स्वास्थ्य

कृषि मन्त्रीलाई डेंगुको संक्रमण, देशभर फैलिँदै प्रकोप

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालमा डेंगुको संक्रमण देखिएको छ । उनलाई उपचारका लागि ग्राण्डी अस्पताल भर्ना गरिएको छ ।

रगत जाँच गर्दा डेंगुको जिवाणु भेटिएपछि उनी अस्पताल भर्ना भएका हुन् । अघिल्लो शुक्रबार हेटौडा पुगेका मन्त्री खनाललाई रुघाखोकी र ज्वरोले च्यापेको थियो ।

त्यसपछि रगत परिक्षण गर्दा डेंगुको संक्रमण देखिएको मन्त्री खनालको सचिवालयले जानकारी दिएको छ । मन्त्रीसहित अहिले देशभर ५ हजार भन्दा बढी मानिसमा यसको संक्रमण फैलिसकेको छ ।

बिहीबार मात्रै सिन्धुपाल्चोकका एक जनाले ज्यान गुमाएका छन् । बिहीबार राजधानीका विभिन्न क्षेत्रमा डेंगु विरुद्धको छरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार डेंगु नियन्त्रण बाहिर पुगेको छ । यसका लागि सेना नै परिचालन गर्नुपर्ने स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बताइसकेका छन् ।

डेंगु एक विशेष प्रकारको पोथी लामखुट्टेको टोकाईबाट सर्ने रोग हो । दिउँसो सक्रिय हुने यो लामखुट्टेले टोकेको थाहा पाइन्न, तर टोकेपछि अति धेरै चिलाउँछ । र ठूल्ठूलो चाला उठ्ने गर्छ ।

यस्तो लामखुट्टे घर भित्रैको सफा पानीमा उत्पन्न हुने र बढ्ने गर्छ । काठमाडौंमा धेरैजसो घरमा पानी जम्मा गरेर राख्नु पर्ने बाध्यताले यस लामखुट्टेको फैलावटमा सहयोग पुगेको हो ।

सकेसम्म लामखुट्टेको टोकाईबाट बच्दा धेरै हदसम्म यो रोगको संक्रमणबाट बच्न सकिन्छ । आँखा, नाक, मुखबाट रगत बग्ने, पेट दुख्ने, बान्ता हुने, टाउको दुख्ने डेंगीका मूख्य लक्षण हुन्।