समाचार

चितवनमा निषेधाज्ञा, ५ जना भन्दा बढी भेला हुन रोक

चितवन । चितवनमा अराजक बन्दै गएको प्रदर्शन निरुत्साहित गर्न सरकारले निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार एक सूचना प्रकाशित गर्दै उक्त जानकारी गराएको हो ।

निषेधाज्ञा सोमबार बिहान ६ बजेबाट शुरु भएको छ । जिल्ला अदालत आसपास निषेधाज्ञा क्षेत्र तोकिएको हो ।

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्दा टिभी प्रस्तोता रवि लामिछानेको नाम लिएको भिडियो सार्वजनिक भएपछि उनी प्रहरीको अनुसन्धानमा तानिएका छन् ।

प्रहरीले १० दिन लामो अनुसन्धानबाट आत्महत्या दुरुत्साहनमा लामिछानेको संलग्नता पुष्टी गर्दै आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता समेत गरेको छ ।

सोमबारदेखि शुरु हुने रवीको बयान र थुनछेक वहसका दौरान भीडले अराजकता प्रदर्शन गर्न सक्ने भन्दै स्थानीय प्रशासनले कडाई थालेको हो ।

प्रहरीले लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिसकेको छ । यी तीनै जनाको नाम पुडासैनीको भिडियोमा लिइएको छ ।

कार्यालयका अनुसार भरतपुरको पूर्वतर्फ बाइपास सडकतर्फ आन्तरिक राजश्व कायर्मलयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म निषेधाज्ञा जारी गरिएको छ ।

जहाँ ५ जना भन्दा बढी मानिस भेला हुन पाइने छैन । पश्चिमतर्फ लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौबिसकोठी चोकसम्म निषेधाज्ञा जारी गरिएको छ ।

उत्तरमा बाइपास सडकको अन्तरिक राजश्व कार्यालय चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेजज जाने चोक, नारायणी मावि, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गको चौबिसकोठी चोकसम्म तोकिएको छ ।

दक्षिणको बाइवपास सडकतर्फ घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गतर्फ सप्तगण्डकी अस्पताल चोकसम्म पनि कुनै प्रदर्शन गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले उल्लेख गरेको छ ।