विश्व

नेपालले जोड्दै छ भारत-पाकिस्तान सम्बन्ध, न्यूयोर्कमा बैठक बस्ने

काठमाडौं । जम्मू कश्मीर प्रकरणपछि चिसिएको भारत र पाकिस्तान सम्बन्ध सुधारमा नेपालले पुलको रुपमा काम गर्ने संकेत देखाएको छ ।

नेपालको पहलमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेशमन्त्रीस्तरीय बैठक अमेरिकाको न्यूयोर्कमा बस्ने भएको छ ।

जुन बैठकमा भारत र पाकिस्तान समेत सहभागी हुनेछन् । भारतीय विदेश मन्त्री केही साता अगाडी नेपाल आएको मौकामा नेपाली समकक्षीसँग छलफल गरेका थिए ।

लगत्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैसीसँग टेलिफोन वार्ता गरे ।

उनको पहलमा अन्ततः न्यूयोर्कमा सार्क मुलुकका विदेशमन्त्रीहरुको बैठक बस्ने सहमती भएको मन्त्रालयले स्रोतले जानकारी दिएको छ ।

नेपालको प्रस्तावमा दुबै देश सहमत भएपछि बैठक सम्भव देखिएको मन्त्रालयको भनाई रहेको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाल लिन नेपालबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अमेरिका जाने कार्यक्रम छ ।

यस वर्ष महासभामा नेपालको प्रतिनिधित्व उनैले गर्नेछन् । प्रधानमन्त्री उपचारका सिलसिलामा सिंगापुरमा रहेका कारण परराष्ट्रमन्त्रीले नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् ।

नेपालले कश्मीरको मामलामा कुनै पनि मुलुकको पक्ष लिएको छैन । त्यसकारण तटस्थ भूमिकालाई आफूतिर आकर्षित गर्न भारत र पाकिस्तानले नेपाललाई उच्च प्राथमिकतामा राखिरहेका छन् ।

आगामी ९ असोजमा सार्क मुलुकका विदेशमन्त्रीको बैठक हुने तय भएको छ । ७४ औं महासभामा ३१ बाट शुरु हँदैछ । उच्चस्तरीय बैठकको कार्यक्रम भने ७ असोजपछि राखिएका छन् ।