समाचार

जापानमा नेपालीलाई केयर गिभरको अवसर, कात्तिकमा परीक्षा

काठमाडौं। जापान सरकारले अब औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया थालनी गरेको छ ।

नेपालसहित ९ देशबाट आप्रवासी कामदार लैजाने घोषणा यस अघि नै गरेको जापान सरकारले अब कामदार भित्राउने औपचारिक प्रक्रिया शुरु भएको बताएको छ ।

जापानले विभिन्न १४ क्षेत्रमा आप्रवासी कामदारलाई अवसर दिँदैछ । त्यसअन्तर्गत पहिलो चरणमा नेपालीले केयर गिभरमा अवसर पाउने भएका छन् ।

नर्सिङ केयरमा कामदार भित्राउन लागिएको जापानको स्वास्थ्य तथा श्रम मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार जापानमा रोजगारी गर्न योग्य हुने व्यक्तिले जापानी भाषा तथा सीप परीक्षा उतीर्ण गर्नुपर्ने प्रावधान तोकिएको छ ।

नर्सिङ केयर गिभरमा पहिलो चरणमा नेपालबाट युवाले अवसर पाउने निश्चित भएको हो । मन्त्रालयका अनुसार यस कामका लागि जान चाहनले ‘नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्ट’ पास गर्नुपर्छ ।

उक्त टेस्टमा ६० मिनेटमा ४५ वटा प्रश्नको लिखित उत्तर दिनुपर्ने गरी पाठ्यक्रम तय गरिएको छ । कम्प्यूटरका माध्यमबाट प्रयोगात्मक परीक्षाको समेत व्यवस्था रहेको उल्लेख छ ।

‘नर्सिङ केयर जापानीज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्ट’ मा भने ३० मिनेट भित्र १५ वटा प्रश्नको उत्तर दिएर टेस्ट पास गर्नुपर्ने गरी पाठ्यक्रम तयार पारिएको छ ।

यी दुई टेस्ट दिन एक हजार जापानी येन दस्तुरको व्यवस्था भएको मन्त्रालयले जानकारी दिएको छ ।

पास हुन ६० प्रतिशत कम्तिमा ल्याउनु पर्ने र परिक्षा दिएको एक महिना भित्रै नतिजा सार्वजनिक हुन भएको छ ।

जापानले यस्तो परिक्षा कात्तिक १० देखि १२, १९ देखि २१ र २६ देखि २८ गतेसम्म परीक्षा सञ्चालन गर्दैछ ।

नेपाल सरकार र जापान सरकारबीच द्धिपक्षीय सम्झौता अनुसार कामदार जापान पठाउन लागिएको हो ।