समाचार

किन चैत देखि जेठ सम्म बाँदरले मानिसलाई धेरै आक्रमण गर्छ ?

काठमाडौं । बाँदरलाई हाम्रो (मानिसको) पुर्खा भनिन्छ । पुर्खा भएपछि त मानिसले चाहिँ बाँदरको अनुकरण गर्नुपर्ने हो । हुन त केही मान्छेले बिगार्ने, भत्काउने मात्र काम गर्छन् भने त्यसलाई बाँदर प्रवृत्ति पनि भन्ने गरिन्छ । तर सबै मान्छे बाँदर प्रवृत्तिको बिरोधमा हुन्छन् । यसैले मान्छेले बाँदरको अनुकरण गर्दैनन् । बाँदर (पूर्खा) भन्दा मानिस सामाजिक, आर्थिक रुपमा मात्र होइन चेतनास्तरमा समेत सयौं गुणा बढी विकसित भएको छ । पछिल्लो समय बरु बाँदरले चाहिँ मान्छेको अनुकरण गर्न थालेका छन् । पछिल्लो समय बाँदरले मान्छेले जस्तै आईसक्रिम, हल्का पेयपदार्थ खाने गर्छन् । अनि मानिसले आक्रमण गर्ने तरिकाका बारेमा समेत उनीहरु सचेत हुने गर्छन् । शहरबजार र मानिसको नजिक भएका कारण बाँदरले मान्छेको क्रियाकलाप देखेर त्यसको अनुकरण गर्न थालेका हुन् । काठमाडौंको नागार्जुन र आसपासका क्षेत्रमा पाइने राता बाँदरले खानेकुरा पखालेर खाने गर्छन् । त्यहाँका बाँदरले सामान्य माटो लागेको, फोहोर लागेको खानेकुराहरु पानीमा गएर सफा गरेर मात्र खान थालेका छन् । पशुपति, स्वयम्भू र थापाथली आसपासका क्षेत्रका बाँदरले मानिसले आक्रमण गर्ने तरिका सिकेर त्यसको प्रतिकार समेत गर्ने बाँदरविज्ञ डा मुकेश चालिसेले बताए । बाँदर किन आक्रामक हुन्छन् ? गर्मी सुरु हँदै गएको र रुखमा पालुवा पलाउन थालेपछि बाँदर यो समयमा मानिसप्रति आक्रामक रुपमा प्रस्तुत हुन्छन् । पालुवा खाएपछि बाँदरमा आउने पुष्टता र विभिन्न रासायनिक पदार्थका कारण हुने उत्तेजनाले बाँदर यो समयमा आक्रामक हुने गरेका हुन् । यो बेला रुखमा किराहरुले निकाल्ने मह पनि बाँदरले खाने गर्छन । पालुवा खाएपछि बाँदरमा पुष्टता र उत्तेजना आउँछ । उत्तेजित बाँदरले मानिसलाई जिस्काउने, खानेकुरा खोसेर खाईदिने र आक्रमण समेत गर्छन् । पालुवाका कारण बाँदरमा हर्मोनल परिवर्तन आउँछ । त्यतिमात्र होईन प्रजनन् समय भएकाले पनि बाँदरले मानिसलाई आक्रमण गर्छ । भर्खरै पालुवा उम्रिन सुरु भएको र खानेकुरा अभाव हुने भएका कारणले झगडा गरेर बाँदर यो समयमा समूहबाट छुटिन्छन । त्यसैले अहिलेको सिजनमा एक्लो बाँदरको संख्या पनि धेरै देख्ने गरिन्छ । महिला र पुरुष छुट्याएर सोझो र चलाख मानिसको समेत बाँदरले पहिचान गर्छन् । त्यति मात्र होइन बासस्थानको बिनासका कारण पनि पछिल्ला समय बाँदर बढी आक्रामक बन्ने गरेका छन् । प्राकृतिक बासस्थानसँग जोडिएका शहरहरुमा बाँदरले आतंक मच्चाउन थालेको छ । काठमाडौंको थापाथली, पशुपति र स्वयम्भू आसपासको क्षेत्र, धरान, जनकपुर र हेटौंडा लगायतका ठाउँमा बाँदरको आक्रमण र बिनास बढ्दै गएको छ । मानिसको संगतमा रहँदा राता बाँदरले प्रतिकार र नयाँ जुक्ति सिकेकाले समस्या परेको हो । मानिसले लौरो, ढुंगा वा अरु केहीले आक्रमण गर्दा कसरी त्यसको प्रतिकार गर्ने भन्ने कुरा बाँदरले चाँडै नै योजना बनाउने भएका कारण पनि नियन्त्रण गर्न गाह्रो हुने गरेको विज्ञहरु बताउँछन् । पहिले पहिले काभ्रेको माङ्खा, नुवाकोटको भोर्ले, पाल्पाको मतिनडाँडा, लगायत देशका दर्जनौं ठाउँमा बाँदरले भोकमरीनै निम्ताएको थियो । कतिपय ठाउँमा त बाँदरकै कारण बसाईं नै सर्नुपर्ने बाध्यता समेत आएको छ । बिनासकारी जनावरको उपयोगिता पछिल्लो पटक मानिसको स्वास्थ्यमा निकै प्रभावकारी मानिएको छ । बाँदर र मानिसका शारीरिक अंगहरु मिल्दोजुल्दो भएका कारण विभिन्न औषधि र खोपको परीक्षणमा बाँदर निकै उपयोगी मानिदै आएको छ । अहिले पनि एचआईभी एड्स विरुद्ध, स्वाइन फ्लू, क्षयरोगको खोपलगायत बिभिन्न प्रकारका औषधि र खोप बाँदरमा परीक्षण भइरहेका छन् । नेपालमा लंगुर, रातो र आसामी गरी ३ प्रजातिमा ६ उपजातिका बाँदर पाइन्छन् । फोटोमा राख्ने रुखका पालुवा खाएर उत्तेजित बाँदरले मानिसमा आक्रमण गर्छ हर्मोनल परिवर्तनले उसलाई उत्तेजित बनाउन सहयोग गर्छ त्यसैले सोझो मानिसको पहिचान गरेर उसले आक्रमण गर्दछ ।