विश्व

कश्मीर मुद्दामा नेपालको मौनता कहिलेसम्म ?

काठमाडौं । भारत र पाकिस्तान कश्मीरको मुद्दामा नेपालको धारणा खोजिरहेका छन् । तर, नेपाल भने अझै पनि यस सम्बन्धमा मौन छ ।

छिमेकी मुलुकको बहुआयामिक तथा सामरिक महत्वको यस परिघटनामा नेपालले मौनता खोल्नुपर्ने धारणा प्रत्यक्ष अप्रत्यक्ष नेपालसमक्ष राखिसकेका छन् ।

नेपाल भ्रमण सकेर बिहीबार मात्र स्वदेश फर्किएका भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको काठमाडौं बसाईको मूख्य लक्ष्य नै कश्मीरबारे नेपालको धारणा बुझ्नु थियो ।

नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन आएका भएपनि उनले नेपाललाई फकाउने भरपुर प्रयास गरे ।

त्यही मेसोमा पाकिस्ताती विदेशमन्त्रीले पनि कश्मीर मुद्दामा पाकिस्तानको समर्थन खोजेका छन् ।

पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली समक्ष उक्त प्रस्ताव गरेको मन्त्रालय स्रोतको भनाई छ ।

दुई विदेशमन्त्री बीच बिहीबार भएको टेलिफोनमा पाकिस्तानी विदेशमन्त्रीको उक्त प्रस्ताव आएको बताइएको छ ।

नेपाल सरकारले दुबै देशलाई घटनालाई नजिकबाट नियालीरहेको भन्दै आपसी समझदारीमा समस्या समाधान गर्नुपर्ने बताउने गरेको छ ।

पाकिस्तानले कश्मीर मुद्दालाई संयुक्त राष्ट्रसंघमा लगेपछि यस मुद्दामा उले छिमेकी मुलुकहरुबाट समर्थन चाहन्छ ।

तर, भारत भने आफ्नो कदम सही भएको भन्दै छिमेकी मुलुकहरु आफ्नो समर्थनको आशामा रहेको छ ।

उता, नेपाली कांग्रेसले पनि कश्मीर मुद्दामा सरकारले नेपालको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेको छ ।

राष्ट्रिय सभाका सांसद जीतेन्द्र देवले छिमेकी मुलुक भएका कारण पनि यस विषयमा नेपालले स्पष्ट धारणा राख्नु पर्ने उल्लेख गरे ।