मनोरञ्जन

शुरु भयो तीजको रौनक, आज दरखाने दिन

काठमाडौं । महिला हिन्दु धर्मावलम्वीहरुको महान चाड हरितालीका तीज शुरु भएको छ । भाद्र शूल्क द्धितियादेखि पञ्चमीसम्म मनाइने यो चाड आइतबारबाट शुरु भएको हो ।

आइतबार चेलीबेटी आफ्नो माइतीमा पुगेर मिठो मसिनो खाने र तृतियाको दिन निराहार व्रत बस्ने प्रचलन रहेको छ ।

त्यसकारण दर खाने दिन रातको १२ बजेसम्म पनि खीरलगायतका परिकार बनाएर खाने प्रचलन परम्परागत रुपमा रहिआएको छ । तीजमा मूख्यगरी भगवान शिवजीको पूजा आराधना गरिन्छ ।

यसबेला महिलाहरु तीज विशेष गीतमा नाचखान गर्दै दुखव्यथा पोख्नुका साथै साथीसँगीसग खुसी साट्ने गर्छन् । यो पर्व नेपालभर र भारतका पनि केही स्थानमा मनाउने प्रचलन रहेको छ ।

आफ्नो श्रीमानको लामो आयुको कामना गर्दै महिला व्रत बस्छन् । शिवजीलाई कुनै बाधा व्यवधान नआओस भनेर पार्वतीले निराहार व्रत बसेको सम्झनामा यो पर्व मनाउने गरिएको किंवदन्ती रहिआएको छ ।

यस दिन पशुपतिनाथ मन्दिरमा खास मेला लाग्छ । यसबाहेक देशभरका शिवमन्दिरमा महिलाहरु उल्लासमय वातावरणमा सहभागी हुन्छन् ।

पशुपतिनाथ मन्दिरमा दर्शनका लागि सबै तयारी पुरा भएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।