समाचार

आजदेखि नेपाल-भारत संयुक्त आयोगको बैठक

काठमाडौं। नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक आजबाट काठमाडौंमा शुरु हुँदैछ ।

अपरान्ह तीन बजेबाट बैठक प्रारम्भ हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

यस बैठकमा भाग लिन भारतीय विदेशमन्त्री डा. यस जयशंकर आज काठमाडौं आउने कार्यक्रम रहेको छ । बैठक बिहीबार सकिने भएको छ ।

जय शंकरले नेपालमा रहँदा उच्चस्तरीय भेटवार्ता समेत गर्ने भएका छन् । उनले राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक भेटवार्ता गर्नेछन् ।

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकाल सम्हालेपछि भारत सरकारका शक्तिशाली मन्त्री नेपाल आउन लागेका हुन ।

उनको भ्रमण कश्मीर मुद्दामा नेपालको समर्थन प्राप्तीमा समेत भूमिका खेल्ने बताइएको छ । यस मामलामा नेपालले अहिलेसम्म मूख खालेको छैन । नेपाल पर्ख र हेरको रणनीतिमा रहेको छ ।

संयुक्त बैठकको परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र समकक्षी जयशंकरले संयुक्त अध्यक्षता गर्ने कार्यक्रम रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

बैठकमा नेपाल र भारतबीच राजनीतिक सम्बन्ध, सीमा सुरक्षा, भौतिक विकास र पूर्वाधारका धेरै आयाममा छलफल हुने मन्त्रालयको भनाई रहेको छ ।