Epapers :

23-Oct-2019 | ६ कार्तिक २०७६, बुधबार

हरितालिका तीजको धार्मिक तथा साँस्कृतिक मर्म

११ भाद्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


आचार्य पीपलमणि सिग्देल/न्यूयोर्क

भगवान् विष्णुलाई कन्यादान दिने मातापिताको निर्णयबाट छोरी पार्वती अत्यन्त खिन्न हुन पुग्छिन् । जन्मजन्मदेखि पतिपत्नीसम्बन्ध रहेकाले महादेवसँगमात्रै विवाह गर्ने अन्यथा कुमारी नै रहने पार्वतीको निष्कर्ष रहेपनि मातापितालाई निर्णय सुनाउन असमर्थ हुन्छिन् । साथीको सहयोगमा हरण गरिएर विवाहबाट बच्न तपका लागि जंगलतिर लाग्छिन् । महादेवलाई पतिको

रुपमा प्राप्त नगरmन्जेल कठोर तपस्या गर्ने दृढ आकांक्षालाई उच्च सम्मान गर्दैउनका साथीले कसैलाई पनि थाहा नहुने एकान्त स्थलमा भगाइदिएकी हुन्छिन् । इच्छाएको वर प्राप्तिका लागि शरीरलाई कष्ट हुने गरी पार्वतीले शिवको उपासना गर्दा पानीसमेत सेवन नगरी व्रत बसेको र त्यसकै प्रभावले महादेव पति पाएको पुराणको प्रमाणमा आधारित भएर हरितालिका तीज पर्व मनाइने

प्रचलन सुरm भएको देखिन्छ । त्यसैले हरितालिका तीज समस्त हिन्दु नारीहरुले धुमधामका साथ मनाउने प्रचलन छ ।

विवाहित नारीले अविच्छिन्न सौभाग्यका साथै पतिको दीर्घायु एवं समृध्दिका लागि र अविवाहितले इच्छानुकूल योग्य वर प्राप्त गर्ने प्रार्थनासहित शिवको पूजा आराधना गर्ने महान् चाड हो हरितालिका तीज ।

भाद्र शुक्ल तृतीयाको दिन उपवास बसी शिवपार्वतीको पूजाअर्चना गर्नाले धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुनाका साथै आफ्नो सौभाग्य अटुटरmपमा प्राप्त हुने धर्मशास्त्रमा बताइएको छ । भाद्र शुक्ल द्वितीयाका दिन माइती घरमा जम्मा भई दर खाने परम्परा रहेको छ । तीजको दर व्रतको भर भन्ने मान्यताका साथ मीठामीठा खाद्यान्न सेवन गरी भोलिपल्ट व्रत बस्ने गरिन्छ । तृतीयाको दिन व्रतालुहरm प्रातः सबेरै नदी, पवित्रस्थल तथा गंगाजलले स्नान गरी सौभाग्यसूचक सिन्दुर, पोते, चुरा, धागो तथा रातो सारी पहिरेर शिवपार्वती मन्दिरमा जम्मा हुन्छन् । शिवमन्दिर टाढा भए नदीको दोभान, गंगा किनार तथा घरमै पनि जम्मा भएर शिवलिंग स्थापना गरी पूजाअर्चना गर्ने परिपाटी चलेको पाइन्छ । व्रतको दोस्रो दिन भाद्र शुक्ल चतुर्थीका दिन विघ्ननाशक सिद्धिविनायक श्री गणेश भगवान्को पूजाआजा हुने गर्दछ । तीजको तेस्रो दिन भाद्र शुक्ल पंचमी अर्थात् ऋषिपंचमी पर्व पर्दछ । यस दिन अरmन्धतीसहित सप्तऋषिको पूजाअर्चना हुने गर्दछ । ऋषिपत्नीसहित वशिष्ठ, विश्वामित्र, कण्व, भारद्वाज, वामदेव तथा शौनक आदि ऋषिवर्गको आराधना गर्नाले ज्ञान, कर्म तथा वैराज्ञको त्रिवेणी प्राप्त हुने बताइएको छ । यस दिन रजस्वला स्त्रीले रजदोष निवृत्तिका लागि व्रत बस्ने र गंगामा गई दतिवनले स्नान गर्ने परम्परा रहेको छ ।

यस वर्ष अमेरिकाको अक्षांश, देशान्तर तथा सूर्योदयअनुसार तिथि गणना गर्दा अगस्ट ३१ तारिक शनिबार दर खाने, सेप्टेम्बर १ गते आइतबार हरितालिका तीज व्रत, सेप्टेम्बर २ तारिक सोमबार श्री गणेश चतुर्थी व्रत तथा सेप्टेम्बर ३ तारिक मंगलबार ऋषिपंचमी पर्व मनाउनुपर्ने शास्त्रीय मान्यता रहेको छ । दिनको सुरुवात पूर्वबाट हुन्छ भने तिथिको सुरmवात पश्चिमबाट हुन्छ । अतः कतिपय व्रत तथा पर्वहरु नेपालभन्दा एकदिन पहिले नै पनि अमेरिकामा मनाउनुपर्ने हुनसक्छ । जसरी ग्रहण जहाँबाट देखिन्छ त्यहींमात्र ग्रहणको असर हुन्छ र सुतक लाग्छ त्यसैगरी विश्वमा छरिएर रहेका नेपालीहरुले स्थानीय अक्षांश, देशान्तर एवं सूर्योदयको समाय अनुसार तिथि गणना गरी चाडपर्व तथा व्रत आदिको निर्णय गर्नुपर्ने हुन्छ ।

परिवारको आपसी एकता तथा शान्तिका लागि यस्ता व्रत तथा पर्वहरुले शक्ति प्रदान गर्दछन् । शिव परिवारको विविधतालाई नियाल्ने हो भने पनि धेरै व्यापक ज्ञान आर्जन गर्न सकिन्छ । महादेवको वाहन नन्दी, पार्वतीको वाहन सिंह, गणेशको वाहन मुसो, कुमार कार्तिकेयको वाहन मयुर अनि महादेवको गहना नागदेव । यी सबै जीव प्राकृतिक रmपमा नै ज्यान लिने सम्मका दुष्मान भएपनि एउटै घरमा शान्ति र अमनचैनका साथ रहेको पाइन्छ । यी वाहनहरुले कहिले पनि युद्धको शंखघोष गरेनन्, मिलेर बसे र एकअर्काको सम्मान गरिरहे । हाम्रो परिवारभित्र, देशभित्र अनि विश्वमानचित्रमा अनेर्कौ विविधताका रेखाहरु छन् । विविधताभित्र एकताको पाठ हामी शिव परिवारबाट सिक्न सक्छौं । ती विविध स्वरुपलाई स्वीकार गर्न र एकअर्कालाई सम्मान गर्दै समुन्नत एवं सुसंस्कृत जीवन यापन गर्न पनि यस्ता व्रत तथा पर्वले सिकाउने गर्दछन् अतः नारीले मात्रै किन पुरुषका लागि व्रत बस्नुपर्ने भनेर नारीवादी स्वरमा तीनबित्ता उफ्रनुभन्दा यस्ता व्रतले पार्ने सकारात्मक प्रभावको ग्रहण गर्दै परिवारिक एकता र विश्वास बढाउनेतिर सबै लाग्नुपर्छ ।

तीज पर्व मानाउने सन्दर्भमा केही परिर्विर्तत घटनाक्रमहरु मौलाउँदै गएको पाइन्छ । तीजको एकदिन पहिले व्रत बस्न शक्ति मिलोस् भनेर दर खान थालिएकोमा आजभोलि २ महिना पहिलेदेखि नै आलोपालो सिद्धान्त जस्तो लाग्ने सदावहार दरको प्रचलन सुरु भएको छ । यस्तो प्रचलनले तीज पर्वको महत्व र उपादेयता कम हुँदै भुँडीपर्व को रुपमा विकसित हुँने डर पैदा भएको छ । साथै यस्तो प्रतिस्पर्धाले सामाजिक विभेदको नयाँ समस्या पनि पैदा हुन सक्छ ।

तीजमा गाइने गीतमा स्वतन्त्रता, विद्रोह, समालोचना, सच्छन्दता तथा सामाजिक विसंगति विरुद्घको स्वर मुखरित हुने गरेकोमा आजभोलि धार छोडेको तथा छेउ न टुप्पाका गीतमै नाचगान हुनेगरेको देखिन्छ । मौलिक संस्कृति र कला चिन्न सकेनौं भने हामीले आफुलाई पनि चिन्न सक्दैनौं भन्नेतिर व्रतालुहरुको ध्यान जानु जरुरी छ ।

व्रतमा गरिने श्रृंगार पनि स्वभाविक नभएर घाँटी नहेरी हाड निल्न खोजेको जस्तो देखिन्छ । आफ्नो क्षमताको अन्दाज गरी उपभोग तथा प्रयोग गर्न सकेमात्र मनोरञ्जन हुन्छ अन्यथा ईष्र्या र तृष्णाले आफैंलाई कमजोर बनाउँदै जान्छ ।

उमामहेश्वर, शिवपार्वती, भवानीशंकर आदि नामले पुकारिने भगवान्को विशेष उपासना तथा आराधना हरितालिका तीजको अभीष्ट हो भने धार्मिक माध्यमले आध्याम्कि एवं साँस्कृतिक चेतनाको प्रस्फुटन पर्वको गहनतम उपलब्धि हो । यो पर्वले सबै नेपालीमा धार्मिक एवं साँस्कृतिक चेतनाको अभिवृद्घि गर्दै एकता र विश्वासको जग बलियो बनाओस् । व्रतको शक्तिले नयाँ उर्जा थप्दै जीवनको गोरेटोमा सुखद् यात्रा होस् सबै हिन्दु नारीहरुमा हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार