समाचार

सालिकराम आत्महत्या प्रकरण : रवि लामिछानेलाई ५ लाख धरौटी

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका टिभि प्रस्तोता रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतले  आदेश दिएको छ ।

अदालतले लामिछानेलाई ५ लाख, पत्रकार युवराज कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

आत्महत्या प्रकरणमा मुछिएकी अर्की अभियुक्त रुकु कार्कीलाई भने साधारण तारेखमा छाड्न जिल्ला अदालतले आदेश दिएको हो ।

सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटीमा छाड्न आदेश दिएको हो ।

आदेश लगत्तै उनीहरु अदालतले तोकेको धरौटी रकम बुझाएर रिहा भए । उनीहरु धरौटीमा छूटे पनि कानूनि प्रक्रियाका थप कदममा भने उनीहरु सहभागी हुनुपर्छ ।

प्रहरीले १० दिनसम्म अनुसन्धान गरी पत्रकार पुडासैनीको आत्महत्या तीन जनालाई दोषि दावि गरिएको थियो ।

अनुसन्धान सम्पन्न गरी प्रहरीले आइतबार जिल्ला अदालत, चितवनमा आत्महत्या दुत्साहन गरेको मुद्दा दर्ता गरेको थियो । पत्रकार पुडासैनी २० साउनमा चितवनस्थित एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

आत्महत्यापूर्व पुडासैनीले भिडियो बनाएर लामिछाने, कँडेल र कार्कीले दिएको टर्चर सहन नसकेर आफूले आत्महत्या गरेको उल्लेख गरेका छन् ।

भिडियो सार्वजनिक भएसँगै प्रहरीले ३० साउनमा उनीहरुलाई पक्राउ गरेको थियो । रवि लामिछाने पक्राउ भएसँगै हरेक दिन उनको समर्थनमा चर्को आन्दोलन भइरहेको थियो ।

रवि धरौटीमा छूटे पनि उनी यस मुद्दाका सम्बन्धमा केही बोल्न र लेख्न भने नपाउने भएका छन् । उनको बैंक खाता रोक्का गर्ने प्रक्रियासमेत शुरु भइसकेको छ ।