समाचार

पत्रकार बन्न लाइसेन्स अनिवार्य

काठमाडौं । पत्रकारको योग्यताको विषयलाई लिएर नेपालमा लामो समयदेखि वहस जारी रहेको छ । खासगरी ब्लग र यूट्यूवको लहर आएसँगै पत्रकारको योग्यतामाथि प्रश्न उठिरहेको छ ।

यसै मेसोमा कानुनमै पत्रकारको योग्यता तोक्ने गरी सांसदहरुले मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गराएका छन् ।

आइतबार सत्तारुढ दल नेकपाका १४ जना राष्ट्रियसभा सदस्यले संसद सचिवालयमा दर्ता गराएका छन् र संशोधन प्रस्तावमा पत्रकारिता पेशामा प्रवेश गर्दा परीक्षा लिनुपर्ने उल्लेख गरिएको छ ।

पत्रकारिता व्यवसायी परीक्षा नाम दिइएको यो परीक्षा मिडिया काउन्सिल अन्तर्गत रहने परीक्षा समितिले लिने उनीहरुको प्रस्तावमा उल्लेख रहेको छ ।

काउन्सिलले वर्षमा दुई पटक पत्रकारिता पेशामा प्रवेश गर्ने सम्बन्धि परीक्षा सञ्चालनको प्रस्ताव गरिएको छ ।

त्यसका लागि पाठ्यक्रम पनि काउन्सिलबाटै तयार पार्नुपर्ने प्रावधान संशोधनमा समेटिएको छ ।

पत्रकारिता क्षेत्रमा पढेलेखेका पत्रकारको तुलनामा राजनीतिक पहुँचका भरमा आएका मानिसहरुको बाहुल्य रहँदा यो पेशा प्रति नै नागरिकको वितृष्णा फैलिदै गएको छ ।