचण्डहरुलाई लालसलाम…! भन्नैपर्छ ।

तिनै सिंहबहादुर शाही घरि कान्छाबहादुरसँग जोडिन्छन् । तिनै सिंहबहादुर शाही कमाण्डरबाट कर्णेल भएका प्रतीक्षासँग घरिघरि जोडिन्छन् । नाम जोडिनुको के अर्थ न्याय नजोडिएपछि ? भीमफेदी कारागारमा आजीवन कारावासको सजाय भोगिरहेका झुलकुमार भगतको कहानीको के सरोकार प्रचण्डबाट पुष्पकमल दाहाल र पासाङबाट नन्दकिशोर पुनमा सीमित बनेकाहरु जनमुक्ति सेनाका हेडक्वार्टरलाई ? सेनाको पूर्वी पृतना हेडक्वार्टरअन्तर्गतको विष्णु दल गुल्मबाट गलिल र इन्सास नामको आधुनिक हतियारसहित भागेर माओवादी सेना बनेका झुलकुमार भगतहरुको इतिहास किनारा लगाएर सत्ताको राप र तापको न्यानो तापिरहेका पासाङ, प्रचण्ड, बादल, अनन्त, प्रभाकरहरुको कानमा संसद्मा मसिनो स्वरमा बोल्ने कान्छाबहादुरको स्वर कहिले पुग्छ ?