समाचार

नेपाल ओलम्पिक कमिटीमा श्रेष्ठद्धयबीच भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौं । नेपाल ओलम्पिक कमिटिको अध्यक्ष पदका लागि नेकपाका दुई नेताबीच भिडन्त हुने भएको छ ।

कमिटीका तत्कालिन अध्यक्ष जीवनराम श्रेष्ठ र व्यवसायी नेता उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो ।

दुबै नेकपा निकट मानिन्छन् । २० भदौमा हुने निर्वाचनले नेतृत्वको टुंगो लगाउने भएको छ । मंगलबार उमेदवारी दर्ताको समयसम्म दुई जनाको मात्र उमेदवारी परेपछि भिडन्त श्रेष्ठद्धयबीच हुने भएको हो ।

कमिटीमा पाँच जना उपाध्यक्ष रहने प्रावधान रहेको छ । यसका लागि भने आठ जनाले उम्मेदवारी दिएको कमिटीले जानकारी दिएको छ ।

उपाध्यक्षमा ज्योति राणा, तेजबहादुर गुरुङ, पुष्पदास श्रेष्ठ, अशोकरत्न बज्रचार्य, सुनिलकुमार श्रेष्ठ, चतुरानन्द राजवैद्य, राजीव श्रेष्ठ र समिम मिया अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् ।

महासचिवमा दुई जनाबीच भिडन्त हुने भएको छ । उक्त पदका लागि पुरेन्द्रविक्रम लाखे र निलेन्द्रराज श्रेष्ठको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा रतनकुमार टण्डन निर्विरोध भएका छन् ।

उता, उपमहासचिवमा पनि पिताम्बर तिम्सिना निर्विरोध भए । सचिवमा भने ४ जनाको उमेदवारी परेको छ ।

विधान अनुसार कमिटीमा तीन जना सचिव रहन्छन् । सात सदस्यका लागि हुने निर्वाचनमा ८ जनाको उमेदवारी दर्ता भएको छ ।