डायस्पोरा

न्यूह्यामसरमा पहिचान झाँकीहरुका साथ मनाइयो विश्व आदिवासी दिवस

न्यूह्यामसर । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) न्यूह्यामसर च्याप्टरले भब्य कार्यक्रमका सहित २५ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाएको छ । राज्यको स्ट्रारडमस्थित पार्कमा शनिबार बिबिध कार्यक्रममा साथ च्याप्टरले आदिवासी दिवसको उत्सव मनाएको हो ।

न्यूह्यामसर एवं छिमेकी राज्यहरुबाट राई, लिम्बू, गुरुङ, नेवार, तामाङलगायतका विभिन्न आदिवसी जनजाति मूलका समुदाय आआफ्नो भेषभुषाका साथ कार्यक्रममा उपस्थित भएका थिए । बिभिन्न जनजातिको पहिचान झल्किने झाँकी पनि कार्यक्रममा देखाइएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि संयुक्त राष्ट्रसंघका लागि नेपाली राजदूत एवं स्थायी प्रतिनिधि अमृतबहादुर राईले प्रवासमा बसेर पनि आफ्नो पहिचान, संस्कृति र परम्परालाई जगेर्ना कायम राख्नु ज्यादै प्रशंसनीय भएको बताए । ‘विदेशमा बसेपनि यहाँहरुले संस्कार र सँस्कृति जगेर्ना गर्न देखाउनुभएको कदम उल्लेखनीय छ’ उनले भने ‘यो कार्यले भावी पिँढीलाई पनि आफ्नो संस्कृतिप्रति रुची जगाउन अभिप्रेरित गर्नेछ ।’

यसैगरी कार्यक्रममा न्यूह्यामसरका राज्य सिनेटर लाउ डी एलसेण्ड्रो, न्यूह्यामसर नेपाली समाजका अध्यक्ष सोम गुरुङ, वेस्र्टन मिसिगन यूनिभर्सिटीका प्राध्यापक डा. महेन्द्र लावती, गुरुङ समाज न्यूह्यामसरका अध्यक्ष छत्रकुमारी गुरुङ, अमेरिकी कंग्रेस कृष पापाजका प्रतिनिधि क्रिसटिना सियाहोल्टज, अमेरिकी सिनेटर जिहिन सिहिनकी प्रतिनिधि लिटिजा ओर्टिज, फिप्नाका संस्थापक अध्यक्ष शिवकुमार राईलगयायतका अथितिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको समापन गर्दै फिप्ना न्यूह्यामसर च्याप्टर अध्यक्ष सुन्दरी गुरुङले जातिय संस्कार संस्कृतिलाई विदेशमा भएपनि कायम राख्न गरेको पहल र सहयोगप्रति सबैलाई धन्यबाद ज्ञापन गरिन् । ‘यहाँहरुको निरन्तर सहयोगका कारण फिप्ना न्यूह्यामसरले हरेक बर्ष विश्व आदिवासी दिवस मनाउँदै आएको छ’ उनले भनिन् ‘हाम्रो संस्कार, संस्कृति र पहिचानप्रति हाम्रा नानीहरुले पनि चासो देखाउँदै उत्साहप्रद सहभागी जनाउनु हाम्रो लागि खुशीको कुरा हो ।’