मनोरञ्जन

आज हरितालिका तीज, धुमधामले मनाइदै

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज, आज देशभर धुमधामसहित मनाइदैछ । श्रीमानको लामो आयूको कामना गर्दै यस दिन महिलाहरु व्रत बस्छन् ।

शिव मन्दिरमा पुगेर भगवान शिवको पूजा आरधना गर्छन् भने दिनभर नाचगान गरी रमाइलो गरी यो चाड मनाउन प्रचलन रहेका छ । यस दिन सरकारले बिदा घोषणा गरेको हुन्छ ।

काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि महिला भक्तालुको घुइचो शुरु भइसकेको छ ।

रातो साडीमा सजिएर मन्दिर पुग्ने महिलाहरुको ताँतीका कारण आज शिवालय, पार्क तथा सडक निकै आकर्षक देखिन्छन् । नेपालमा मात्र नभई विदेशमा समेत यसको विशेष रौनक हुन्छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टका अनुसार विदेशमा सबै महिलाले रातो साडी लगाएर सडकमा निस्कदा त्यसको खास महत्व हुन्छ ।

सोहीकारण सडक महोत्सव तथा तीज विशेष कार्यक्रम गरी विदेशमा विभिन्न शहरमा यो चाड मनाइदैछ ।

यस वर्षको तीजलाई नेपाल भ्रमण वर्षको तयारीका रुपमा समेत लिइने उनले बताउँदै आएका छन् । पशुपतिनाथमा मात्र आज ७ लाखले दर्शन गर्ने विश्वास रहेको छ । पुरुषलाई बिहान ६ बजेबाटै प्रवेश निषेध भइसकेको छ ।