बिचार

बर्खी बार्ने किन बिधवाले मात्र ?​

प्रेमकृष्ण श्रेष्ठ / किर्तिपुर

 केही वर्षअघि संकुचित विचारधाराको एक मोर्चाले राजजानकी मन्दिरमा राष्ट्रपति विद्या भण्डारी प्रवेश गरी पूजा गरेको निहुँमा गंगाजल छर्केर शुद्ध पारेको समाचार बाहिर आएको थियो । जवकी उहाँभन्दा अघिल्ला राष्ट्रपति रामवरण यादवलाई कुनै पनि मन्दिरमा एकल पुरुषको बाधा अडचन सिर्जेन । राष्ट्रपति जस्तो गरिमामय पदमा विराजमान राष्ट्रपतिबीचमै एकल महिला र पुरुष हुनुमा त्यो भेद छ भने सामान्य नागरिकको सवालमा के होला ? सजिलै अनुमान लगाउन सकिन्छ । अव राज्यस्तरबाटै एकल नारीप्रतिको भेदभाव र छूवाछुटको उन्मूलनमा जोडटोडका साथ लाग्नुपर्छ ।

विवाह एक अनिवार्य सामाजिक संस्था हो । पुरुष र महिला दुई जातिको शारीरिक र भावनात्मक एकता नै  विवाह हो । नारी वा पुरुषको मात्र अस्वीकृतिमा अपूर्ण यो संस्था प्रजननको लागि पनि अपरिहार्य छ । यसरी भावनात्मकरुपमा नारी र पुरुष एक हुने वैवाहिक संस्थामा पति र पत्नीको नामवाट यी दुई जातिको भूमिका अग्रसर हुन्छ । नेपाली समाजमा पतिको पहिले मृत्यु भएमा पत्नी विधवा हुने र पत्नीको पहिले मृत्यु भएमा पति विधुर हुने सामाजिक परिपाटी छ । नारी विधवा भएको खण्डमा उनी अरु सामान्य महिला भन्दा पृथक तथा एक्लो हुन्छिन् । सामाजिक नियमअनुसार उनले पुर्नविवाह गर्नुहुँदैन । उनले सेतो परिधानमा  एक वर्षसम्म मृतक पतिको नाममा बर्खी बार्नुपर्छ । परन्तु, विधुरको सवालमा यो नियम लागु हुँदैन । विधुर पुरुषलाई आम अरु पुरुषको हुलवाट छुटयाउन सकिँदैन । न उनको शरीरको परिधानवाट सुनौलो रंग नै पग्लिन्छ, न अर्को विवाह गर्नुहुन्नको निषेधको रेखा नै उनीमाथि कोरिन्छ । सामान्यतया पत्नीको मृत्युपश्चात बिधुर भएको पतिलाई समाजका सदस्यवाटै अर्को विवाहको दवाव दिइन्छ । कारण, घरमा मातृत्व खोसिएका लालाबालाको संरक्षणको कुरा आउँछ । यसरी विधुर पुरुषले दोस्रो विवाह गरी वैविध्यको परिचय मेटिदिन्छ । तर, पतिको मृत्यु भोगेकी नारीलाई दोस्रो विवाहको दवाव कहिल्यै पनि आउँदैन । बरु पूनर्विवाह गर्नु पाप हो भनी शास्त्रका काला पर्खालहरु चुलाइदिन्छ । समाजले कैले पनि यो सोच्दैन कि, पत्नीको मृत्यु भएको घरमा जसरी लालाबालाको लागि मातृत्वको अभाव खट्कियो, पतिको मृत्यु भएका  घरमा तिनै लालाबालालाई पितृत्वको अभाव पनि उतिकै खट्किन्छ । त्यहाँ संरक्षणको कुरा कैले पनि उठ्दैन । यसरी नै नेपालमा विधवा महिला र बिधुर पुरुषविचमा लैङ्गिक विभेद रहिआएको छ । नेपालमा विधवा र विधुर पुरुषवीच परिधानदेखि लिएर सामाजिक ठेसमा समेत भिन्नता रहेको छ ।

हाम्रो समाजमा बिधवा महिलालाई सामाजिक र पारिवारिकरुपमा लाञ्छना लाउने, पतिको मृत्युपश्चात एक बर्षसम्म सेतो वस्त्र लाउनुपर्ने, दोस्रो विवाह गर्न नपाइने, घरपरिवारको मानसिक हिंसाले प्रताडित हुनुपर्ने र रातो कुनै चिजको प्रयोग गर्न नहुने विभेदपूर्ण रेखाहरु अझैँ कोरिएका छन् । बिधवा नभनी एकल महिला भनी सम्वोधन गरेता पनि सामाजिक र पारिवारिक प्रहारमा कुनै कमी आएको छैन । एकल पुरुषलाई अर्को विवाहको बाटो खुल्ला छ जवकि महिलाको सवालमा यो ज्यादै कठिन हो ।

​ एकल महिला हुनु पाप वा चाहना दुवै होइन । जन्म जसरी शाश्वत सत्य हो त्यसरी नै मृत्यु पनि शाश्वत सत्य हो । जन्म लिएपछि विछोड वा मृत्यु अनिवार्य हुन्छ । स्त्री र पुरुष मानवीय औतारका दुई महत्वपूर्ण आधार हुन् र दुवैको भूमिका समान रहन्छ तर हाम्रो समाजमा पतिको निधन हुँदा महिलाले आजीवन रङबिहीन हुनुपर्ने, आजीवन एकल रुपमा बाँच्नुपर्ने प्रचलन छ ।  यद्यपि यही समाजमा एउटा पत्नीको निधन हुँदाचाहीँ पुरुषले कुनै वैविध्य कर्म गर्नु नपर्ने साथै उसले तुरन्तै पुनर्विवाह गर्दा पनि समाजले स्वीकृति दिने जस्ता क्रुर विभेदको तस्वीर पनि उदाँगिएको छ ।  

​हाम्रो समाज पुरुषप्रधान समाज हो । पुरुषबाट महिलामाथि दासता थोपरेको सत्य हो । तर, यस्ताखाले दासताको विरोधमा महिलाहरु एकवद्ध भएर आवाज उठाउनुपर्नेमा महिला नै शोषक र महिला नै शोषित हुने परम्पराले टुँगो नपाउनु विडम्बनायुक्त छ । एकल महिलामाथिको विभेद कम गर्न महिलाहरुले ऊर्जाशील कदम चाल्न प्रशस्त काम गर्नुपर्छ । महिलामाथि महिलाकै शोषण परम्पराले एकल महिलामाथि रुढिवादी समाजको उपेक्षाले आधार पाएको हो । जस्तो; तीजको दिन विवाहिता महिलाहरु पूरै रातो वस्त्र लगाउँछन् र ब्रत लिन्छन् । तीजको सांस्कृतिक पक्षलाई रातो रंगले रंगाउनु भनेको प्रतीकात्मक आक्रमण हो । यो रंगमाथि रंगको हमला हो । कथित संस्कारले रातो रंग खोसिदिएका महिलाहरु माथि गरेको भेदभाव हो । रातो रंगले सेतो रंगलाई तँ चाँहि वैविध्यको प्रतीक होस् र म चाँहि सौभाग्यको भनी गरेको अहम् सिवाय अर्थोक होइन । महिलामाथि महिलाको शोषण हुने यस्ताखाले सांस्कृतिक परम्परामा महिलाबाटै परिवर्तनको थालनी हुनु आवश्यक छ ।

​यस्ता सांस्कृतिक कमजोरीहरु हाम्रो समाजमा धेरै छन् । यस्ता खराब संस्कृतिको अवयवहरुलाई महिलाहरुले नै मिलेर छिनाल्नुपर्छं । तीजकै कुरा गर्ने हो भने विवाहित महिलाहरुले रातै वस्त्रमा सजिएर होइन, अन्य रंगको वस्त्रमा सजिएर व्रत लिने अभ्यास थाल्न सकिन्छ, जुन परिधानले एकल महिलाहरुमाथि चोट नपुगोस् ।

​विधवा सम्बोधनको ठेसलाई मत्थर पार्न, अहिले हाम्रो समाजमा श्रीमान् नभएका महिलाहरुलाई एकल महिला भन्ने जुन अभियान थालिएको छ, त्यो पनि त्यति न्यायसंगत छैन । एकल भन्दा नितान्त एक्लोपनको अर्थबोध हुन्छ । जसको जीवनमा कसैको सहारा छैन, जो नितान्त एक्लो छ, तिनीहरुका निम्ति मात्र एकल शब्द प्रयोग हुन्छ । श्रीमान् नहुँदैमा उनी एक्लिने होइन, उनले यही समाजमा रहेर बुहारीको भूमिका निर्वाह गर्न सक्छिन्, नन्द, आमा वा नारीका अन्य विविध रुपको भूमिका निर्वाह गर्न सक्छिन् ।

​यसकारण एकल भनिने शब्दको ठाउँमा अन्य वैकल्पिक विशेषणको खोजी आवश्यक छ, जसले महिलाको जीवनमा परेको चोटलाई मत्थर गर्न सहयोग पुर्याओस् । हाम्रो समाजमा श्रीमती नभएका पुरुषलाई एकल पुरुष भनिएको छैन, जसले महिलाहरुमाथि एकल शब्दले विभेद नै सिर्जना गर्छ । नारीको जीवनमा जीवनसहचरी नहुँदा ऊ एक्ली हुने र पुरुषको जीवनमा जीवनसंगिनी नहुँदा पनि ऊ एक्लो नहुने सामाजिक परिपाटीको अन्त्य अहिलेको टड्कारो आवश्यकता हो ।

​हाम्रो समाजको रीतअनुसार नारी विधवा भए उसले एक वर्षभरी सेतो वस्त्र लगाउनुपर्छ र धार्मिक अनुष्ठानले चोख्याएर मात्र उसलाई अन्य वस्त्र दिइन्छ । धर्मले चोखिए पनि उसले जीवनभरि सिउँदो बाँझै गरेर बाँच्नुपर्ने, चुरा– पोतेहरु लगाउन नपाइने र श्रृगारबाट टाढा रहनुपर्ने बाध्यकारी सामाजिक नियमहरु बनाइएका छन् । नारीले वैविध्यमा लगाउनुपर्ने सेतो वस्त्र नै नारीमाथि पुरुषले थोपरेको दासताको परिचायक हो । आज महिलाहरुले हिजोझैं विधवाको वेशभूषा होइन, आफ्नो इच्छानुकूल परिधानले बर्खी बार्न सक्ने नियम बसाउनुपर्छ । नारीलाई सेतो वस्त्रमा थुनेर उसप्रति कुदृष्टि गाड्न समाजका खराब प्रवृत्तिका व्यक्तिहरुले बनाएको यो विभेदकारी चक्रमा आजका महिलाहरु पिल्सनु हुँदैन । सासू विधवा भए बुहारीले साथ दिने र बुहारी विधवा भए सासूले साथ दिने अभ्यास थाल्न महिलाहरुले नै पहल गर्नुपर्छ । बुहारीहरुको इच्छा–चाहनालाई बुझेर सासूहरुले एकल महिलाहरुलाई अर्को विवाहका लागि प्रोत्साहित गर्न सकिन्छ । यस्तो अभ्यास हाम्रो समाजमा कम नै भएको पाइन्छ । पाँच बर्षअघि तिलाहार २ की भगवती मल्लले आफ्नी बुहारी टीका मल्ललाई रातो दोसल्ला र टीका लगाइदिएकी थिइन् । छ महिनाअघि शिवसताक्षी नगरपालिका ११ की बच्चाबगरका एक रोक्का दम्पतीले पनि आफ्नी बुहारी अनुशा रोक्कालाई छोरी बनाइ अन्माएर यस्तै अभ्यास गरेको थियो । त्यस्तै पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदीले पनि एकल भएकी आफ्नी जेठी बुहारी मालती शर्मालाई छोरीजस्ती अन्माएकी थिइन् । यी एकाध उदाहरणलाई छोडेर, यस्ता नजीरलाई चोर्दै अरु सासूहरुले समाजको विकृतिलाई चिरेको घटना खासै देखिएन ।

​हाम्रो समाजमा विधुरलाई विचरा र विधवालाई अलछिनाको संज्ञा दिने गरिन्छ । दुर्भाग्य उहीँ हो तर कतै सिन्दुर पखालिन्छ त कतै केही पखाल्नु पर्दैन । नारीले मात्र सिन्दुरसँगै जीवनको सवै रंग पखालेर जिउँदै सेतो कात्रो ओढनु पर्ने कस्तो विडम्वना ? विधवा हुनु अभिशाप होइन । यो भवितब्य हो र जुनै महिलाको जीवनमा पनि आउन सक्छ । यस्तो भवितव्यलाई पुर्पुरोसँग जोडेर सोच्नु गलत हो । एक्काइसौं शताब्दीमा पनि सृष्टिका समान रंगहरु सौभाग्य र दुर्भाग्यको प्रतीक हुने परम्परा अब टुंगिनैपर्छ ।  सृष्टिका समान रंगको भेदलाई चुपचाप सहने आजका सधवा र विधवा महिलाले यो कुरा मनन गर्नुपर्छ कि विधुर पुरुष र गैरविधुर पुरुषको संसारमा रंगको कुनै भेद छैन । पुरुषप्रधान समाजको निम्ति एउटै प्रश्न पर्याप्त छ –बर्खी बार्ने किन बिधवाले मात्र ? यस्को लागि सिन्दूर पखालिएका र नपखालिएका महिलाहरुको आवाजमा संयोजन हुनै पर्दछ।