समाचार

कांग्रेस केन्द्रिय कार्यसमिति बैठक, के के एजेण्डामा भयो छलफल ?

काठमाडौं । काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठकमा सरकारविरुद्ध कडा रवैया अपनाउने सम्बन्धमा बहस शुरु भएको छ ।

बिहीबार सहमहामन्त्री प्रकाशशरण महतले बैठकमा राजनीतिक प्रस्ताव पेश गरे ।

जहाँ भ्रष्टाचारका विभिन्न काण्डदेखि सरकारी सम्पत्तिको दूरुपयोग, विकास निर्माणमा भइरहेको ढिलासुस्ती, शान्ती सुरक्षा र सरकारले चालिरहेका कदमबारे आलोचना गरिएको छ ।

संघदेखि प्रदेश र स्थानीय तहसम्म भ्रष्टाचार मौलाएको भन्दै कांग्रेसले त्यसविरुद्ध कडा रणनीति अपनाउने सम्बन्धमा छलफल अगाडी बढेको बताएको छ ।

कांग्रेसले वाइडबडी जहाज खरीद, सुन, चिनी, बालुवाटार र मेलम्ची काण्डका सम्बन्धमा सरकारले कमजोरी देखाइरहेको निष्कर्ष निकालेको छ ।

संस्थागत भ्रष्टाचारका माध्यमबाट वित्तीय अनुशासन उल्लंघनका घटना बढिरहेको कांग्रेसको निष्कर्ष रहेको छ । लोकतान्त्रिक मूल्य मान्यतालाई मिच्दै सरकारले निरकुंशता देखाइरहेको समेत कांग्रेसले बताएको छ ।

सिंगापुरमा रहेका प्रधानमन्त्रीले नेपालमा मन्त्रीपरिषदका सदस्यसँग गरेको भिडियो कन्फ्रेन्सका विषयमा पनि कांग्रेसले आपत्ति जनाएको छ ।

बैठकमा नेताहरुले भ्रष्टाचारका मुद्दामा कांग्रेस समेत रक्षात्मक बन्दा जनताले आंशका गर्ने भन्दै त्यसविरुद्ध कडा रुपमा उत्रनु पर्ने बताएका थिए ।