स्वास्थ्य

भीरमा छाडिएका गाई-गोरु नेपालगन्ज पठाइयो, गृह मन्त्रालयले छानविन गर्ने

काठमाडौं । दैलेखका लागि नेपालगन्जबाट पठाइएको गाई-गोरु बिहीबार सुर्खेतमा लगेर भीरबाट खसालिएको थियो । त्यसमध्ये करीव ३ दर्जन गाईगोरु मृत भेटिएका थिए ।

करीव ३ सय गाई लगिएको अलपत्र अवस्थामा रहेका अन्य गाईलाई भने उद्धार गर्दै पुनः नेपालगन्ज पठाउन थालिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाले बेवारिसे छाडिएका गाईलाई शनिबारबाट नेपालगञ्ज पठाउन थालेको जानकारी दिएको छ ।

प्रहरीका अनुसार शनिबार १४२ गाई नेपालगञ्ज पठाइएको छ । भीरबाट खसालिएका कारण कतिपय गाईगोरु भने घाइते छन् ।

उनीहरुलाई भने उपचारपछि मात्र पठाइने प्रशासनले जानकारी दिएको छ । नगरपालिकास्थित पशु स्वास्थ्य शाखाका चिकित्सकले मृत भेटिएका गाईको मुचुल्का तथा शव परीक्षण गरेका थिए ।

उनीहरुले घाइते पशुको समेत उपचार गरेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार यस घटनामा ३० गाइगोरु मरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उप–महानगरपालिकास्थित काञ्जीहाउसबाट दैलेखको शिरस्थान क्षेत्रतर्फ गाई गोरु पठाइएको हो ।
यसैबीच शनिबार सुर्खेतमा गौहत्याको विरोधमा प्रदर्शनसमेत गरिएको छ । एक प्रदेशका पशु अर्को प्रदेशमा ल्याएर दानवीय हिसावले हत्या गरिएको भन्दै निन्दा गरिएको छ ।

त्यसो त पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि यस घटनाको भ्रत्सना गरेका छन् । राप्रपा स्वयम:ले गौहत्या गरेको भन्दै उनले निष्पक्ष छानविन हुनुपर्ने बताएका छन् ।

नेपालगन्ज नगरपालिकाको नेतृत्व राप्रपाले गरिरहेको छ । उता, गाईगोरुको हत्या भएको सम्बन्धमा गृह मन्त्रालयले समेत छानविन थालेको छ ।