स्वास्थ्य

उपत्यका भित्रै डेंगुका बिरामी, कसरी बच्ने ?

काठमाडौं । काठमाडौं उपत्यकासहित देशको ठूलो क्षेत्रमा यस वर्ष डेंगुको प्रकोप फैलिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म यस रोगबाट देशभर २ जनाले ज्यान गुमाइसकेका छन् । पूर्वी नेपालको सुनसुरी र सर्लाहीबाट शुरु भएको यो रोग क्रमशः उपत्यका र अन्य जिल्लासम्म फैलिएको हो ।

मन्त्रालयमातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बर्षायाममा पानी जम्ने र त्यसबाट उत्पन्न हुने लामखुट्टेको टोकाईबाट यो रोगको संक्रमण बढ्ने गर्छ ।

काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुरसहितका जिल्लामा डेंगुका बिरामी बढी पाइएको छ । यसबाहेक पूर्व नेपाल बढी प्रभावित रहेको मन्त्रालयको भनाई रहेको छ ।

देशभर १ हजार भन्दा बढी बिरामी उपचारार्थ रहेको बताइएको छ । चिकित्सकहरुका अनुसार लामखुट्टेको टोकाईबाट बच्नु नै डेंगु रोगबाट बच्ने सबैभन्दा सिजिलो उपाय हो ।

यो रोग लागेको बिरामीमा ज्वरो आउने, रूघाखोकी लाग्ने, खान मन नलाग्ने, जीउ दुख्नेजस्ता लक्षण देखा पर्छ। उपचारमा लापरवाही गरे बिरामीको निधन समेत हुन सक्छ ।