विश्व

अमेरिकामा फेरी गोली चल्यो, कम्तिमा ५ को मृत्यु

टेक्सास । बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा अमेरिकामा कम्तिमा ५ जनाको मृत्यु भएको छ । अमेरिकाको टेक्सासमा यो घटना भएको हो । जहाँ एक महिनाको अन्तरमा दोस्रो पटक यस्तो आततायी घटना भएको छ ।

यसअघि टेक्सासमै एक बन्दुकधारीले गोली चलाउँदा २२ जना मारिएको थिए । बीबीसीका अनुसार घटनामा कम्तिमा २० जना घाइते छन् ।

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । स्थानीय समय अनुसार शनिबार अपरान्ह एक बन्दुकधारीले मानिसहरुलाई लक्षित गरी अन्धाधुन्ध गोली चलाएको थियो ।

टेक्सासको पश्चिमी शहर ओडेसा र मिडल्याण्डमा बन्दुकधारीले गाडी भित्रबाटै मानिसहरुमाथि गोली चलाएको प्रहरीको भनाई छ । त्यसपछि प्रहरीले जवाफी कारवाही गरेको थियो ।

प्रहरीको गोलीले बन्दुकधारीको समेत मृत्यु भएको बताइएको छ । घाइतेमध्ये ७ जना गम्भीर छन् ।

२ जना नावालकको समेत उपचार भइरहेको छ । घाइते हुनेमा प्रहरी अधिकारीहरु समेत रहेको समाचारमा उल्लेख गरिएको छ ।

अमेरिकामा मास सूट एक सामान्य घटना भइसकेको छ । जहाँ वर्षेनी ४० हजार भन्दा बढी मानिसको मृत्यु यसरी सनकको भरमा हुने घटनाबाट हुने गरेको छ ।