समाचार

संविधान दिवसमा नेपाल नआउने भए मोदी, अमेरिका भ्रमणमा निस्कने

काठमाडौं । नेपालको संविधान दिवसमा नेपालको निम्ता स्वीकार गरी नेपाल आउन नसक्ने सन्देश भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएका छन् ।

नेपालले भारतीय प्रधानमन्त्रीलाई ३ असोजका दिन मूख्य अतिथिका रुपमा आमन्त्रण गरेको थियो । एक साता अगाडी नेपाल आएका भारतीय विदेश मन्त्री डा. एस जयशंकरका साथमा नेपालले निम्ता पठाएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वयमःले भेट गरी निम्ता दिएका थिए । तर, भारत सरकारले भारतीय दूतावासमार्फत प्रधानमन्त्री कार्यालयमा मोदी आउन नसक्ने जानकारी पठाएको कार्यालय स्रोतको भनाई छ ।

यस समय भारतीय प्रधानमन्त्रीको अमेरिका भ्रमण तय भएका कारण नेपाल आउन नसक्ने जानकारी भारत सरकारले गराएको बताइएको छ ।

मोदी भारतीय समाजको सम्मेलनमा भाग लिन २ असोजमा अमेरिका पुग्ने भएका छन् । ७ असोजसम्म उनको अमेरिका भ्रमण तय भइसकेको छ ।

वर्तमान नेपालको संविधानको कडा आलोचक भारत सरकारका मूख्य पात्रलाई संविधान दिवसकै दिन नेपाल ल्याएर सबैलाई चकित पार्ने सरकारको योजना भने यस पटकका लागि असफल भएको छ ।